चन्द्रमाको क्रेटरमा राखियो सगरमाथा आरोही पासाङ ल्हामुको नाम

Advertisement

काठमाडौं । अमेरिकी सरकारले नेपालकी प्रथम महिला सगरमाथा आरोही तथा राष्ट्रिय विभूति पासाङ ल्हामु शेर्पाको नाममा चन्द्रमाको एक क्रेटरलाई ‘ल्हामु’ नामाकरण गरेको छ । 

अमेरिकी सरकारको भौगर्भिक सर्वेक्षण एजेन्सीका अनुसार यही साउनमा चन्द्रमा क्रेटरमा शेर्पाको नाम नामाकरण गरेको हो । पासाङ ल्हामुको नाममा चन्द्रमाको माइनस ८६ डिग्रीको क्रेटर नामाकरण गरिएको जनाएको छ । 

Advertisement

त्यस्तै, उनको जीवनकालका काम र उपलब्धि स्मरण गराउने उद्देश्यले खुम्बु पासाङल्हामु गाउँपालिका–२ लुक्लामा गएको जेठ २० गतेका दिन स्मृति ‘ग्यालरी’ स्थापना गरिएको थियो । पासाङल्हामु पर्वतारोहण प्रतिष्ठानले निर्माण गरेको ‘ग्यालरी’ मा उनको सन् १९६१ देखि सन् १९९३ सम्मको जीवनकालका गतिविधि र हिमाल आरोहणको इतिहास समेटिएको छ । 

शेर्पाले गरेको लैङ्गिक समानता र नेतृत्वको भावलाई सरकारले गरेको सम्मान र उपलब्धिहरु ग्यालरीमा समावेश गरिएको प्रतिष्ठानका महासचिव छेटु शेर्पाले जानकारी दिए । प्रतिष्ठानले लुक्लासँगै पोखरास्थित अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा पनि पासाङल्हामु ‘ग्यालरी’ स्थापना गर्ने तयारी गरेको प्रतिष्ठानका महासचिव छेटु शेर्पाले बताए । 

पासाङल्हामुले सन् १९९३ अप्रिल २२ का दिन पहिलो पटक सगरमाथाको आरोहण गरेकी थिइन् । उनीे सगरमाथा आरोहण गर्ने पहिलो नेपाली महिला हुन् । 
 

Advertisement

Advertisement