पाउहीन, मात्राहीन, निःशब्द ओम्कार नै आत्मा हो

Advertisement

शिरीषवल्लभ प्रधान
ऊँ, जसलाई शब्द ब्रह्म पनि भनिन्छ, तीन अक्षरहरु अ, उ र म को संयुक्त स्वरुप हो । ओम् भित्र हामीले बोल्ने सबै प्रकारका स्वरहरु अटाउंछ । तसर्थ ओम् एक सम्पूर्ण अक्षर वा शब्द मानिन्छ । ओम्कारले आत्माको अन्तध्र्वनि नादलाई जनाउंछ । सूर्यबाट निरन्तररुपमा ओम्कार ध्वनि ब्रह्माण्डमा गुन्जिरहेको कुरा वैज्ञानिकहरुले स्वीकारेका छन् । भनिन्छ, सृष्टिको सुरुमा यो संसार अव्यक्तरुपमा थियो र त्यसको अभिव्यक्तिकरण नै ओम् स्वरुप हो । मौनताबाट पहिलो ध्वनि प्रकट भए जस्तै अव्यक्त अस्तित्वबाट व्यक्त विश्व प्रकट हुनु नै सृष्टि हो र त्यो प्रथम ध्वनि वा शब्द नै ओम् हो । तसर्थ ओम्कार सृष्टिको पहिलो ध्वनि मानिन्छ, जसलाई अक्षर ब्रह्म पनि भनिन्छ । अक्षरको अर्थ यहां कहिल्यै क्षय वा नाश नहुने भन्ने बुझिन्छ । यसले परमात्मालाई सांकेतिकरुपमा जनाउंछ ।

तैतेरीयोपनिषद्मा भनिएको पनि छ,
ओमिति ब्रह्म । ओमितीदँ सर्वम् (तैतेरीय २.८.१)। अर्थात्, ऊँ शब्द ब्रह्म हो, किनभने ऊँ सर्वरुप हो । यो समग्र अस्तित्व ऊँकारले व्याप्त छ ।

Advertisement

वेद अध्ययन गर्दा सबैभन्दा पहिला ऊँ उच्चारणबाटै सुरु गरिन्छ । त्यस्तै कुनै मन्त्र पढ्दा पनि ऊँ बाटै सुरु गरिन्छ । कुनै यज्ञकर्म गर्दा पनि ऊँ बाटै सुरु गरिन्छ । गुरुले शिष्यलाई वेद अध्ययन गराउंदा पनि ऊँ बाटै सुरु गर्दछ ।

त्यस्तै माण्डुक्योपनिषद्मा भनिएको छ,
ओमित्येतदक्षरमिदँसर्वं ।।१।।

अर्थात्, यो जे जति अस्तित्वमा छ, त्यो सबै ओम्कार नै हो । भूत, भविष्य र वर्तमान्मा जे जति छन् सबै ऊँ नै हो । त्यसबाहेक त्रिकालातीत जो छ, त्यो पनि ऊँ नै हो । ऊँ ले परब्रह् र अपरब्रह्म दुबैलाई जनाउंछ । यहां वाच्य अर्थात् ब्रह्मलाई वाचक (ओम्) ले जनाउने हुंदा ओम्कार पनि ब्रह्मस्वरुप नै मानिन्छ । ब्रह्मलाई प्राप्त गर्ने उपाय ऊँ वाचक हुनाले त्यसलाई पनि ब्रह्म नै मानिएको हो । 

त्यस्तै सो उपनिषद्मा भनिएको छ,
सो ऽयमात्माध्यक्षरमोङ्कारोधिमात्रं । पादा मात्रा मात्राश्च पादा अकार उकारो मकार इति ।।८।।

यो आत्मा अक्षरकोरुपमा ओम्कार नै हो । यो मात्राहरुलाई विषय गरेर स्थित छ । आत्माको पाउ नै मात्रा हो र मात्रा नै पाउ हो । ती मात्राहरु अकार, उकार र मकार हुन् । यहां चेतनाको तीन अवस्था मध्ये जागृतलाई प्रथम मात्रा अकारले, स्वप्नलाई दोश्रो मात्रा उकारले र सुषुप्तिलाई तेश्रो मात्रा मकारले जनाउंछ । 

ऊँकारलाई सृष्टि, स्थिति र प्रलय तीन अवस्थासंग तुलना गरिएको छ । जसरी सृष्टि पछि स्थिति आउंछ, स्थिति पछि प्रलय र त्यसपछि पुनः अर्को सृष्टिको क्रम सुरु हुन्छ । ओम् उच्चारण गर्दा अ, उ हुंदै मकारमा स्वर अन्त्य भएपछि त्यो मकार मौनतामा विलीन हुनपग्छ र एक छिन् सन्नाटा छाउंछ, त्यो खालिपन, निशब्द, वा अव्यक्तले ब्रह्मलाई जनाउंछ । म पछि पुनः अर्को नयां ओमकारको अ सुरु हुन्छ । उपनिषद्अनुसार अकार उकारमा प्रवेश गर्छ, उकार मकारमा प्रवेश गरी पुनः नयां अकार सुरु हुन्छ । ओम् को अन्तिम अक्षर मकार र नयां ओम्को पहिलो अक्षर अकार वीचको निशब्द अवस्थाले आत्माको चौथो अवस्था अर्थात् तुरीय अवस्था जनाउंछ । जसरी विश्व (जागृत) र तैजस (स्वप्न) प्राज्ञ (सुषुप्ति) मा लीन हुन्छ त्यसैगरी अकार र उकार मकारमा लीन भै पुनः अकारकारुपमा प्रकट हुन्छ, माण्डुक्य मा भनिएको छ । त्यस्तै, अकारले विराटलाई जनाउंछ भने उकारले हिरण्यगर्भ र मकारले ईश्वरलाई जनाउंछ ।

उपनिषद्का अनुसार, मकार पछिको जुन मात्राहीन ऊँकार छ, त्यसको कुनै गति हुंदैन, न शब्द नै हुन्छ । म को उच्चारण गरे पछि आउने निशब्दको स्थितिमा ध्वनि र गति दुबै नहुनाले त्यसलाई मात्राहीन ओमकार भनिएको हो । ओमकारको त्यो मात्रा र शब्दहीन अवस्था नै तुरीय अवस्था हो र त्यसलाई आत्माको चौथो  अवस्था भनिएकोछ ।  त्यो अव्यवहार्य, प्रपन्चहीन, शिव र अव्दैत छ । यसरी उपनिषद् अनुसार ऊँ कारले चार पाउ भएको आत्मालाई नै जनाउंछ ।

उपनिषदमा अन्त्यमा भनिएको छ,
जसले  यसप्रकार जान्दछ त्यो स्वतः आत्मामा प्रवेश गर्दछ ।
ओम्कार, जसलाई प्रणव पनि भनिन्छ, लाई परमात्मालाई प्राप्त गर्ने साधनको रुपमा लिइन्छ । 

मुण्डकोपनिषद्मा भनिएको छ,
उपनिषद्मा वर्णित प्रणव रुप महान् अस्त्र धनुषलाई लिएर त्यसलाई उपासनाव्दारा तीक्ष्ण पारिएको वाण राखी भावरुप चित्तव्दारा त्यस बाणलाई तानेर त्यस परम् अक्षर ब्रह्मलाई लक्ष मानेर वेध गर्नु (मुण्डक २.२.३) ।

त्यसैगरी भनिएको छ, ओम्कार नै धनुष हो, आत्मा नै वाण हो, परब्रह्म नै लक्ष हो । प्रमाद अर्थात् आलष्य रहित मनुष्य नै त्यसलाई वेध गर्न योग्य छ र त्यसलाई वेध गर्न बाण जस्तै तन्मय अर्थात् एकाग्र  हुनु जरुरी छ, उपनिषद्ले भन्छ । यसरी ओम्कार उपासनाव्दारा नै ब्रह्म अर्थात् परमात्मालाई प्राप्त गर्न सकिने कुरातर्फ त्यसले संकेत गरेको छ ।

त्यसैगरी प्रश्नोपनिषद्मा भनिएको छ, विवेकशील साधक केवल ओम्कार रुप अवलम्वनव्दारा त्यस परब्रह्मलाई प्राप्त गर्छ, जो परम्शान्त, अजर, मृत्यु रहित, भयरहित र सर्वश्रेष्ठ छ । ओमकारका तीनै मात्राको सम्यक प्रयोग गर्ने व्यक्ति अर्थात् जो जागृत, स्वप्न र सुषुप्ति तीनै अवस्थामा सम्यक रही चौथो अवस्थालाई प्राप्त गर्दछ, त्यस्तो व्यक्ति विचलित हुंदैन र उसले परम्शान्ति प्राप्त गर्दछ, उपनिषद्ले भन्छ ।

Advertisement

Advertisement