काठमाडौंः नवनियुक्त युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले खेलकुद क्षेत्रमा देखिएका सबैखाले विकृति तथा विसंगतिलाई अन्त्य र विवादलाई हल गर्नेगरि आफूले काम गर्ने प्रतिवद्धता जनाएका छन ।
शनिबार रिपोर्टर्स क्लबमा विश्वकर्माले खेलकुद क्षेत्रमा देखिएका विकृति, विसंगति र फोहोरलाई आफूले हटाउनेगरि काम गर्ने बताएका हुन । उनले क्रिकेट एशोसियशन अप नेपाल (क्यान), अखिल नेपाल फुटबल महासंघ (एन्फा), ओलम्पिक कमिटि लगायतका विवादलाई छिट्टै समाधान गर्ने बताए ।
मन्त्री विश्वकर्माले नेपाली खेलाडीहरुले अन्तर्राष्ट्रियस्तरमा कठोर मेहनतका साथ प्रस्तुत भएर उपलब्धिहरु हासिल गरेकोमा आफूलाई गर्व महशुस भएको भन्दै खेलकुद क्षेत्रमा नयाँ भाइव्रेशन आउनेगरि काम गर्ने बताए ।
उने भने, ‘खेलकुद क्षेत्रको विकास र सुव्यवस्थित् गर्ने संकल्प लिएको छु, खेलाडीहरुले अहिले भोग्नुपरेको समस्या र चुनौतिहरुलाई हल गर्नुपर्छ, युवा शक्तिलाई समृद्ध राष्ट्र निर्माणमा लगाउनेगरि व्यवस्थित् कार्ययोजना छिट्टै ल्याउँछु ।’
सन् २०१९ मा १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता हुने भएकोले उक्त प्रतियोगिता समयमै सम्पन्न गर्नेगरि आफूहरु तयारीमा जुटिसकेको पनि उनले जनाए । विश्वकर्माले भने, ‘तोकिएकै मितिमा हामी प्रतियोगिता सम्पन्न गर्छौं, प्रतियोगिताको लागि आवश्यक पूर्वाधार निर्माणको योजनाहरु बनाउनमा हामी केन्द्रित छौं ।’
उनले चालु आर्थिक वर्षमा निर्माण कार्य सम्पन्न गर्नुपर्ने पूर्वाधारको बारेमा जानकारी लिन १५ दिनभित्रै प्रतिवेदन ल्याउनेगरि मन्त्रालयका सहसचिवको नेतृत्वमा समिति गठन भएर कार्यआरम्भ भइसकेको पनि जानकारी दिए ।
मन्त्री विश्वकर्माले सात वटै प्रदेशमा आधुनिक सेवा सुविधासम्पन्न स्टेडियम बनाउनेगरी आगामी आर्थिक वर्षको बजेटमा योजना आउने भन्दै उनले आगामी वर्षको बजेटको नीति तथा कार्यक्रममा हरेक गाउँ, नगर, उपमहानगर र महानगरपालिका वडासम्म व्यवस्थित् खेल मैदान बनाइने बताए ।
सरकारको एकल प्रयासबाट मात्रै यी काम नहुने भन्दै विश्वकर्माले समग्र खेलकुद क्षेत्रको विकासको लागि निजी क्षेत्रको पनि साथ र समर्थन अनिवार्य रहेको बताए । उनले भने, ‘स्वदेशी निजी क्षेत्र मात्रै नभएर राष्ट्रिय हित प्रतिकुल नहुनेगरि वैदेशिक लगानी भित्र्याउने हिसावले योजना तयार पार्छौं । खेलप्रति जनताको आशामा निराशा होइन, थप उत्साह थप्छौं ।’ खेल पर्यटनको विकासबारे पनि आफूले पहल गर्ने विश्वकर्माको भनाई थियो ।