काठमाडौं । नेपालमा भएको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) उत्पादनमूलक कम्पनीहरुको क्षमता उपयोग ६०.६९ प्रतिशत मात्रै रहेको देखिएको छ भने इक्विटिको प्रतिफल (रिर्टन अफ इक्विटि) करिव ११.६१ प्रतिशत मात्रै रहेको छ ।
नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले गरेको सर्वेक्षणले उत्पादनमूलक उद्योगमा एफडीआईको क्षमता उपयोग र प्रतिफल कम देखिएको हो । नेपालमा रहेको प्रत्यक्ष वैदेशिक लगानीमध्ये ५९.७ प्रतिशत औद्योगिक क्षेत्रमा र ४०.२ प्रतिशत सेवा क्षेत्रमा रहेको देखिन्छ । औद्योगिक क्षेत्रअन्तर्गत जलविद्युत् क्षेत्रमा ३० प्रतिशत र उत्पादन क्षेत्रमा २९.४ प्रतिशत वैदेशिक लगानी रहेको देखिन्छ । यसै गरी, कुल प्रत्यक्ष वैदेशिक लगानीमध्ये २६ प्रतिशत सेवा क्षेत्रअन्तर्गत बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीमा रहेको देखिन्छ ।
नेपालमा सबैभन्दा धेरै एफडीआई भारतको रहेको सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ । २०८० असार मसान्तसम्ममा नेपालमा ५८ वटा देशको प्रत्यक्ष वैदेशिक लगानी रहेको, जसमध्ये, भारतबाट सबैभन्दा बढी अर्थात् रु. १०३ अर्ब ४५ करोड (३५ प्रतिशत), चीनबाट रु. ३५ अर्ब ४६ करोड (१२ प्रतिशत), आयरल्याण्डबाट रु. २२ अर्ब ६२ करोड (७.७ प्रतिशत), अष्ट्रेलियाबाट रु. १९ अर्ब ६ करोड (६.४ प्रतिशत) र सिङ्गापुरबाट रु. १८ अर्ब ८१ करोड (६.४ प्रतिशत) एफडीआई रहेको देखिन्छ ।
सर्वेक्षणबाट प्राप्त नतिजाअनुसार नेपालमा आर्थिक वर्ष २०७९–८० को अन्त्यसम्ममा कुल प्रत्यक्ष वैदेशिक लगानीको मौज्दात ११.८ प्रतिशतले वृद्धि भई रु. २९५ अर्ब ५० करोड कायम रहेको छ । कुल वैदेशिक लगानीमध्ये चुक्ता पुँजीको अंश ५२.८ प्रतिशत, सञ्चिति ३३.७ प्रतिशत र कर्जाको अंश १३.५ प्रतिशत रहेको छ ।
एफडीआईसम्बन्धी आवश्यक तथ्याङ्क सङ्कलन गरी यस्तो लगानीको क्षेत्रगत अवस्था एवम् प्रवृत्ति विश्लेषणका आधारमा आवश्यक नीति निर्माणमा सहयोग पुर्याउन भन्दै राष्ट्र बैंकले प्रत्येक आर्थिक वर्षमा स्थलगत सर्वेक्षण सम्पन्न गरी प्रतिवेदन प्रकाशन गर्दै आएको छ ।
समीक्षा बर्षमा एफडीआईमा सञ्चालित कम्पनीमध्ये कुल २३८ वटा कम्पनीको नमूना छनोट गरी सर्वेक्षणबाट प्राप्त तथ्याङ्क तथा अन्य विवरणको विश्लेषणका आधारमा ‘प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन, २०७९÷८०’ तयार पारिएको राष्ट्र बैंकको भनाई छ ।