काठमाडौँ: तपाईंलाई खेलकुद बिषयमा नै स्नातकोत्तरसम्म पढ्ने कत्तिको रहर छ ? यदी छ भने अव नेपालकै जेठो त्रिभुवन विश्वविद्यालय सो कार्यक्रम आफ्नो शैक्षिक कार्यक्रम मै संचालन गर्ने भएको छ ।
त्रिभुवन विश्वविद्यालयअन्तर्गतको जेठो संकाय मानविकी तथा सामाजिक शास्त्रले यही आउने शैक्षिक सत्रदेखि खेलकुद विज्ञान र पर्यटन तथा आतिथ्य अध्ययन विषयमा स्नातकोत्तर कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको हो ।
द्वितीय श्रेणीमा स्नातक तहमा उत्तीर्ण भएका विद्यार्थी, ती दुवै कार्यक्रममा आवेदन गर्न योग्य भएका जनाउँदै मानविकी तथा सामाजिक शास्त्र संकायको डिनका कार्यालयले आजै एक सूचना जारी गरी भर्नाका निम्ति आह्वान गरेको छ ।
नेपालको अर्थतन्त्र र संस्कृति समेतका क्षेत्रमा पर्यटन महत्वपूर्ण विषयका रुपमा रहेको तथा खेलकुदका माध्यमबाट मुलुकको विकासलाई टेवा पुग्ने र प्राज्ञिक शैक्षिक पक्षमा उच्चस्तरीय जनशक्ति उत्पादनमा सघाउनो उद्देश्यले ती कार्यक्रम सञ्चालन हुन लागेको उक्त कार्यालयले जनाएको छ ।