ब्याजदर ३२ महिनायताकै सस्तो, तर छैन कर्जाको माग, कुन बैंकबाट पाइन्छ सुलभ ऋण ?

Advertisement

काठमाडौं । बैंकमा पर्याप्त तरलता छ । तर बजारमा कर्जाको माग नै नहुँदा बैंकहरुले भल्टमा नगद राखेर बस्नुपर्ने स्थिति बनेको छ । भदौ १६ सम्ममा ७८.९४ प्रतिशत सीडी रेसियो (कर्जा–निक्षेप अनुपात) कायम गरेका बैंकहरुसँग छ खर्ब रुपियाँमाथि लगानीयोग्य पुँजी (तरलता) रहेको छ ।

उक्त अवधिमा कूल ६४ खर्ब ६४ अर्ब रुपियाँ निक्षेप संकलन गरेका बैंक तथा वित्त कम्पनीहरुले यता मुस्किलले ५१ खर्ब ९१ अर्ब रुपियाँ मात्र कर्जा लगानी गरेका छन् । 

Advertisement

अपेक्षित लगानी हुन नसक्दा बैंकको कस्ट अफ फन्ड (निक्षेपको लगानी) समेत उठ्ने स्थिति छैन । तथापि, संकलित निक्षेप सस्तो ब्याजमा नै राष्ट्र बैंकमा राख्न बैंकहरु बाध्य छन् । 

आर्थिक वर्ष शुरु भएयता केन्द्रीय बैंकले पटक पटक गरी बैंक तथा वित्तीय संस्थाबाट तीन खर्ब ४० अर्ब रुपियाँ तरलता प्रशोचन गरिसकेको छ । आज (बुधबार) थप ४० अर्ब रुपियाँ तरलता प्रशोचन गर्दैछ । यसरी लगातार केन्द्रीय बैंकले तरलता प्रशोचन गर्नुपर्ने स्थिति आउनु भनेको बजारमा कर्जाको माग नै नहुनु हो । 

३२ महिनायताकै न्यून ब्याजदर
अहिले महंगो ब्याजदर भएर बजारमा कर्जाको माग घटेको होइन । नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो पटक ३२ महिना यताकै न्यून विन्दुमा ब्याजदर झरेको छ । २०७८ मंसिरमा बैंकहरुको औसत आधार दर (बेस रेट) ८.२४ प्रतिशत रहेको थियो । 

त्यसयता सो विन्दुभन्दा तल नझरेको बेस रेट एकैपटक ३२ महिनापछि ८.०१ प्रतिशतमा झरेको छ । २०७९ पुसमा बैंकहरुको आधार दर १०.८५ प्रतिशत रहेको थियो । यो निकै महंगो हो । अट्ठार महिनापछि सो आधार दर २.८४ प्रतिशतले घटेर ८.०१ प्रतिशतमा झरेको छ । यो भनेको कर्जाको ब्याजदरमा आएको उच्च गिरावट नै हो । 

जति आधारदर कम हुन्छ, त्यो बैंकले प्रवाह गर्ने कर्जाको ब्याजदर उति नै सस्तो हुन्छ । बैंकहरुले आफ्नो ‘कस्ट अफ फण्ड’ जोडेर आधार दर कायम गरेका हुन्छन् । यस्तो आधार दरमा बैंकहरुले थप प्रिमियम चार्ज जोडेर ब्याजदर कायम गर्ने गर्छन् । तर ऋणीले आफूले ऋण लिन चाहेको बैंकको आधार दरसँगै बैंकहरुले जोड्ने प्रिमियम चार्जलाई पनि ख्याल गर्नुपर्ने हुन्छ । 

केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत प्राथमिकताप्राप्त कृषि, पर्यटन, उद्योग, लघु उर्जा तथा साना, लघु तथा घरेलु उद्योग (एसएमईज) क्षेत्रमा प्रवाह हुने ऋणमा बैंक तथा वित्त कम्पनीहरुले दुई प्रतिशतभन्दा बढी प्रिमियम चार्ज गर्न नपाउने व्यवस्था छ । यसो हुँदा जुन बैंकको कम आधार दर छ, सो बैंकबाट कर्जा लिँदा स्वतः ब्याजदर सस्तो पर्न जान्छ । 

कुन बैंकको आधार दर कति छ ?
केन्द्रीय बैंकको विवरणअनुसार यतिबेला आठ वटा वाणिज्य बैंकको आधार दर औसतभन्दा पनि कम छ । यी बैंकहरुमा नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, एभरेष्ट बैंक, ग्लोबल आईएमई बैंक र सानिमा बैंक रहेका छन् । अझ राष्ट्रिय वाणिज्य बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकको आधार दर त सात प्रतिशतभन्दा पनि कम रहेको छ । यी बैंकहरुबाट ऋण लिँदा सस्तो ब्याज पर्ने निश्चित छ । 

undefinedवान्छित सीमा भित्रको ‘स्प्रेड रेट’
बैंकहरुले निक्षेपमा प्रदान गर्ने ब्याज दर र कर्जामा लिने ब्याज दरको अन्तर नै स्प्रेड रेट हो । यसले खास कर्जाको ब्याजदरमा सिधै घटबढ नगराउने भए पनि कर्जा निक्षेपको ब्याजदर सन्तुलनमा राख्न भने महत्वपूर्ण भूमिका खेल्छ । बैंकहरुले जति कम स्प्रेडदर कायम गर्छन्, उति कर्जाको ब्याजदर समेत कम हुन जान्छ । 

जस्तो कि, कुनै बैंकले निक्षेपमा अधिकतम् आठ प्रतिशत ब्याजदर प्रदान गरेको छ भने त्यसमा चार प्रतिशत स्प्रेडदर कायम गर्ने हो भने कर्जाको ब्याजदर १२ प्रतिशत हुन जान्छ । तर, यस्तो स्प्रेडदर तीन प्रतिशत मात्र हुने हो भने कर्जाको ब्याजदर ११ प्रतिशतमा झर्छ । नत्र कर्जाको ब्याजदर १२ प्रतिशत नै कायम गनुपरे बैंकहरुले निक्षेप प्रदान गर्ने ब्याजदर आठ प्रतिशतबाट नौ प्र्रतिशतमा वृद्धि गर्नुपर्ने हुन्छ । यसको घटबढले कि निक्षेपकर्ता कि ऋणीलाई फाइदा पुग्छ । 

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुका लागि अधिकतम् चार प्रतिशतको स्प्रेडदरको सीमा तोकेको छ । तर, भदौका लागि निक्षेपमा औसत ६.४६ प्रतिशत तोकेका बैंकहरुले अधिकतम् चार प्रतिशत स्प्रेडदर कायम गर्ने हो भने कर्जाको ब्याजदर १०.४६ प्रतिशत मात्र हुन जान्छ, जुन निकै सस्तो हो । 

तथापि, असार महिनाको स्प्रेडदरलाई आधार मान्ने हो भने चार वटा वाणिज्य बैंकबाहेक बाँकी १६ वटा बैंकको स्प्रेडदर चार प्रतिशतभन्दा तल रहेको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, स्ट्याडर्ड चार्टर्ड बैंक, लक्ष्मी सनराइज बैंक र सानिमा बैंकले भने चार प्रतिशत स्प्रेडदर तोकेका छन् । 

Advertisement