एजेन्सीः अन्तर्राष्ट्रिय फुटबलको सर्वोच्च निकाय (फिफा)को २०१७ उत्कृष्ट खेलाडी मनोनयनमा लिओनल मेसी, क्रिष्टियानो रोनाल्डोसँगै नेइमार परेका छन् ।
फिफाले सार्वजनिक गरेको मनोनयनमा बार्सिलोनाका अर्जेन्टिनी फरवार्ड लिओनल मेसी, रियल म्याड्रिडका पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डो र पेरिस सेन्ट जर्मेनका ब्राजिलियन फरवार्ड नेइमार परेका हुन् । मेसीले यो अवार्ड पाँच पटक, रोनाल्डोले चार पटक जितिसकेका छन् भने नेइमारले अहिलेसम्म जित्न सकेका छैनन् ।
गत सिजनमा खेलाडीले गरेको प्रदर्शनको आधारमा उकृष्ट खेलाडी घोषणा गरिएको फिफाले जनाएको छ। मेसीले गत सिजन बार्सिलोनाबाट ५२ खेलमा ५४ गोल, साथै नेइमारले बार्सिलोनाबाटै ४५ खेलमा २० गोल गरेका थिए । रोनाल्डोले रियल म्याड्रिडको लागि ४६ खेलबाट ४२ गोल गर्दै ला लिगा र च्याम्पियन्स लिगको उपाधि जित्दा टोलीको लागि उत्कृष्ट खेल प्रदर्शन गरेका थिए।
उत्कृष्ट गोलकिपरको मनोनयनमा भने युभेन्टसका बुफोन, रियल मड्रिडका नाभास र बार्यन म्युनिखका नुयर छन् । अवार्ड आगामी २३ अक्टोबरमा आयोजित हुने समारोहमा सार्वजनिक गरिनेछ।