सम्झनाको ट्याक्सी चलाउँदाका सम्झनाहरू

Advertisement

सम्झना केसी (आले) ३१ लाई राम्रोसँग थाहा छ, हातमा सीप नहुने र खल्तीमा पैसा नहुनेको हालत के हुन्छ ? भन्ने कुरा । शहरको बसाई, भाडाको घर र आयभन्दा व्ययको ग्राफ बढेपछि मानिसको दिल दिमाग दुबै छटपटिन्छ । यस्तै भएथ्यो सम्झनालाई केही वर्षअघि । 

नख्खु दोबाटोमा किराना पसल गरेर गुजारा चलेको थियो उनको । बाबु आमा, तीन दिदीबहिनी र एक भाइको हातमुख जोर्ने मुख्य आधार त्यही पसल थियो । कक्षा १० पास गरेपछि सम्झनालाई लाग्यो, अब बा–आमालाई सघाउने बेला यही हो । उनले बासँग सल्लाह गरिन्ः ‘म गाडी चलाउन सिक्छु ।’

Advertisement

बाले सजिलै ‘हुन्छ’ भने । सिक्न पनि गाह्रो भएन । घर सल्लाह भयो र १० लाख रुपियाँ ऋण गरेर सम्झनाले ट्याक्सी किनिन् । हेर्दाहेर्दै सम्झना चालक भइन् । पहिलेभन्दा अहिले कमाई घटेको छ । सम्झनालाई थाहा छ, ट्याक्सी चढ्नेको आय घटेका कारण आफ्नो हिसावकिताव बिग्रिएको । दिनको एक हजार कमाई बालाई बुझाउँछिन् । बाँकी आफू लिन्छिन् । बिहान ७ बजे घरबाट निस्केर बेलुकी ८ बजेसम्ममा घर पुग्छिन् । नहुँदा पनि महिनाको ३५ हजार आय हुन्छ ।  

सम्झनालाई विवाह गर्ने रुचि थिएन । ट्याक्सी चलाएर दुई पैसा हातमा आएपछि त झन् उनले विवाहलाई प्राथमिकतामा राखेकै थिइनन् । तर नसोचेको भइदियो । चोभारका युवा सन्तोष केसी सम्झनाको हात माग्न आए । अन्तरजातीय मागी विवाह भयो । सम्झनाका श्रीमान अटो मेकानिक्स थिए । भन्छिन्, ‘मैंले १० कक्षा मात्र पढ्न सकें, श्रीमानले त १२ पास गर्नुभएको छ ।’

समझदार श्रीमान पाएकी छन् सम्झनाले । काम विशेषले घर पुग्न ढिला भयो भने एउटा एसएमएस पठाए पुग्छ । पैसा कति कमियो ? भनेर पनि प्रश्न गर्दैनन् । छ केही भने आफ्नै नाममा बैंकमा राख भन्छन् । श्रीमानको कमाइबारे पनि सम्झनाले चासो दिन्नन् । 

उनको पाँच जनाको परिवार छ । घर जाँदा प्रायः तरकारी या घरको आवश्यक सामान किनेर लैजान्छिन् सम्झना । उसो त घरमा खान पनि भ्याउँदिनन् । बिहानको खाजा खाएर निस्केपछि बास बस्न मात्रै चोभार पुग्ने हुन् । भन्छिन्, ‘बिहानको खाना नख्खु आमाकोमा खान्छु । साँझको खाना नखाएको त सात वर्ष भयो । उही भोजसोजमा मात्रै हो ।’

काठमाडौं खाल्डोमा अहिले १२ हजारभन्दा बढी ट्याक्सी गुड्छन् । महिला चालक चार,–पाँच जना होलान् । साँझ परेपछि सम्झनालाई आफ्ना यात्रुबाट चनाखो हुन मन लाग्छ । पुरुष यात्रुलाई त ट्याक्सी ‘बुक’ छ भन्दिन्छिन् । चिनेका महिलालाई मात्रै साँझको सेवा पाउँछन् । 

ट्याक्सीको मिटर समयमा रिन्यू (नवीकरण) नगरिदिने सरकारी कर्मचारी सम्झनालाई मनै पर्दैन् । धेरै वर्षको अन्तरालमा मिटर बढेको छ । तर त्यो समायोजन गर्न ८ महिनासम्म लाग्छ भन्ने कर्मचारीको रुखो बोली उनलाई बिझाइरहन्छ । यता यात्रुले मिटर बढे देखाउ भन्छन् । उता मिटरको काम त्यति ढिलो हुन्छ । मन नपर्ने अर्का मान्छे ट्राफिक प्रहरी हुन् । भन्छिन्, ‘गलत र सही नछुट्याई व्यवहार गरेको देख्दा ‘यी हामीलाई दुःख दिन हिंडेका हुन्’ जस्तो लाग्छ । 

Advertisement

Advertisement