साढे १४ अर्बको जीवन बीमा पोलिसी सरेन्डर, कुन कम्पनीबाट कति ?

Advertisement

काठमाडौं ।  गत आर्थिक बर्ष २०८०–८१ मा १४ अर्ब ५० करोड १२ लाख रुपियाँ बराबरको बीमा पोलिसी सरेन्डर भएको छ । नियामक निकाय नेपाल बीमा प्राधिकरणबाट प्राप्त तथ्यांकले यस्तो देखाएको हो । 

गत आवमा यस्तो सरेन्डर ९ प्रतिशतले बढेको पनि तथ्यांकले देखाएको छ । अघिल्लो आवमा १३ अर्ब ३४ करोड ३३ लाख रुपियाँको पोलिसी सरेन्डर भएको थियो ।

Advertisement

यो १४ ठूला जीवन बीमा कम्पनीमा भएको पोलिसी सरेन्डर हो । गत आवमा उनीहरु बीमाशुल्क संकलन एक खर्ब ५६ अर्ब ३३ करोड १४ लाख रुपियाँ थियो । त्यसको करिब १० प्रतिशतको अनुपातमा पोलिसी सरेन्डर भएको देखिन्छ । लघुबीमा कम्पनीमा भने पोलिसी सरेन्डर भएको तथ्यांक अहिलेसम्म आएको छैन । 

संख्याका आधारमा गत आवमा एक लाख १३ हजार ९७६ वटा पोलिसी बन्द भएको छ । अघिल्लो आवमा भने ९६ हजार ९३८ वटा पोलिसी सरेन्डर भएको थियो । अहिले त्यो १९ प्रतिशतले बढेको देखिन्छ ।

बीमितले पाँच बर्ष, १० बर्ष, १५ बर्ष जस्ता निश्चित अवधी तोकेर बीमा गरेका हुन्छन् । त्यसको  लागि बार्षिक रुपमा किस्ता (बीमाशुल्क) तिर्नुपर्छ । तीन बर्षको किस्ता तिरेपछि बीमितले पोलिसी बन्द गर्न सक्छन् । यदि, सम्झौता अवधीभर बीमालाई निरन्तरता दिन नचाहेएमा बीमितले तीन बर्षपछि आवश्यक प्रक्रिया पुरा गरेर पोलिसि बन्द गर्न सक्छन् ।  बीमितले त्यही अवधीसम्म तिरेको बीमाशुल्क र बोसन पाउने छन् । यद्यपि, त्यसमा केही शुल्कहरु भने काटिनेछ । त्यही सुविधा अन्तरगत रहेर यतिका बीमितले पोलिसी सरेन्डर गरेका हुन् । 

बिशेषगरी पछिल्लो समय देखिएको आर्थिक संकटका कारण बीमालेख सरेन्डर बढ्दै गएको बीमा कम्पनीहरु बताउँछन् । आर्थिक संकटका कारण आम मानिसहरुमा आम्दानी प्रभावित भएको, क्रयशक्ति घट्दै गएको, व्यापार व्यवसायमा नोक्सान भएको, सहकारी संस्थाहरुले रकम भुक्तानी नदिएको आदि कारण धेरैले बीमालेख नवीरकण गर्न सकेका छैनन् । त्यस्ता पोलिसी ल्याप्स अर्थात् निष्क्रीय भएर बसेका छन् । कतिपयले भने पोलिसी नै बन्द गराएर पैसा फिर्ता लगेका छन् । यस्तै, कमिशनका लागि अभियकर्ताहरुले नियोजित रुपमा पोलिसी सरेन्डर गराएको पनि बताइन्छ । 

बीमा गराउने अभिकर्ताले कम्पनीबाट १० बर्षसम्म कमिशन पाउँछन् । पहिलो र दोस्रो बर्षको बीमाशूल्कबाट अभिकर्तालाई २५ प्रतिशतको दरमा कमिशन दिइन्छ । बाँकी ८ बर्षको किस्तामा भने बार्षिक पाँच प्रतिशतको दरमा कमिशन दिने नीतिगत व्यवस्था छ । 

सामान्यत १५ बर्ष भन्दा बढी अवधि राखेर जीवन बीमा गर्ने गरिन्छ । २५ बर्षसम्मको अधवी राखेर बीमा गर्ने मिल्ने प्रडक्ट पनि नेपाली कम्पनीहरुमा उपलब्ध छन् । त्यसमा बार्षिक रुपमा तोकिएको दरमा बीमाशुल्क तिर्नुपर्छ । तर, अभिकर्तालाई भने १० बर्षसम्मको किस्ताबाट मात्रै कमिशन दिने नीति छ । त्यसले गर्दा अभिकर्ताहरुले नै योजनाबद्ध रुपमा पनि पोलिसी सरेन्डर गर्ने र पुनः बीमा गराई कमिशन खाने गरेको बताइन्छ । पोलिसी सरेन्डरमा यसको हिस्सा केही मात्रामा रहेको बताइन्छ ।

समीक्षा बर्षमा नेपाल लाइफमा चार अर्ब ४१ करोड ३९ लाख रुपियाँ बराबरको २८ हजार ६२७ वटा पोलिसि सरेन्डर भएको छ । यो अन्य कम्पनीको तुलनामा सबै भन्दा धेरै हो ।

यसैगरि, एलआईसी नेपालमा चार अर्ब ३० करोड ३७ लाख रुपियाँ बराबरको ३० हजार ३०९ वटा पोलिसी सरेन्डर भएको छ । सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीमा एक अर्ब १० करोड ४८ लाख रुपियाँको बराबरको १३ हजार ९४१ वटा पोलिसि सरेन्डर भएको छ ।  यसैगरि हिमालयन लाइफमा एक अर्ब दुई करोड ९५ लाख रुपियाँ बराबरको सात हजार ८१० वटा पोलिसी सरेन्डर भएको छ । 

यो बाहेक नेशनल लाइफमा एक अर्ब एक करोड ८० लाख रुपियाँ बराबरको सात हजार ५०० वटा, सुर्यज्योति लाइफमा ७१ करोड ४१ लाख रुपियाँ बराबरको पाँच हजार २७४ वटा, एसियन लाइफमा ५५ करोड ६३ लाख रुपियाँ बराबरको सात हजार १७१ वटा, मेट लाइफमा ४३ करोड २८ लाख रुपियाँ बराबरको चार हजार १०३ वटा र सानिमा रिलायन्स लाइफमा २४ करोड ८६ लाख बराबरको एक हजार ७२८ वटा पोलिसि सरेन्डर भएको छ । 

यसैगरी प्रभु महालक्ष्मी लाइफमा २१ करोड २६ लाख रुपियाँ बराबरको एक हजार २८१ वटा, सिटिजन्स लाइफमा १७ करोड ३३ लाख बराबरको दुई हजार ६५१ वटा, आईएमई लाइफमा १३ करोड ६६ लाख रुपियाँ बराबरको एक हजार ४२५ वटा, रिलायवल नेपाल लाइफमा नौ करोड चार लाख रुपियाँ बराबरको एक हजार ४७४ वटा र सन नेपाल लाइफमा छ करोड ६२ लाख बराबरको ६८२ वटा जीवन बीमा पोलिसि सरेन्डर भएको छ ।
 

Advertisement

Advertisement