ऐतरेयोपनिषद्ः आत्माले विचार गर्यो, म सृष्टि गरुँ, अनि उसले संसार रच्यो

Advertisement

शिरीषवल्लभ प्रधान
तीन अध्यायमा विभाजित यस उपनिषद्को पहिलो अध्यायमा सृष्टि कसरी भयो भन्ने वर्णन गर्दै भनिएको छ । सुरुमा एउटै मात्र आत्मा थियो र त्यस आत्माले आफ्नो संकल्पशक्तिव्दारा विभिन्न लोकहरुका साथै लोकपालको सृष्टि गर्यो । दोस्रो अध्यायमा आत्मज्ञान नै परम शान्तिको मार्ग भएको बताइएको छ भने तेस्रो अध्यायमा मानिसको भित्री चेतनालाई नै आत्मा भनी वर्णन गरिएको छ । 

पहिलो अध्यायको सुरुमा भनिएको छ,
ऊँ आत्मा वा इदमेक एवाग्र आसीत् ।
नान्यत्किंचन मिषत् । स ईक्षत लोकान्नु सृजा इति ।। १ ।।

Advertisement

सुरुमा यो जगत एक आत्मा मात्रै थियो । त्योबाहेक अरु कुनै सक्रिय वस्तु थिएन् । उसले इच्छा गर्यो कि लोकहरुको रचना गरुँ । शंकर भाष्यअनुसार यो जो नाम, रुप र कर्मका भेदले विविध प्रतीत हुने जगत छ, त्यो सृष्टि हुनुभन्दा अगाडि सर्वज्ञ, सर्वश्रेष्ठ, सर्वशक्तिमान्, नित्य, शुध्द, मुक्त, अजन्मा, अमर, अव्दयरुप आत्मा नै थियो ।

त्यस आत्माले विभिन्न लोकहरु सृष्टि गर्ने इच्छा गर्यो र अम्भ, मरीचि, मर र आप नामक लोकहरु रचना गर्यो । द्युलोकभन्दा पर रहेको अम्भ हो, अन्तरिक्ष मरीचि हो भने पृथ्वी मरलोक र पृथ्वी तल रहेको आप लोक हो (ऐतरेय.१.२) । जलको आधिक्य हुनाले पृथ्वी मुनि रहेको सो लोकलाई आप भनिएको हो ।

उपनिषद्मा अगाडि भनिएको छ, त्यसरी लोकको रचना गरिसकेर त्यस आत्माले विचार गर्यो, यी लोक त तयार भए, अब लोकपालको रचना गरुँ । त्यसरी विचार गरेर कुम्हालेले माटोबाट पिण्ड निकाले जस्तै त्यसले जलबाट एक पुरुषाकार वस्तु निकालेर त्यसलाई अवयवयुक्त गर्यो  । त्यसप्रकार ऊ जलप्रधान पन्चतत्वबाट एक अवयवयुक्त विराट पुरुष निर्माण गर्दछ (ऐतरेय.१.३)

त्यस विराट पुरुषमा ईश्वरले संकल्प गरी अण्डा समान मुख उत्पन्न गरी त्यसबाट वाक् र वागिन्द्रीय उत्पन्न गर्छन् । त्यसपछि नाखको प्वाल उत्पन्न भई त्यहाँबाट प्राण र प्राणबाट वायु उत्पन्न हुन्छ । त्यसैगरी नेत्र, चक्षु इन्द्रिय र आदित्य उत्पन्न हुन्छ । अनि कान उत्पन्न भई कानबाट श्रोत्रेन्द्रिय र दिशाहरु उत्पन्न हुन्छन् । त्वचा उत्पन्न हुन्छ । जसबाट रौं र औषधि तथा वनस्पति उत्पन्न हुन्छन् । त्यसैगरी हृदय उत्पन्न भई हृदयबाट मन र मनबाट मनका देवता चन्द्रमा उत्पन्न हुन्छ । त्यसैगरी मलमुत्र त्याग्ने गुप्तांगहरु उत्पन्न हुन्छन्, उपनिषद्ले भन्छ ।

प्राणीहरुमा मानिस नै सर्वश्रेष्ठ मानिएको छ । किनभने ऊ सबैभन्दा बुध्दिमान र चेतनशील मानिन्छ । यस कुरालाई उपनिषद्ले बडो रोचक ढंगले वर्णन गरेको छ । त्यसरी रचिएका इन्द्रियाभिमानी देवताहरु महासमुद्रमा अर्थात् संसार सागरमा खस्छन् ।  त्यसपछि त्यस पिण्डलाई देवताहरुले क्षुधा र पिपासा अर्थात् भोक र प्यासले युक्त गरिदिन्छन् । ती इन्द्रियाभिमानी देवताहरुले हाम्रो निम्ति कुनै आश्रयस्थान लिएर आउ ता कि हामी त्यहाँ बसेर अन्न ग्रहण गर्न सकौं ।

ती देवताहरुको निम्ति अन्न भक्षण गर्न गाईको शरीर ल्याइयो । तर देवताहरुले भने यो हाम्रो निम्ति पर्याप्त छैन् । अनि फेरि उनीहरुको निम्ति घोडाको शरीर ल्याइयो । देवताहरुले भने यो पनि हाम्रो निम्ति पर्याप्त छैन् । त्यसपछि उनीहरुको निम्ति पुरुष अर्थात् मानिसको शरीर ल्याइयो अनि उनीहरुले भने, यो त अति सुन्दर रहेछ, बास्तवमा मानिस नै ईश्वरको सबैभन्दा सुन्दर रचना हो । अनि ईश्वरले भने, तिमीहरु आफ् आफ्नो आश्रयस्थानमा प्रवेश गर । 

उपनिषद्का अनुसार त्यसपछि अग्निले वाग्इिन्द्रिय बनेर मुखमा प्रवेश गर्छ, वायुले प्राण भएर नाकको प्वालमा प्रवेश गर्छ, सूर्यले चक्षु इन्द्रिय भएर नेत्रमा प्रवेश गर्छ, दिशाहरु कानमा, औषधिहरु त्वचामा, चन्द्रमा हृदयमा, मृत्युका देवता नाभिमा र जल लिंगमा प्रवेश गर्छ (ऐतरेय.१.४) ।

त्यसपछि भोक, प्यासले भने हाम्रो निम्ति कुनै व्यवस्था गर । ईश्वरले उनीहरुलाई देवताहरुसंगै भाग दिने विचार गर्छ । किनभने कुनै चेतन वस्तु विना अन्न उपभोग गर्न संभव हुँदैन । त्यसो हुनाले जब अग्नि आदि कुनै देवतालाई हवि दिइन्छ, त्यसबखत भोक, प्यास पनि सहभागी हुन्छन् ।

त्यसपछि ईश्वरले अन्नको रचना कसरी गर्छन् भन्नेबारे निम्न श्लोमा भनिएको छ,
स ईक्षतेमे नु लोकाश्च लोकपालाश्चान्नमेभ्यः सृजा इति ।। ३.१ ।।

त्यस ईश्वरले विचार गर्यो, यी लोक र लोकपाल त भए अब यिनीहरुको निम्ति अन्न रचूं । अनि ईश्वरले जललाई लक्षित गरेर तप गर्दा जलबाट एक आकार निस्क्यो, जुन अन्न बन्यो । त्यसैले आजभोलि पनि जलबाटै अन्न उत्पन्न हुन्छ ।

त्यसपछि त्यो अन्न त्यहांबाट भाग्न खोज्दा त्यस आदिपुरुषले त्यसलाई वागिन्द्रियबाट ग्रहण गर्न खोज्छ, तर वाणिले त्यसलाई ग्रहण गर्न सकेन । यदि त्यसले ग्रहण गर्नसकेको भए मानिस बोलेरै अन्नले तृप्त हुन्थ्यो । त्यसलाई फेरि प्राणले ग्रहण गर्न खोज्यो, तर समर्थ भएन । यदि प्राणले ग्रहण गर्न सकेको भए अहिले पनि पुरुषले प्राणाक्रियाव्दारा अर्थात् श्वास फेरेर नै ग्रहण गर्न सक्थ्यो । त्यस्तै त्यसलाई नेत्रले ग्रहण गर्न खोज्यो तर सकेन, श्रोत्रले ग्रहण गर्न खोज्यो तर सकेन । त्यसैगरी त्यस अन्नलाई त्वचाले, मनले, लिंगले ग्रहण गर्न खोज्यो तर सकेन । आखिरमा त्यो पुरुष अन्नलाई मुखको छिद्रस्थित अपान वायुव्दारा ग्रहण गर्र्न सफल भयो । तसर्थ त्यो अपान वायु नै अन्न ग्रहण गर्ने कहलियो, जो अन्नायु अर्थात् अन्नव्दारा जीवन धारण गर्न सक्ने वायुका रुपमा प्रसिध्द छ ।

इन्द्र को हुन् ?
उपनिषद्मा अगाडि भनिएको छ, त्यस ईश्वरले आफूले उत्पन्न गरेको शरीरमा जीवरुपले प्रवेश गरेपछि म बाहेक त्यहां अरु को छ भनी हेर्दा उसले त्यस शरीरभित्र आफ्नै आत्मस्वरुपलाई देख्छ ।  उसले भन्छ मैले आत्मस्वरुप पुरुषलाई देखें अर्थात् इदम्द्र । यसरी उसले त्यस पुरुषलाई नै पूर्ण ब्रह्मस्वरुपले देख्छ । मैले देखें अर्थात्, इदम्द्र, उसले भन्छ । देवताहरु परोक्ष प्रिय हुने हुनाले उनीहरु त्यसलाई इन्द्र भन्छन्, उपनिषद्ले भन्छ ।

त्यस परमेश्वरले अब कसरी प्राणिहरुको शरीरमा प्रवेश गर्ने भनी सोच्दै त्यस मूध्र्दा लाई नै विदीर्ण अर्थात् छेदन गरी शीरको माथिल्लो भाग मार्फत इन्द्रियहरुमा प्रवेश गर्छ । यसरी जीवरुपमा प्रवेश गर्ने ईश्वर शीरमा छेदन गरी तीन आवसथ वा स्थानलाई आफ्नो वासस्थान बनाउंछः १. नेत्र, २. कण्ठ र ३. हृदय । यसरी जीवरुपमा प्रवेश गर्ने त्यस ईश्वरका तीन रुप हुन्छन् जाग्रतकालमा इन्द्रियहरुको स्थान दक्षिण नेत्र हन्छ भने स्वप्नकालमा मन भित्र र सुषुप्तिकालमा हृदयाकाश भित्र । 

उपनिषद्का अनुसार, सामान्यतया मानिसको तीनपल्ट जन्म हुन्छ । सबैभन्दा पहिला त्यस पुरुषको शरीरमा नै जीवले गर्भरुप धारण गर्छ र त्यहीं त्यस आत्मरुपी तेजलाई आफ्नै शरीरमा पोषण गर्छ । जब त्यसलाई स्त्रीको शरीरमा सिंचन गरी भ्रुण बन्छ, तब स्त्रीको शरीरमा नै त्यस जीवको पहिलो जन्म हुन्छ, उपनिषद्ले भन्छ । स्त्रीले त्यस बालकलाई गर्भमा नै पोषण गरी जब ऊ यस धर्तीमा उत्पन्न हुन्छ र पिताव्दारा जन्मसंस्कार आदि गरिन्छ तब उसको दोश्रो जन्म हुन्छ, भनिएको छ । यसरी उत्पन्न हुने बालकलाई पिताको प्रतिनिधिको संज्ञा दिंदै भनिएको छ, पिता नै आत्मरुपमा माताको गर्भबाट जन्मन्छ । त्यसले पूण्य आदि कर्म सम्पन्न गरी जब वृध्द अवस्थामा पुगी मृत्युलाई गर्छ अनि आफ्नो कर्म अनुसारको फल भोग गर्न धूम आदि मार्ग र चन्द्रलोक हुंदै अर्को जन्म लिन्छ त्यसलाई तेश्रो जन्म भनिएको छ । (ऐतेरेय. १.४)

यसरी तीन चरणबाट गुज्रेर जीवले संसार सागरको विभिन्न उतार चढाव पार गर्दै जब श्रुतिव्दारा प्रतिपादित आत्मालाई जान्दछ तब ऊ मुक्त हुन्छ, उपनिषद्का भाष्यकार शंकराचार्य भन्छन् ।

Advertisement

Advertisement