काठमाडौं । रसुवास्थित प्रसिद्ध तीर्थस्थल गोसाईकुण्डमा पहिलो पटक राष्ट्रिय प्रसारण ग्रिडको विद्युत् पुगेको छ । नेपाल विद्युत प्राधिकरणले समुद्र सतहबाट ४ हजार ३ सय ८० मिटर उचाइमा रहेको गोसाईकुण्डमा शुक्रबार ग्रिडको विद्युत् पुर्याएको छ । वत्ति पुगेसँगै गोसाईकुण्ड क्षेत्र झिलिमिली भएको छ ।
धार्मिक एवम् पर्यटकीय गन्तव्य गोसाइकुण्डमा जनैपूर्णिमा दिन लाग्ने मेलाको पूर्वसन्ध्यामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुर्याइएको हो । अहिलेसम्म गोसाईकुण्ड क्षेत्र र त्यहाँ पुग्ने पैदल बाटोमा पर्ने केही स्थानका पर्यटन व्यवसायीले सौर्य ऊर्जाबाट विद्युत् प्रयोग गरिरहेका थिए ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले धार्मिक एवम् पर्यटकीय क्षेत्रलाई उज्यालो बनाउने अभियानअन्तर्गत गोसाईकुण्डमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुर्याइएको बताए ।
रसुवाको सदरमुकामबाट गोसाईकुण्डतर्फ जाने बाटोमा पर्ने चन्दनबारीसम्म यसअघि नै राष्ट्रिय ग्रिड पुगेको थियो । चन्दनबारीबाट करिब ८ किलोमिटर ११ केभी लाइन लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्र हुँदै गोसाईकुण्डमा पुर्याइएको छ । यसका लागि निकुञ्जसँगको समन्वयमा २ सय वटा पोल राखिएका छन् । पोल, ट्रान्सफर्मरलगायतका उपकरणहरु मानिस र खच्चडले ढुवानी गरिएको थियो ।
गोसाईकुण्डमा विद्युत् आपूर्तिका लागि १५ केभिए क्षमताको वितरण ट्रान्सफर्मर जडान गरिएको छ । वर्खायाम सकिएर मौसममा सुधार आउनासाथ ५० केभिएको ट्रान्सफर्मर राखिने छ । वर्खाका कारण ठूलो क्षमताको ट्रान्सफर्मर ढुवानी गर्न नसकेपछि हाललाई बुद्धमन्दिर र गुसाईकुण्डमा १५/१५ केभीए क्षमताका ट्रान्सफर्मर राखी विद्युत् आपूर्ति दिइएको प्राधिकरण धुन्चे वितरण केन्द्र प्रमुख सञ्जिव भट्टराईले बताए ।
भट्टराईले गोसाईकुण्ड जाने बाटोमा पर्ने जोलाङपाटी, लौरीबिना र बुद्धमन्दिरमा ५०÷५० केभीएको वितरण ट्रान्सफर्मर राखिने बताए । जोलाङपाटी र लौरीबिनामा केही होटलहरु सञ्चालित छन् । मेलाका यात्रुहरुलाई लक्षित गरी त्यस क्षेत्रमा छाप्राहरु बन्ने गरेका छन् ।
गोसाईकुण्डमा विद्युत् पुर्याउन गत वर्षको असोजमा ठेक्का सम्झौता भएको थियो । उक्त कार्यको अनुमानित लागत करिब ३ करोड रुपियाँ रहेको छ ।