नाफा थप बढ्ने, बीमा कोषको आकार एक खर्ब २० अर्ब

एलआईसी नेपाल कति बलियो ? कूल सम्पत्ति एक खर्ब २७ अर्ब, एक खर्ब पुग्यो लगानी

Advertisement

काठमाडौं ।  गत आर्थिक बर्ष २०८०–८१ मा एलआईसी नेपालको नाफा १६ प्रतिशतले बढेको छ । कम्पनीले हालै सार्वजनिक गरेको गत आवको अपरिष्कृत वित्तिय विवरणको प्रतिवेदनले यस्तो देखाएको हो । 

बीमा कम्पनीहरुले मुद्दती निक्षेप, सरकारी तथा निजी ऋणपत्र, शेयर बजार लगायतका क्षेत्रमा लगानी गर्दै आएका छन् । त्यसबाट हुने फाइदा नै बीमा कम्पनीहरुको मुख्य आम्दानीको स्रोत हो । 

Advertisement

२०८० असार मसान्तसम्म कम्पनीको यस्तो लगानी ८६ अर्ब ५१ करोड ५३ लाख ९१ हजार रुपियाँ थियो । २०८१ असारसम्म आउँदा त्यो एक खर्ब सात करोड ९६ लाख ३१ हजार रुपियाँ पुगेको कम्पनीको वित्तिय प्रतिवेदनमा उल्लेख छ । 

कम्पनीको दीर्घकालीन लगानी ८७ अर्ब ३९ करोड ८३ लाख र अल्पकालिन लगानी १२ अर्ब ६८ करोड १३ लाख रुपियाँ रहेको छ । जीवन बीमा कम्पनीहरुले दीर्घकालिन प्रकृतिको दायित्व ९जीवन बीमा० लिएका हुन्छन् । त्यसले उनीहरुको दीर्घकालिन प्रकृतिको लगानी नै धेरै हुने गर्छ । बीमा कम्पनीको मुख्य आम्दानी स्रोत नै लगानीबाट आउने प्रतिफल हो । त्यो अवस्थामा बीमा कम्पनीको लगानीलाई महत्त्वपूर्ण मानिन्छ ।

सामान्यत बीमा कोषमा भएको रकमबाट नै कम्पनीहरुले बिभिन्न क्षेत्रमा दिर्घकालिन तथा अपल्पकालिन लगानी गरेका हुन्छन् । गत आवमा एलआईसीको सोही बीमा कोष १३।२० प्रतिशतले बढेको छ । 

२०८० असारसम्म कम्पनीको बीमा कोषमा एक खर्ब ६ अर्ब ३४ करोड तीन लाख रुपियाँ थियो । अहिले त्यो बढेर एक खर्ब २० अर्ब ३८ करोड छ लाख रुपियाँ पुगेको छ । यसले कम्पनीको लगानी गर्ने क्षमता पनि बढेको छ । 

बीमितको दायित्व भुक्तानी गर्ने यही कोषबाट हो । साथै, कम्पनीले लगानी गर्ने रकम पनि यही कोषबाट व्यवस्थापन गरिन्छ । त्यो अवस्थामा बीमा कोष पनि बीमा कम्पनीहरुको लागि निकै महत्त्वपुर्ण मानिन्छ । 

समीक्षा अवधिसम्म आउँदा कम्पनीको कूल सम्पत्ति भने एक खर्ब २७ अर्ब ८६ करोड २१ लाख रुपियाँ पुगेको छ । यो अघिल्लो आवको तुलनामा १२ प्रतिशतले बढी हो । २०८० असारसम्म कम्पनीको कुल सम्पत्ति एक खर्ब १४ अर्ब ४३ करोड १० लाख रुपियाँ थियो ।

यस्तै, समीक्षा अवधिमा कम्पनीले १८ अर्ब १० करोड ७४ लाख ६३ हजार रुपियाँ बीमाशुल्क संकलन गरेको छ । यो अघिल्लो आवको तुलनामा चार प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीको बीमाशुल्क संकलन १७ अर्ब ४७ करोड ६७ हजार रुपियाँ थियो । 

समीक्षा बर्षमा कम्पनीको नयाँ बीमा व्यवसाय (प्रथम बीमाशुल्क) मात्रै तीन प्रतिशतले बढेको छ । अघिल्लो आवमा कम्पनीको नयाँ व्यवसाय दुई अर्ब २८ करोड ६८ लाख रुपियाँ थियो । गत आवमा भने दुई अर्ब ३४ करोड ४९ लाख ८९ हजार रुपियाँको नयाँ व्यवसाय भएको देखिन्छ । 

कम्पनीको ‘एकल बीमशुल्क’ प्रकृतिको व्यवसाय भने १६२ प्रतिशतले बढेको छ । अघिल्लो आवमा कम्पनीले नौ करोड ९२ लाख तीन हजार रुपियाँ बराबरको एकल बीमाशुल्क संकलन गरेको थियो । गत आवमा भने २५ करोड ९७ लाख २० हजार रुपियाँ बराबरको यस्तो व्यवसाय भएको छ । 

किस्तामा बीमाशुल्क तिरेने बीमाको तुलनामा एकै पटक बीमाशुल्क लिने (एकल बीमाशुल्क) बीमामा आर्थिक जोखिम कम हुन्छ । तसर्थ, यस्तो व्यवसायको छुट्टै महत्त्व हुने कम्पनीको भनाइ छ । समिक्षा अवधीमा कम्पनीले नवीकरण बीमाशुल्क संकलन भने १५ अर्ब ५० करोड २७ लाख रुपियाँको रहेको छ । 

नाफा थप बढ्ने
प्रतिवेदन अनुसार गत आवमा कम्पनीले २३ करोड ८५ लाख ६ हजार रुपियाँ नाफा कमाएको छ । तर, यो नाफा बीमांकीय मूल्यांकन हुनु भन्दा अघिको हो । बीमांकीय मुल्याकनका क्रममा बीमांकीले बीमा कोषमा भएको १० प्रतिशतसम्म (आम्दानीको आधारमा) रकम नाफा नोक्सान खातामा सार्न सक्नेछन् । त्योअनुसार कम्पनीको नाफा थप बढ्नेछ । बढेको नाफा लेखा परीक्षण भएपछिको अन्तिम प्रतिवेदनमा देखिनेछ । 

अघिल्लो आवमा कम्पनीले बीमांकीय मुल्यांकन पछि ७५ करोड ३४ लाख ४९ हजार रुपियाँ कमाएको थियो । त्यससँग तुलना गर्दा अहिले कम्पनीको नाफा घटेको जस्तो देखिन्छ । तर, बीमांकीय मूल्यांकनका क्रममा कम्पनीको नाफा थप बढ्नेछ । 

अघिल्लो आवमा पनि बीमांकीय मुल्यांकन अघि कम्पनीको नाफा १२ करोड ४६ लाख ७० हजार रुपियाँ मात्रै थियो । बीमांकीय मूल्यांकन पछि मात्रै कम्पनीको नाफा ७५ करोड ३४ लाख ४९ हजार पुगेको थियो । गत आवमा बीमांकीय मुल्यांकन अघिकै नाफा २३ करोड ८५ लाख रुपियाँ भन्दा बढी छ । त्यो अवस्थामा बीमांकीय मूल्यांकनका क्रममा कम्पनीको नाफा अघिल्लो आवको भन्दा पनि बढी हुने देखिन्छ ।

समीक्षा अवधिसम्म सोल्भेन्सी मार्जिन अनुपात ३७६.२ प्रतिशत देखिएको छ । यसले कम्पनी बलियो अवस्थामा भएको संकेत गरेको छ । 

कम्पनीले नेपालको नेपाल रि र हिमालयन रिसहित मलेसियालको ह्यानओभर रि र विश्वका विभिन्न उत्कृष्ट कम्पनीमा पुनर्बीमा गरेको छ । त्योअनुसार कम्पनीले सहजै दायित्व बहन गर्न सक्ने देखिन्छ ।
 

Advertisement