खेल क्षेत्रबाट नेपाल अन्तर्राष्ट्रिय जगतमा चिनिन थाल्योः प्रम ओली

Advertisement

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नेपाल खेल क्षेत्रबाट क्रमशः अन्तर्राष्ट्रिय जगतमा चिनिन थालेको बताएका छन् । 

राष्ट्रिय खेलकुद परिषद्को ६१ औँ वार्षिकोत्सवमा बुधबार उनले पछिल्ला समयमा खेल क्षेत्रले अन्तर्राष्ट्रियस्तरमा उपलब्धि हासिल गर्न थालेको र पलेसा गोवर्धनले पारा ओलम्पिकमा कास्य पदक जित्नु एक कोशेढुङ्गा सावित भएको बताए । 

Advertisement

पलेसालाई दिइने रु ६५ लाख पुरस्कार कर नकटाइ छिट्टै दिइने जनाउँदै ओलीले पुरस्कार घोषणा भएर प्राप्त नहुने रोग अब अन्त्य हुने बताए । उनले भने, ‘मौका पाएपछि नेपालीले गर्छ भनेर मैले भन्दै आएको छु । हामीले नयाँ नयाँ सफलता र कीर्तिमान कायम गर्नुपर्छ । पुराना रेकर्डहरु तोड्दै जानुपर्छ । हाम्रो अबको लक्ष्य जापानको ओलम्पिक खेल हुनुपर्छ । एसियन खेल लक्ष्य हुनुपर्छ । त्यसको तयारी राम्रोसँग होस् । त्यसअनुसारको तालिम र अभ्यास होस्  भन्न चाहान्छु ।’

प्रधानमन्त्री ओलीले कुनै पनि खेलमा प्रतियोगिताको अन्तिम समयसम्म जितिन्छ भन्ने दह्रो आत्मबल बनाएर आँटका साथ खेलेमा जित हासिल हुने विश्वास व्यक्त गरे । उनले खेल क्षेत्रका संस्थाहरु लोकतान्त्रिकरुपमा चलाइनुपर्नेमा जोड दिँदै विधागत विकास र उन्नतिको साटो आफ्नो स्वार्थका लागि कब्जा जमाइ राख्ने प्रवृत्ति उचित नहुने बताए । 

Advertisement