काठमाडौंः जिम्बावेमा जारी आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गतको पहिलो प्लेअफमा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई छ विकेटले पराजित गरेको छ । नेपालका युवा खेलाडी दिपेन्द्रसिंह ऐरीको उत्कृष्ट प्रदर्शनका आधारमा नेपालले खेलको २३औं ओभरमै जित हासिल गरेको हो ।
खेलमा टस हारेर जितको निम्तो पाएको पीएनजी २७ दशमलव २ ओभरमा अल आउट हुँदै नेपाललाई ११५ रनको सामान्य लक्ष्य दिएको थियो । पीएनजीलाई सस्तैमा समेटनका लागि नेपालका सन्दिप लामिछाने र दिपेन्द्रसिंह ऐरीले समान चार विकेट लिएका थिए । साथै, करण केसीले र सोमपाल कामीले समान एक विकेट लिएका थिए ।
नेपालका लागि दिपेन्द्रसिंह ऐरीले सार्वधिक ५० रन बनाए । उनले खेलमा ५८ बलमा तीन छक्का र एक चौकाको मद्दतले अर्धसतक पुर्याए । साथै, आरिफ शेखले २६ र कप्तान पारसले २० रन बनाए ।
अब नेपालले हङकङ र नेदरल्याण्डस्बीचको विजेतासँग सातौं स्थानको लागि भिड्ने छ । आजको अर्को प्लेअफमा नेदरल्याण्डस्ले जितेमा नेपालले ओडीआई मान्यता पाउछ । तर, हङकङले जितेमा प्रतियोगिताको सातौं स्थानमा रहने टोलीले ओडीआई मान्यता पाउनेछ ।