नाडा अटो शो सम्पन्न, करिब ३ हजार सवारी साधन बुकिङ

संकटपूर्ण घडीमा पनि नाडा अटो शो भव्य रुपमा सम्पन्न गर्यौंः अध्यक्ष चौधरी

Advertisement

काठमाडौं । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीले संकटपूर्ण अवस्थामा पनि अटो शो भव्य रुपमा सफल बनाउन सफल भएको बताएका छन् । अटो शो छैटौं दिन अर्थात् अन्तिम दिन समापन कार्यक्रमलाई सम्बोधन गर्दै चौधरीले यस्तो बताएका हुन् । 

‘अटोमोबाइल क्षेत्र अहिले पनि शोककै स्थितिमा छ । ईभी बाहेक आईसीई सेग्मेन्टमा सवारी खरिद बिक्रीको स्थिति प्रायः शुन्यकै अवस्थामा छ । तर पनि अटो शो भव्य रुपमा सफल बनाउन सफल भयौं’ अध्यक्ष चौधरीले भने । 

Advertisement

खासगरी अटोमोबाइल क्षेत्र पनि छिल्लो समय न्यू इनर्जी (ईभी) मा आएको उवारले अटो क्षेत्र जेनतेन धानेको अध्यक्ष चौधरीको भनाइ छ । 

भदौ ११ गतेदेखि राजधानीमा आयोजित वृहत् नाडा अटो शो, २०२४ आइतबार सम्मपन्न भएको छ । कूल ६ दिन चलेको अटो शोमा करिब ८० हजार अवलोकनकर्ताले अटो शोको अवलोकन भ्रमण गरेका छन् भने दुई पाङ्ग्रे तथा चार पाङ्ग्रे सवारी गरी करिब ३ हजार सवारी साधन बुकिङ भएको आयोजक नाडाले जनाएको छ ।

६ दिनको अटो शोमा एमएडब्लू ग्रुपले एक हजार प्लस सवारी साधन बुकिङ गरेको दाबी गरेको छ । यसैगरी टाटा मोटर्सले ७ सय सवारी बुकिङ भएको जनाएको छ भने, बीवाईडीका लागि नेपालका लागि आधिकारिक वितरक साइमेक्स ईंकले पनि ७ सय भन्दा बढी गाडीको बुकिङ लिएको दाबी गरेको छ । 

अटो शोमा पहिलो पटक भाग लिएका चिनियाँ ब्राण्डह्रमा नामी, लिप मोटर्स, जिकर, क्यूट–०४, एक्सपेङ, जीएसी एवोन–भी, एमजी जेडएस ईभी, एमजी, स्मार्ट ह्याज थ्री, बीवाईडी अट्टो–३ ब्ल्याक, सुजुकी स्वीफ्ट, दिपल एस–०७, एचईभी–३००, जस्ता नयाँ मोडल तथा ब्राण्डहरुमा अटो पारखी अवलोकनकर्ताहरुको आकर्षण देखिएको छ । साथै, भारतीय उत्पादनको बहुप्रतिक्षित टाटा पन्चमा समेत उच्च आकर्षण देखिएको छ ।  
 

Advertisement