अबको चुनावी मैदानमा हाम्रो सामार्थ्य देखाउँछौं, खिस्सीट्युरी गर्नेहरुको हरिबिजोग हुन्छः नेपाल

Advertisement

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले आगामी स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीको सामथ्र्य देखिने बताएका छन् । बिहीबार पार्टी केन्द्रीय कार्यालयमा फागु पूर्णिमाको अवसरमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा उनले आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा पार्टीको सामथ्र्य देखिने बताएका हुन् । 

चुनावी मैदानमा पार्टीको शक्ति देखिने भन्दै नेता नेपालले आफूहरुलाई खिस्सीट्युरी गर्नेहरुको हरिबिजोग हुने बताए । उनले पार्टीको चुनाव चिन्ह कलमले कमाल देखाउन सक्नुपर्ने पनि बताए । 

Advertisement

अध्यक्ष नेपालले पार्टीका नेता, कार्यकर्ताहरुलाई पार्टीको संगठन निर्माण, परिचालन र प्रचार प्रसारको काममा केन्द्रित हुन पनि निर्देशन दिए । उनले भने, ‘हाम्रो पार्टी नेकपा(एकीकृत समाजवादी)को भविष्य उज्ज्वल छ । जसको चुनाव चिन्ह कलम हो । वैशाख ३० गतेको चुनावको बेलामा कलमको कमाल देखिन सक्नुपर्दछ । सत्य र न्यायको प्रतीकको रुपमा रहेको त्यो कलमले अवश्य कमाल गर्नेछ भन्ने आशा गर्दै कलमको प्रचार अभियानमा गाउँ–गाउँ, टोल–टोल, बस्ती–बस्तीमा हामी पुगौँ । जनताको माझमा पार्टीको प्रचार–प्रसार गर्ने काममा, संगठन बनाउने काममा, जनपरिचालन गर्ने काममा लागि परौँ भन्दै म सम्पूर्ण पार्टी कार्यकर्ताहरुलाई यस अवसरमा आव्हान गर्दै यो पार्टीको सामथ्र्य शक्ति चुनावको मैदानमा देखिनेछ । बिगत दुई पटकको चुनावमा देखिएको छ । राष्ट्रिय सभाको पहिलो चुनावमा पनि देखाएका छौँ हामीले । राष्ट्रिय सभाको दोस्रो चुनावमा पनि देखाएका छौँ हामीले अब स्थानीय तहको चुनावमा हाम्रो सामथ्र्य देखिनेछ । र हाम्रा खिस्सीट्युरी गर्ने तत्वहरुको हरिबिजोग त्यही बेलामा थाहा हुनेछ ।’

नेता नेपालले स्थानीय तह निर्वाचनमा प्रगतिशील भूमिका खेल्नेहरु पुरस्कृत र प्रतिगामी भूमिका खेल्नेहरु दण्डित हुनुपर्ने धारणा राख्नुभयो । प्रतिगामी भूमिका खेल्नेहरु पुरस्कृत भएमा समाज बाँच्न लायक पनि नहुने उनको भनाई छ । राजनीतिलाई आकर्षणको विषय बनाउनका लागि राजनीतिमा असल पात्र, प्रवृत्ति र चरित्रलाई अगाडी सार्नुपर्ने नेपालले बताए । 

उनले भने, ‘आउने वैशाख ३० गतेको यो चुनावले जनतालाई फैसला गर्ने अधिकार दिएको छ । जसले प्रगतिशील भुमिका खेलेको छ । त्यसको उच्च मुल्यांकन हुनुपर्दछ । जसले प्रतिगामी भुमिका खेलेको छ, त्यसले दण्डित हुनुपर्दछ । प्रतिगामी भुमिका खेल्नेहरु, आन्दोलनको विकासमा बाधक हुनेहरु यदी पुरस्कृत हुन पुगे भने हाम्रो यो समाज बाँच्न लायक हुँदैन । त्यस हुनाले यो राजनीति जनताको प्यारो राजनीति हुन सक्दैन । राजनीतिलाई आकर्षणको विषय बनाउने हो भने राजनीतिमा असल प्रवृत्ति, असल चरित्र, असल पात्रहरुलाई अगाडी सार्नुपर्दछ ।’

अध्यक्ष नेपालले युट्युवले झुठा समाचार र झुठा सूचनाहरु आएका कारण यसप्रति गुनासोहरु आइरहेकाले झुठा समाचार सूचना सम्प्रेषण नगर्न आग्रह समेत गरे । उनले युट्युवरहरुलाई जिम्मेवार भएर प्रस्तुत हुन पनि आग्रह गरे । सञ्चारमाध्यमलाई सही बाटोमा हिडाउनका लागि राज्यले प्रेरित गर्नुपर्नेमा नेपालले जोड दिए । 

Advertisement

Advertisement