पाँच बर्ष त्यत्तिकै खेर फालेकाले कम्युनिष्टहरुसँग भोट माग्ने नैतिक आधार छैन्ः गगन

Advertisement

काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसका महामन्त्री गगन थापाले नेकपा (एमाले)का अध्यक्ष केपी ओलीलाई भोट माग्ने नैतिक आधार नै नरहेको दाबी गरेका छन् । प्रजातान्त्रिक विचार समाजले शुक्रबार गरेको कार्यक्रममा उनले गत ५ वर्षमा नेपाल कम्युनिष्ट पार्टीका विभिन्न घटकहरुले गरेको उपलब्धिको बारेमा जानकारी गराउनुपर्ने पनि बताए । 

थापाले २०७४ साल यताको ५ वर्ष कम्युनिष्टले सरकार चलाएको र यो समय खेर फालेको आरोपसमेत लगाए । उनले कम्युनिष्ट नेता र पार्टीहरुले खेर फालेको ५ वर्षको समयका लागि जनतासमक्ष माफी माग्नुपर्ने बताए । 

Advertisement

महामन्त्री थापाले कम्युनिष्ट पार्टीहरुले जनताले देश विकासका लागि जिताएर पठाएको भए पनि ५ वर्षको अवसर खेर फालेकोले त्यसको लागि जनतासमक्ष क्षमा याचना माग्नुपर्ने बताए । 

महामन्त्री थापाले भने, ‘‘२०७४ देखि २०७९ सालसम्म यो ५ वर्षसम्मको जिम्मा नेपाल कम्युनिष्ट पार्टीले पाएको हो । उसैले आज २०७९ सालको चुनाव गराउनु पर्दथ्यो । यो ५ वर्षमा उसले गरेको उपलब्धिको आधारमा चुनावमा जानुपर्दथ्यो । आज जुन मुद्दाहरुमा चुनाव लडिँदैछन् यी मुद्दाहरु यो चुनावमा हुनुपर्ने नै होइन । त्यसकारणले गर्दा यो ५ वर्ष खेर गयो भन्ने हाम्रो आफ्नो ठम्याइ पनि हो ।’ 

उनले थपे, ‘जनताको बीचमा पनि ५ वर्ष खेर फाल्नेले ५ वर्ष किन खेर फालेको भन्ने कुराको जवाफ जवाफ नदिकन, ५ वर्षको लागि माफी नमागीकन आज मञ्चमा उभिएर नेपाल कम्युनिष्ट पार्टीको नेता, नेपाल कम्युनिष्ट पार्टी भित्रका सबै घटकहरुले र मुलतः नेपाल कम्युनिष्ट पार्टी भित्रको नेकपा एमालेको आजको अध्यक्षले जसले जिम्मा लिनुभयो । ५ वर्षमा एकपटक जनताको बीचमा उभिएर मैले ५ वर्षको लागि म्याण्डेट पाएको थिएँ, मैले चलाउन सकिन, यसको लागि मलाई क्षमा देउ, मैले ५ वर्ष संसद चलाउन सकिन, मैले ५ वर्षको अवसरलाई प्रयोग गर्न सकिन भन्ने कुराको क्षमा एकपटक नमागिकन, माफीको याचना नगरीकन जनताको बीचमा एक किसिमले भन्दा मत माग्ने नैतिक आधार पनि छैन भन्ने नेपाली काँग्रेसको आफ्नो ठम्याइ हो ।’

थापाले अबको ५ वर्ष काँग्रेसले खेर फाल्न नचाहेको बताए । उनले विगतका ५ वर्षमा कम्युनिष्टहरुले खेर फालेको समयलाई काँग्रेसले त्यो क्षतिलाई पूरा गर्ने गरेर काम गर्ने दाबी गरे । 

थापाले यसपटकको स्थानीय निर्वाचनमा काँग्रेसबाट जित्ने सदस्यहरुले स्रोत, साधनको अपचलन नगर्ने दाबी गरे । उनले अबको ५ वर्ष विगतको ५ वर्ष भन्दा फरक रहने भन्दै उनले अब चुनाव जित्ने कांग्रेस कार्यकर्ताले कुनै पनि ठाउँमा विधि मिचेर मनलाग्दी पाराले स्रोत साधनको दुरुपयोग नगर्न आग्रह गर्दै नेपालको समृद्धि र समुन्नतिको बारेमा विभिन्न पार्टीपंक्तिबीच विस्तृत छलफल हुने बताए । 

Advertisement

Advertisement