काठमाडौँ: एसियाका ६ वटा देशको सहभागिता रहने एसियन प्रिमियर लिग टीट्वेन्टी क्रिकेट प्रतियोगिता आगामी असार ५ गतेदेखि नेपालमा आयोजना हुने निश्चित भएको छ ।
क्रिकेट कन्ट्रोल बोर्ड अफ चण्डीगढ पञ्जाब (भारत) को आयोजनामा हुन लागेको उक्त प्रतियोगितामा नेपालसहित भारत, अफगानिस्तान, दुबई, श्रीलंका र बंगलादेशका टोलीको सहभागिता हुनेछन् ।
लिग चरणको खेलपछि चारवटा टोली सेमिफाइनलमा पुग्नेछन् । प्रतियोगिताका सबै खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा खेलाइनेछन् ।
प्रतियोगिताको विजेताले ४० लाख, उपविजेताले १६ लाख र तेस्रो हुने टोलीले आठ लाख रुपियाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।
विभिन्न देशका उदीयमान खेलाडीलाई अवसर प्रदान गर्न र क्रिकेटको विकासका लागि प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले आइतबार आयोजित पत्रकार सम्मेलनमा भने ।
आयोजकले हिजै एक कार्यक्रमबीच प्रिमियर लिगको ट्रफी पनि सार्वजनिक गरेको छ ।
सहभागी टोली र कप्तानको नाम पनि चयन गरिएको छ । नेपाल स्टर्मको कप्तान स्वप्नील पटेल, इन्डियन स्टार्सको कप्तान तिलकरत्ने दिल्सान, श्रीलंकन लायन्सको कप्तान परभिज माहरुफ, बंगलादेश टाइगर्सको कप्तान अल अमिन होसेन, दुबई वारियार्सको कप्तान अब्दुल सकुर र अफगानिस्तान बुल्सको कप्तान राना नाभिद अल हुसेन रहने छन् ।
प्रतियोगिताका लागि अन्य खेलाडी अक्सनबाट लिइने बताइएको छ । प्रतियोगितामा दक्षिण एसियाका कुनै पनि देशका खेलाडीले भाग लिन पाउनेछन् ।