एजेन्सीः इंग्लिस प्रिमियर लिग फुटबल प्रतियोगिताको उपाधि विजेता म्यानचेस्टर सिटीले लिगमा नयाँ कीर्तिमान कायम गरेको छ । सिटीले उपाधिसँगै लिगमा १०० अंक जोड्दै प्रिमियर लिगमा नयाँ कीर्तिमान बनाएको हो ।
प्रतियोगितामा यसअघि कुनैपनि टोलीले १०० सय अंक जोडन सकेका थिएनन् । सन् २००४/५ को सिजनमा चेल्सीले ९५ अंक जोड्नु बाहेक अन्य टोली सिटीको कीर्तिमानको छेउछाउ पनि पुग्न सकेका छैनन् ।
लिगमा गए राति भएको सिजनको अन्तिम खेलमा साउथह्याम्पटलाई १–० गोलले पराजित गर्दै लिगमा कीर्तिमान कायम गरेको हो । साउथह्याम्पटनको घरेलु मैदानमा भएको खेलमा सिटीको लागि ग्याब्रियल जिससले गोल गरेका हुन् ।
जितसँगै पाँच खेल अगावै लिग जितेको सिटीले ३८ खेलबाट एक सय अंक जोडेको छ । खेलेको ३८ खेलमा सिटीले ३२ खेलमा जित, चार खेलमा बराबरी र दुई खेलमा मात्र पराजय भोगेको छ ।