संविधानको स्वीकार्यता बढाउन संविधान संशोधन गर्न लागेको होः प्रम ओली

Advertisement

ललितपुर । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले संविधान संशोधनका विरुद्ध भ्रम फैल्याउनेहरु मुलुकमा क्रियाशील रहेको बताएका छन् । 

माओवादी केन्द्रलगायतका प्रतिपक्ष दलहरुले प्रतिगमनका लागि काँग्रेस–एमालेले संविधान संशोधनको विषय उठाएको भन्दै आलोचना गरिरहेका बेला ओलीले आफूहरुले स्टन्टबाजीको रुपमा कुनै पनि काम नगर्ने बताए । 

Advertisement

च्यासलस्थित एमाले मुख्यालयमा आइतबार उनले सरकार र सत्तारुढ गठबन्धनले कुनैपनि खालको भ्रम सिर्जना गर्नेगरी काम नगर्ने बताए । ओलीले संविधानलाई धार्मिक ग्रन्थ वेद, बाईवल, कुरान जस्तो असंशोधनीय दस्तावेजको रुपमा प्रश्तुत गर्न खोजिएको भन्दै त्यसको भ्रममा नपर्न पनि सबैलाई आग्रह गरे । 

प्रधानमन्त्री ओलीले प्रजातन्त्रका लागि लडेर आएका काँग्रेस–एमालेले अझ बढी ग्राह्यता, स्वीकार्यता र प्रभावकारिता बढाउनका लागि संविधान संशोधन गर्न चाहेको बताए । उनले संविधान संशोधन विरुद्ध भ्रम फैल्याउन कोशिस भइरहेको भन्दै आक्रोश पोखे । 

एमाले, काँग्रेस जस्ता प्रजातन्त्रका लागि लडेर आएका पार्टीहरुको यो समीकरणले भनेको संविधान संशोधन स्वभाविक रुपमा प्रजातन्त्रलाई सुदृढ गर्ने, संविधानलाई अझ व्यवहारिक, सुदृढ, अझ लोकप्रिय बनाउने, यसको ग्राह्यता, स्वीकार्यता, प्रभावकारिता, यी सबै पक्षहरुलाई अभिवृद्धि गर्नका लागि भएको बताउँदै ओलीले समृद्ध नेपालः सुखी नेपाली बनाउने लक्ष्य अनुरुप नै संविधान संशोधन गर्ने कुरालाई अघि बढाइएको बताए । 

प्रधानमन्त्री ओलीले भने, ‘नेकपा एमाले, नेपाली काँग्रेस जस्ता लोकतन्त्रका लागि लडेर आएका पार्टीहरुको यो समीकरणले भनेको संविधान संशोधन स्वभाविक रुपमा लोकतन्त्रलाई सुदृढ गर्ने, संविधानलाई अझ व्यवहारिक, सुदृढ, अझ लोकप्रिय बनाउने, यसको ग्राह्यता, स्वीकार्यता, प्रभावकारिता, यी सबै पक्षहरुलाई अभिवृद्धि गर्ने । यस हिसावले मुख्य रुपमा यसको प्रभावकारितामा देशको विकासका लागि, सुशासनका लागि र संविधानले परिकल्पना गरेजस्तै मान्छेका समस्या केन्द्रित, समाज केन्द्रित, त्यस हिसावले अघि बढने मूल्य, मान्यता अनुरुप नै समृद्ध नेपालः सुखी नेपाली । नेपाललाई समृद्ध बनाउनु छ, नेपाली जनतालाई सुखी बनाउनु छ । यही उद्देश्यमा हामी लागि रहेका छौं ।’


प्रधानमन्त्री ओलीले देश र जनतालाई सुखी र समृद्ध बनाउने लक्ष्य अनुसार सरकार अघि बढिरहेको दावी समेत गरे । 

Advertisement