पछिल्लो समय लोकप्रिय देखिएका बालेनलाई स्थापितद्धारा ‘फुच्चे’ र ‘अन्तर्राष्ट्रिय ठग’को संज्ञा
File Photo

Advertisement

काठमाडौं । काठमाडौं महानगरपालिकाको लागि नेकपा एमालेबाट मेयरका प्रत्यासी केशव स्थापितले पछिल्लो समय लोकप्रिय देखिएका मेयरका अर्का युवा उम्मेदवार बालेन शाहलाई आपत्तिजनक टिप्पणी गरेका छन् । 

राजधानीमा आइतबार आयोजित एक कार्यक्रममा स्थापितले बालेनलाई फुच्चे र अन्तर्राष्ट्रिय ठग भन्दै अराजनीतिक टिप्पणी गरेका हुन् । उनले ‘एउटा फुच्‍चे भन्‍ने बालेन शाह रहेछ, ऊ त अन्तर्राष्ट्रिय ठग रहेछ’ भन्दै आलोचना गरेका हुन् । यसअघि काठमाडौंको मेयर हुँदा महिला कर्मचारीमाथि यौन हिंसा गरेको आरोप खेप्दै आएका उनी पछिल्लो समय आक्रामक व्यवहार र विवादास्पद अभिव्यक्तिका कारण आलोचित बनेका छन् । 

Advertisement

सोही शैली कायम राख्दै स्थापितले बालेन शाहप्रति अराजनीतिक टिप्पणी गरेका हुन् । उनले बालेन शाहले आफ्नो जातीय पहिचान लुकाएको पनि बताए । स्थापितले भने, ‘‘म काठमाडौंमा जन्मेको, पहाडिया ठकुरी भन्छ क्या बालेन शाह । हिजो के कुरा खुल्यो भने ऊ त यहाँको शाह नै रहेनछ, मधेशतिरको शाह रहेछ । सुरुवातमै ठग कुरा गर्ने मान्छेको हालत के हुन्छ ? सुरुवातमै ठग क्या, दर्तावाल ठग । सबै काठमाडौंबासीलाई ठग्न पाइन्छ ? म मधेशको मान्छे भनेर आँट गरेर आउनुपर्दैन ?’ 

उनले बालेन शाहले जनतासँग आँखा जुधाएर हेर्न पनि नसकेको तर्क गर्दै जहिले पनि चश्मा नछोड्ने गरेको बताए । स्थापितले थपे, ‘जनतासँग आँखा जुधाएर हेर्ने तागत नै रहेनछ । युवाहरुसँग फेस टु फेस बसेर कुरा गर्नुपर्‍यो नि !’ बालेन शाह आफ्नो प्रतिस्पर्धी नभएको उनको तर्क छ । 

Advertisement

Advertisement