देउवाले यो देश बनाउन अब जनताले कति समय कुर्नुपर्छ ? कांग्रेसले जवाफ दियोसः लिङदेन

Advertisement

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले प्रधानमन्त्री शेरबहादुर देउवाले अब कति समयमा देश बनाउन सक्छन् भन्ने प्रश्नको उत्तर दिन नेपाली काँग्रेसका नेताहरुलाई चुनौति दिएका छन् । 

शनिवार कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा उनले नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादीले कति समयमा देश बनाउन सक्छन् भन्ने प्रश्नको उत्तर उनीहरुसँग नै नभएको आरोपसमेत लगाए । 

Advertisement

लिङदेनले आगामी निर्वाचनमा भ्रष्ट नेतालाई भोट नदिने हो भने त्यो सजाय खुकुरी र तरवार चलाएको भन्दा ठूलो हुने बताए । उनले ३१ वर्षसम्म नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले नै सरकार चलाइरहेको भन्दै अब पनि उनीहरुलाई नै जिताएर देश बन्छ भन्नु मुर्खता भएको बताए । 

लिङदेनले आफ्नो पार्टीले ५ वर्षमात्रै देशको नेतृत्व पाए देशको मुहार फेर्ने गरी काम गर्ने बताए । उनले भने, ‘आउने चुनावमा जानिजानि यस्ता भ्रष्ट नेताहरुलाई भेट नदिनुस् भन्न आएको हो । तपाईंले खुकुरी, तरवार चलाएको भन्दा ठूलो सजाय त्यही हुन्छ । हामी सामान्य नागरिक भएर सोचौँ । कुनै दलको व्यक्ति भएर होइन् । यिनै नेता यिनै पार्टी भनौँ । त्यति भन्दा तपाईंले बुझिहाल्नु हुन्छ ।’ 

लिङदेनले थपे, ‘दिनमा १२ पटक राजेन्द्रले हाम्रो नाम लिएर बसिरहेको छ भन्लान् । पाँच औँलाभन्दा बढ्ता छैनन् । नेकपा एमाले, नेकपा माओवादी र नेपाली काँग्रेसका त्यति नै नेतालाई हामीले कति समय थपिदियो भने देश विकास हुन्छ ? बडो आदारपूर्वक भनौँ, शेरबहादुर देउवालाई अब कति पटक वा कति वर्ष थपदियो भने उहाँ देश बनाउन सक्षम हुनुहन्छ ? कोही काँग्रेसको नेता हुनुहुन्छ शेरबहादुर देउवालाई अब पाँच वर्ष दिए देश बन्छ भनेर भन्न सक्नुहुन्छ ? अथवा केपी ओली, प्रचण्ड, उहाँहरुलाई कति वर्ष र कति कार्यकाल थपेपछि यो देशबन्छ ? ’

उनले जनताको हातमा पुनः शक्ति आउन लागेको भन्दै मतरुपी शक्तिलाई उचित सदुपयोग गर्न आग्रह गरे । लिङदेनले काँग्रेस, एमाले र माओवादीप्रति दक्षित गर्दै साँढेको टाँगमुनि बाल्टी थापेर दुध नआउने बताए । उनले मुलधारमा रहेको पार्टीहरुको दिमाग बाँझो भइसकेको भन्दै जति भोट दिए पनि उनीहरुले देश नबनाउने दाबी गरे । 

अध्यक्ष लिङदेनले भने, ‘अब बेला आयो, वैशाख ३० गते स्थानीय तहको निर्वाचन छ । अबको एक वर्षभित्र प्रदेश तथा प्रतिनिधिसभाको पनि निर्वाचन हुन्छ । हाम्रो हातमा शक्ति फर्केर आउँदैछ । यसको पूर्णरुपले सदुपयोग गरौँ । साँढेको टाँगमुनि बाल्टी थापेर दुध पाइँदैन । साँढेको टाँगमुनि बाल्टी लिएर गएर साँढेको दुध दिएन भनेर साँढेलाई सुम्सुम्याएर दुध दिन्छ र ? पिटे पनि दुध दिँदैन । किनभने साँढेको धर्म नै दुध दिने होइन । आज यी पार्टीहरु त्यही भए । यिनीहरुलाई जति भोट दिए पनि देश बनाउँदैनन् । यिनीहरुको दिमाग बाँझो भइसक्यो । अब त्यो उर्वरता आउनेवाला छैन् । अब हामीलाई पर्खने छुट र सुविधा छैन । आउने संसदीय चुनावमा मात्र होइन, एक पटक राष्ट्रिय प्रजातन्त्र पार्टीलाई काठमाडौं महानगरको नै जिम्मा दिएर हेर्नुहोस्, हामी आफूले जितेका स्थानीय तहमा काम गरेर यिनीहरुले देश पाए कस्तो देश बनाउने रहेछन् भन्ने हिसावले त्यहाँबाट काम गर्छौं ।’

उनले राप्रपालाई एक पटक सरकारको नेतृत्वको जिम्मा दिएर हेर्न पनि आग्रह गरे ।

Advertisement

Advertisement