काठमाडौंः विश्व फुटबलका उत्कृष्ट खेलाडी ब्रजिलियन स्टार स्ट्राइकर नेइमारलाई फुटबलमा विशेष रेखदेख चाहिने बताइएको छ । पेरिस सेन्ट जर्मेन (पीएसजी)मा आबद्ध भएका नयाँ प्रशिक्षक थोमस टुचलले नेइमारलाई फुटबलमा विशेष हेरचाह गर्न पर्ने बताएका हुन् ।
आगामी दुई वर्षका लागि पीएसजीको प्रशिक्षकमा नियुक्त भएका उनले पहिलो पटक आइतवार गरिएको पत्रकार सम्मेलनमा नेइमार फुटबलका कलाकार भएको बताएका छन् । उनले नेइमार फुटबलका उत्कृष्ट कलाकार रहेको तर उनलाई विशेष हेराचाह गर्न आवश्यक रहेको बताएका हुन् ।
नेइमार बार्सिलोनाबाट गत अगस्टमा विश्व कीर्तिमानी रकममा पीएसजी गएका थिए । अब उनी पीएसजीबाट रियल मड्रिड जाने हल्ला चलिरहेको समयमा प्रशिक्षकले उनी क्लबमै रहँदा जितको आधार तयार हुने बताए ।
नेइमार सिजनको फ्रेब्रुअरीदेखि चोटका कारण मैदान बाहिर छन् । उनले सिजनको फ्रेन्च प्लेयर अफ द इयरको अवार्ड समेत जितेका छन् । उनी आगामी जुन १४ बाट रुसमा सुरु हुने विश्वकप फुटबलमा ब्राजिलीयन टोलीबाट खेल्ने छन् ।