मोहन श्रेष्ठ एक वर्षका लागि गोरखाको राजा!

Advertisement

गोरखा। पस्लाङदेखि गोरखा दरबारसम्मको दौड जितेर मोहन श्रेष्ठ एक वर्षका लागि गोरखाको राजा बनेका छन्। नवौं गोरखा महोत्सवको उपलक्ष्यमा शुक्रबार बिहान आयोजित दौडको दूरी २८ मिनेटमा पुरा गर्दै त्रिभुवन आर्मी क्लवका श्रेष्ठ गोरखाका राजा बनेका हुन्।

दौड पुरा गरेपछि उनलाई गोरखा नगरपालिकाका कार्यकारी अधिकृत जीवन आलेले गोरखाका राजा घोषणा गरेका थिए। साथै महोत्सव आयोजकले श्रेष्ठलाई द्रव्यशाहको पोशाक पहिर्‍याएर विभिन्न झाँकी र र्‍यालीसहित नगर परिक्रमा गराएको छ।

Advertisement

सोही दौड २८ मिनेट पाँच सेकेण्डमा पुरा गर्ने त्रिभुवन आर्मी क्लवबाट सहभागी भएका केन्याली नागरिक डेनियल किङ दोस्रो भए भने त्रिभुवन आर्मी क्लवबाटै सहभागी होमलाल श्रेष्ठले २९ मिनेटमा दौड पुरा गर्दै तेस्रो बने।

उनीहरुलाई गोरखा सदरमुकामस्थित रंगशालामा आयोजित महोत्सव उद्घाटन समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २५ हजार, १५ हजार र १० हजार रुपैयाँ पुरस्कार प्रदान गर्ने कार्यक्रम रहेको खेलकुद संयोजक प्रकाशचन्द्र श्रेष्ठले जनाए।

योसंगै नवौं गोरखा महोत्सव शुक्रबारदेखि सुरु भएको छ। शुक्रबार बिहान विभिन्न जातजातिको पहिचान झल्किने झाँकीसहितको र्‍यालीले बजार परिक्रमा गरेको छ। दिउँसो दुई बजे प्रधानमन्त्री प्रचण्डले महोत्सवको विधिवत उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

उनी बिहान ११ बजे गोरखाको मुच्चोकस्थित ६ मेगावाटको दरौंदी हाइड्रोको उद्घाटन गर्न गोरखा आइसकेका छन्। उनको साथमा स्थानीय विकास मन्त्री हितराज पाण्डे, उर्जामन्त्री जनार्दन शर्मा, भूमिसुधार मन्त्री विक्रम पाण्डे पनि गोरखा आएका छन् ।

Advertisement

Advertisement