काठमाडौंमा मेयरका अर्का प्रत्यासी ‘राइट टू रिजेक्ट’ र ‘राइट टू रिकल’ चाहियो भन्दै मैदानमा

Advertisement

काठमाडौं । काठमाडौं महानगरपालिकामा मेयरमा स्वागत नेपाल नेतृत्वको उन्नत लोकतन्त्र पार्टीबाट प्रेमसागर कर्माचार्यले ‘राइट टू रिजेक्ट’ र ‘राइट टू रिकल’को अवधारणा लिएर चुनावी प्रचारप्रसारमा लागेका छन् । 

शुक्रबार उनले पत्रकार सम्मेलन गरेर बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा विजयी गराउन काठमाडौंवासीसँग आग्रह गरे । रक्तदाता समाजका केन्द्रीय अध्यक्षसमेत रहेका कर्माचार्यले अन्य राजनीतिक पार्टीले घोषणापत्र जारी गरे पनि इमानदारको साथ आफूले समाधान पत्र जारी गरेको बताए । 

Advertisement

उनले समाधान पत्रमा भएको ३२ बुँदा अनुसार काम नगरे आफूलाई जुनसुकै समयमा कारबाही गर्न नगरवासीसँग आग्रह गरे । कर्मचार्यले आफ्नो प्रतिस्पर्धा कुनै दलका नेतासँग नभई महानगरवासीसँग भएको सुनाए । नगरवासीको हातमा नेतृत्व छान्ने अधिकार रहेको उनको भनाई थियो । 

कर्माचार्यले १६९ पटक रक्तदान गरेका छन् । उनले हाल लिइरहेको बहाल करमा ५० प्रतिशतसम्म छुट गर्ने, उपत्यकाभित्र सम्पूर्ण सार्वजनिक स्थलमका निःशुल्क वाईफाईको ब्यवस्था मिलाउने प्रतिवद्धता जाहेर गरेका छन् । 

कर्माचार्यले आगलागी नियन्त्रणको लागि भित्री शहरमा पाईप लाइन विस्तार गर्ने, फ्रि एम्बुलेन्स सेवाको व्यवस्था गर्ने, छुट्टै महानगरीय सार्वजनिक सवारीको व्यवस्था, ट्राफिक जामको यथोचित व्यवस्थापन गर्ने प्रतिवद्धता समेत समाधान पत्रमा उल्लेख गरेका छन् । 

उर्नले काठमाडौंको फोहोर व्यवस्थापन तीन तरिकाले गर्ने बताएका छन् । फोहोर व्यवस्थापनमा पहिला यसको वर्गीकरण गर्ने, दोस्रो ल्याण्डफिल्ड साइटलाई न्यूनीकरण गर्दै जाने र तेस्रो पुनर्प्रयोजनलाई व्यवस्थापन गर्ने कर्माचार्यको भनाई छ । महानगरका प्रत्येक बैठकलाई अनलाइनमा राख्ने पनि उनले बताए । 

महानगरलाई स्वस्थ्य बनाउन योग, ब्यायाम स्थल स्थापना गर्ने, पुर्जाबिहीन महानगरवासीलाई पुर्जा उपलब्ध गराउने, सामुदायिक विद्यालयको स्तरोन्नती गर्ने, दीर्घ रोगीहरुलाई घरघरमा स्वास्थ्य परीक्षणको व्यवस्था मिलाउने कर्मचार्यको पत्रमा उल्लेख छ । 

सो पार्टीका महासचिव कृष्ण प्रसाईंले पार्टीले लामो समयदेखि काठमाडौं महानगरपालिकाको नेतृत्व लिने व्यक्तिको खोजी गर्दै आएको र नेतृत्व लिनसक्ने क्षमता कर्माचार्यमा देखेर उम्मेदवार बनाएको बताए । 

Advertisement

Advertisement