बीमा पोलिसि सरेण्डर अहिलेसम्मकै उच्च, सबैभन्दा धेरै एलआईसीको

Advertisement

काठमाडौं । चालु आर्थिक बर्ष २०८१–८२ को पहिलो महिना साउनमै एक अर्ब ५४ करोड ११ लाख रुपियाँको बीमा पोलिसि सरेन्डर (बीमालेख समर्पण) भएको छ । संख्याका आधारमा १० हजार २९२ वटा पोलिसि सरेन्डर भएको हो । नेपाल बीमा प्राधिकरणबाट प्राप्त उक्त अवधिको तथ्यांकअनुसार यो रकम सम्भवतः मासिक रुपमा हालसम्मकै उच्च हो । 

समीक्षा महिनामा एलआईसी नेपालमा सबैभन्दा धेरै पोलिसि सरेन्डर भएको छ । उक्त कम्पनीमा ५१ करोड ३४ लाख ३७ हजार रुपियाँ बराबरको दुई हजार ७१५ वटा पोलिसि सरेन्डर भएको छ । दोस्रो स्थानमा भने नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । उक्त कम्पनीमा ४८ करोड ४१ लाख ३१ हजार रुपियाँको दुई हजार ७३१ वटा पोलिसी सरेन्डर भएको छ । 

Advertisement

यस्तै, तेस्रो स्थानमा भने एशियन लाइफ इन्स्योरेन्स रहेको छ । उक्त कम्पनीमा १३ करोड ५५ लाख ५३ हजार रुपियाँ बराबरको ९७९ वटा पोलिसि सरेन्डर भएको छ । राष्ट्रिय जीवन बीमा कम्पनीमा सात करोड ८७ लाख ८९ हजार रुपियाँको ७६७, हिमालयन लाइफमा सात करोड सात लाख ६७ हजार रुपियाँको ८४७ वटा बीमा पोलिसि सरेण्डर  भएको छ । 

त्यस्तै, नेशनल लाइफमा छ करोड ३८ लाख आठ हजार रुपियाँको ३५४, सूर्यज्योति लाइफमा पाँच करोड ८५ लाख ६८ हजार रुपियाँको ५५२, मेट लाइफमा चार करोड ४९ लाख ३५ हजार रुपियाँको ४१९ र सानिमा रिलायन्समा दुई करोड ६६ लाख ३९ हजार रुपियाँको १७८ वटा, आईएमई लाइफमा दुई करोड ८८ हजार रुपियाँको २०१, सिटिजन्स लाइफमा एक करोड ५९ लाख ४९ हजार रुपियाँको १९०, रिलायवल नेपालमा एक करोड २१ लाख ५५ हजार रुपियाँको २०४, प्रभु महालक्ष्मीमा एक करोड पाँच लाख ८९ हजार रुपियाँको ८६ र सन नेपालमा ५७ लाख आठ हजार रुपियाँको ६९ वटा पोलिसि सरेन्डर भएको छ । 

समीक्षा महिनामा १४ ठूला बीमा कम्पनीले १८ अर्ब ५३ करोड ७९ लाख बीमाशुल्क संकलन गरेका छन् । साउन महिनामा सरेन्डर भएको बीमा रकम त्यसको ८.३१ प्रतिशत हो । साउन महिनामा नवीकरण बीमाशुल्क ९.०९ प्रतिशतले घटेको छ । गत आवको साउनमा १७ अर्ब ३० करोड ८९ लाख रुपियाँ नविकरण बीमाशुल्क उठेको थियो । चालु आवको साउनमा भने १५ अर्ब ७३ करोड ५१ लाख रुपियाँ यस्तो बीमाशुल्क संकलन भएको छ । यसरी सरेन्डर रकम बढ्दा पनि नविकरण बीमाशुल्क घटेको देखिन्छ । 

बीमितले पाँच बर्ष, १० बर्ष, १५ बर्ष जस्ता निश्चित अवधी तोकेर बीमा गरेका हुन्छन् । त्यसको  लागि बार्षिक रुपमा किस्ता तिर्नुपर्छ । यदि, सम्झौता अवधीभर बीमालाई निरन्तरता दिन नचाएमा बीमितले आवश्यक प्रक्रिया पुरा गरेर पोलिसि बन्द गर्न सक्छन् । बीमितले त्यही अवधीसम्म तिरेको बीमाशुल्क र आर्जित बोनस फिर्ता पनि पाउने छन् । यद्यपि, त्यसमा केही शुल्कहरु भने काटिनेछ । बीमा गरेको तीन बर्षपछि मात्रै पोलिसी सरेन्डर गर्न पाउने व्यवस्था छ । 

पोलिसी सरेन्डर नियमीत प्रक्रिया पनि हो । तर पछिल्लो समय देखिएको आर्थिक संकटका कारण बीमालेख सरेन्डर बढ्दै गएको बीमा कम्पनीहरु बताउँछन् । आर्थिक संकटका कारण आम मानिसहरुमा आम्दानी प्रभावित भएको, क्रयशक्ति घट्दै गएको, व्यापार व्यवसायमा नोक्सान भएको, सहकारी संस्थाहरुले रकम भुक्तानी नदिएको आदि कारण धेरैले बीमालेख नवीरकण गर्न सकेका छैनन् । त्यसमा कतिपयले पोलिसि सरेन्डर गरेर रकम फिर्ता लैजाने पनि गरेका छन् । 

Advertisement