कोरियाको आम्दानी ‘ड्रागन फ्रुट’मा लगानी
फाइल तस्बिर ।

Advertisement

बागलुङ । कोरियाबाट फर्केका काठेखोला गाउँपालिका–१ पालाका प्रतिमान थापा स्वादिलो फल ‘ड्रागन फ्रुट’को व्यावसायिक उत्पादनमा व्यस्त छन् । विसं २०७७ मा ड्रागन फ्रुटका एक हजार पाँच सय बिरुवा लगाएका थापाले १५ महिनामा फल टिप्न थालेको बताए । 

कोरोनाकालमा कोरियाबाट गाउँ फर्केका थापाले युट्युवमा भिडियो हेरेकै आधारमा गरेको ड्रागन फ्रुटले व्यावसायिक उत्पादन दिन थालेपछि उनी दंग परेका छन् । 

Advertisement

पन्ध्र रोपनी जग्गामा रु २० लाख लगानी गरेर थाल्नुभएको ड्रागन फ्रुटखेतीबाट हालसम्म एक हजार दुई सय केजी उत्पादन भइसकेको उनले बताए । उनले ड्रागन फ्रुटको व्यावसायिक खेती फलफूलमध्येकै सबैभन्दा सजिलो खेती रहेको अनुभव सुनाए । छोटो समयमै चार लाखभन्दा धेरै रकम ड्रागन फ्रुटबाट आम्दानी भइसकेको छ ।

‘चितवनबाट एक हजार पाँच सय बिरुवा ल्याएर खेती सुरु गरेको थिएँ, अहिले ड्रागन फ्रुटलाई प्रतिकेजी रु चार सयमा बजार पठाइरहेको छु, बेनी, पोखरा र बागलुङ बजारमा ड्रागन फ्रुट खपत भइरहेको छ,’ उनले भने । 

यो फल खेतीका लागि अन्य बालीलाई जस्तो धेरै मेहनत गर्नु नपर्ने र सुरुमा सिमेन्टको पोल बनाएर बिरुवा लगाइदिए राम्रोसँग सर्ने थापाले बताए । ‘एकपटक लगानी गरेपछि निरन्तर लगानी थप्न नपर्ने, उत्पादन हुने र फाइदाका हिसाबले ड्रागन फ्रुट बुहुगुणी भएकाले बजारको सम्भावना अत्यधिक छ,’ थापाले भने, ‘जेठदेखि उत्पादन सुरु भएको फल १५ दिन बिराएर मङ्सिरसम्म टिप्न पाइन्छ, मैले लगाएको रातो  ड्रागन हो ।’ 
 

Advertisement