रुनीलाई मापसे गरी गाडी चलाएकोमा दुई वर्ष प्रतिवन्ध

Advertisement

एजेन्सी: मादक पदार्थ सेवन (मापसे) गरी गाडी चलाएको अभियोग लागेका इंग्ल्यान्डका पूर्व कप्तान वायन रुनीलाई दुई बर्ष गाडी चलाउन प्रतिबन्ध लागेको छ ।

सोमबार अदालतमा उपस्थित भएका रुनीलाई स्टकपोर्ट मजिस्ट्रेट अदालतले दुई बर्ष गाडी चलाउन प्रतिबन्ध लगाएको हो ।

अदालतले एभर्टनका ३१ बर्षे स्ट्राइकर रुनीलाई गाडी चलाउन प्रतिबन्धसँगै बिनापारिश्रमिक एक सय घण्टा सामुदायिक काम गर्न समेत आदेश दिएको छ । अदालतमा रुनीले मादकपदार्थ सेवन गरेको स्वीकार गर्दै माफी मागेका थिए ।

रुनी गत भदौ १६ गते इङल्यान्डको चेसायरमा मादक पदार्थ सेवन गरी गाडी चलाइरहेको अवस्थामा पक्राउ परेका थिए । गाडी चलाउँदा मादक पदार्थको मात्रा ३५ माइक्रो ग्राम्स भन्दा कम हुनुपर्नेमा पक्राउ पर्दा उनले सेवन गरेको मात्रा १०४ माइक्रो ग्राम्सको पाइएको थियो ।

अदालतबाट सजाय पाएपछि रुनीले गलत काम गरेको भन्दै माफी मागेका छन् । रुनीले एक प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्, “म सार्वजनिक रूपमा माफी माग्न चाहन्छु । मैले नियम विपरित ड्राइभिङ गरेँ । त्यो कार्य मेरो गलत थियो ।”

यस्तै रुनीले आफ्नो परिवार, एभर्टनका प्रशिक्षक, अध्यक्ष र सबै सदस्यसँग यसअघि नै माफी मागेको बताउँदै अदालतले सुनाएको सजाय आफुले स्वीकार गर्ने बताएको बीबीसीले जनाएको छ ।

 

Advertisement

Advertisement

Advertisement