काठमाडौं । जारी युरोकप २०१६ मा पोर्चुगल र वेल्स मात्रै यस्ता दुई राष्ट्र हुन् जसमा खेलको अनि टिमको भन्दा पनि मात्रै खेलाडीको चर्चा बढिनै हुन्छ जो आज मध्य राती हुने पहिलो सेमीफाइनल खेलमा आम्ने-साम्ने हुँदैछन् ।
ग्यारेथ बेल र क्रिष्टियानो रोनाल्डो, रियल मड्रिडमा टिममेट हुन् र महंगे मूल्यमा स्पेनिस जाइन्टमा आवद्ध भएपछि पहिलो पटक देशको प्रतिनिधित्व गर्दै एक आपासमा भिड्दैछन् । बुधबार दुबै टिम फाइनलमा स्थान बनाउन लियोनमा भिड्दैछन्।
रोनाल्डो दोस्रो पटक युरोकपको फाइनल खेल्न चाहन्छन् । यसअघि २००४ मा खेलेका थिए । र, पोर्चुगलले सेमिफाइनलसम्म यात्रा गर्नुको रोनाल्डोको प्रेरणादायी भूमिका छ । वेल्सको भने युरोकपमा यो पहिलो उपस्थिति हो ।
खासगरी नकआउट चरणमा स्थान बनाउन पोर्चुगलले हंगेरीसँग ३-३ को बराबरी खेल्दा रोनाल्डोले दुई गोल गरेका थिए भने अर्को गोलका लाागि पास मिलाएका थिए । अर्कोतिर बेलले इतिहास बनाइसकेका छन् । ५८ वर्षपछि ठूलो प्रतियोगिता खेलेको वेल्स पहिलो पटक युरोपियन च्याम्पियनपसिपको सेमिफाइनलमा पुगेको हो ।
समूह चरणमा तीन गोल गरेका उनले त्यसपछिका दुई खेलमा भने गोल गरेका छैनन् । तर, वेल्सले यहाँसम्म यात्रा गर्नुमा वेलले प्रेरणादायी भूमिका खेलेका छन् ।