माण्डुक्योपनिषद्ः निःशब्द ऊँकार उपासना नै परमात्मा प्राप्तिको उपाय हो

Advertisement

शिरीषवल्लभ प्रधान
अथर्वेद अन्तर्गतको माण्डुक्योपनिषद् केवल १२ श्लोक भएको अत्यन्त छोटो तर अति महत्वपूर्ण उपनिषद् हो । माण्डुक्यमा गौडपादाचार्यले लेखेका प्रसिध्द कारिका अत्यन्त उच्चस्तरको भाष्य मानिन्छ भने त्यसमा आदि शंकराचार्यले लेखेको भाष्य पनि उत्कृष्ट मानिन्छ । गौडपादाचार्य (शंकराचार्यका गुरु गोविन्दपादका पनि गुरु)ले लेखेको माण्डुक्य कारिका अव्दैत वेदान्तको जग मानिन्छ भने शंकराचार्यले भाष्य रचेर त्यसमाथि अति सुन्दर भवन निर्माण गरेका छन् । यस ग्रन्थमा चार प्रकरण छन्, जसमाथि गौडपादाचार्यले कुल २१५ कारिका श्लोकहरु रचेर त्यसको सुन्दर व्याख्या गरेका छन् ।

माण्डुक्यको प्रथम श्लोकमा ओम्को व्याख्या गर्दै भनिएको छ,

Advertisement

ओमित्येतदक्षरमिदँ सर्वं तस्योपव्याख्यानं भूतं भवद्भविष्यदिति सर्वमोंकार एव । यच्चान्यत्त्रिकालातीतं तदप्योंकार एव ।।१

अर्थात्,
यो ऊँ अक्षर नै सबथोक हो । यो जो भूत, भविष्यत् र वर्तमान् छ, त्यसैको व्याख्या हो, त्यसैले यो सबै ओम्कार नै हो । यसबाहेक जो अन्य त्रिकालातीत बस्तु छ, त्यो पनि ओम्कार नै हो ।

ऊँ तीन अक्षर मिलेर बनेको हुन्छः अ, उ र म । ती तीन अक्षरले क्रमशः भूत, वर्तमान् र भविष्यत्काल जनाउँछ भने त्यही ओम्ले त्रिकालातीत परब्रह्म, जो आफ्नो कार्यव्दारा मात्र जान्नमा आउंछ, त्यसलाई पनि जनाउँछ । 

अर्थात् ओम्ले अपर ब्रह्म र परब्रह्म दुबैलाई जनाउँछ । 
माण्डुक्यका अनुसार ओम्कारका तीन मात्रा अ, उ र मले स्थूल, सूक्ष्म र कारण शरीर तथा तिनका अधिष्ठाता विश्व, तैजस र प्राज्ञ (भौतिक विश्व, सूक्ष्म जगत र बीज स्वरुप) जनाउँछ । त्यसैगरी, ती तीन अवस्थालाई तिनका समष्टिगत अभिमानी देवता क्रमशः विराटपुरुष, हिरयण्यगर्भ र ईश्वरकासाथ अभेद जनाइएको छ । तिनको अभिव्यक्ति का अवस्थाहरु क्रमसः जागृत, स्वप्न र सुषुप्ति हुन् भने तिनको भोग्य पदार्थ स्थुल जगत, सूक्ष्मविश्व र आनन्द हुन् । त्यसैगरी, भनिएको छ जागृत अवस्थामा जीवात्मा दक्षिण नेत्रमा, स्वप्नावस्थामा कण्ठमा र सुषुप्ति हृदयमा रहन्छन् । 

उपनिषद्ले भन्छ, आत्माको अवस्था चौथो अवस्था हो, जुन अमात्राले जनाइन्छ, र जसलाई तीनै अवस्थाको साक्षी भनेर चिनिन्छ । आत्माको अवस्था तुरीय हो, जुन नित्य, शुध्द, मुक्त, ज्ञानस्वरुप,सर्वात्मा र सर्वसाक्षी स्वरुप मानिन्छ । जब जीव अनादि मायाको कारण सुतिरहेको अवस्थाबाट जाग्छ, त्यसबखत उसलाई यस अजन्मा तथा स्वप्न र निद्रा रहित अव्दैततत्व बोध हुन्छ । यसबारे गौडपादाचार्य कारिकामा भन्छन्ः

अनादि मायया सुप्तो यदा जीवः प्रबुध्यते ।
अजमनिद्रमस्वप्नमव्दैतं बुध्यते तदा ।।१.१६।।

यहाँ अनादि मायाको कारण सुतेका जीव जाग्नुको अर्थ हो, ज्ञानको उदय भै अज, अनिद्र र स्वप्न रहित अव्दैत आत्मतत्व बोध हुनु ।

गौडपादाचार्यका अनुसार जगतको प्रपन्चको प्रतीति हुनु मायाकै कारणले गर्दा हो । 
उपनिषद्ले भन्छः
जागरितस्थानो बहिष्प्रज्ञ... (३)

अर्थात्, चेतनाका तीन सामान्य अवस्थाहरुमध्ये जागृत अवस्था बहिःप्रज्ञ (बाहिरी विषयहरुलाई प्रकाशित गर्ने) हो । अकारव्दारा जनाइने यो स्थुल विश्वसंग सम्बध्द छ । यो आत्माको प्रथम पाउ हो ।

त्यस्तै अर्को श्लोकमा भनिएको छः
स्वप्नस्थानोऽन्तःप्रज्ञः...... (४)

अर्थात्, स्वप्न जसको स्थान मानिन्छ, त्यो अन्तःप्रज्ञ हो । उकारव्दारा जनाइने यसले सूक्ष्म विश्वलाई ग्रहण गर्छ र यो आत्माको दोश्रो पाउ हो ।

त्यस्तै अर्को श्लोकमा भनिएको छः
सुषुप्तस्थान एकीभूतः प्रज्ञानघन..... (५)

अर्थात्, सुषुप्ति जसको स्थान हो, त्यो एकीभूत प्रकृष्ट ज्ञानस्वरुपलाई प्रज्ञानघन भनिन्छ । सुतेका मानिस न सपना देख्दछ, न कुनै कुराको इच्छा राख्दछ । यो आत्माको तेश्रो पाउ हो । यो अवस्थामा पुरुष आनन्दको अनुभव गर्छ, तर त्यस अवस्थामा चेतना सुषुप्त हुनाले त्यसको अनुभव तत्काल हुँदैन । मन निष्क्रिय हुनाले यस अवस्थामा जीवलाई दुःखको अभाव हुन्छ यस अवस्थामा । यस अवस्थामा चेतना बीजावस्थामा रहन्छ ।

माण्डुक्य को निम्न श्लोक अत्यन्त महत्वपूर्ण छ, जसमा आत्मालाई जनाउने तुरीय अवस्थाबारे वर्णन छः

नान्तः प्रज्ञं न बहिष्प्रज्ञं नोभयतः प्रज्ञं न प्रज्ञानघनं न प्रज्ञं नाप्रज्ञम् । अदृष्टमव्यवहार्यमग्राह्यमलक्षणमचिन्त्यमव्यपदेश्यमेकात्मप्रत्ययसारं प्रपंचोपशमं शान्तं शिवमव्दैतं चतुर्थं मन्यन्ते स आत्मा स विज्ञेयः ।।७।।

आत्माको चौथो अर्थात् तुरीय अवस्था न अन्तःप्रज्ञ (तैजस) हो, न बहिष्प्रज्ञ (विश्व) हो, न उभयतः (अन्तर्बहि) प्रज्ञ, न प्रज्ञानघन, न प्रज्ञ, र न अप्रज्ञ हो।  त्यो त व्यवहारमा नआउने, देख्न नसकिने, ग्रहण गर्न नसक्ने, पकडमा नआउने, अलक्षण, चिन्तन गर्न नसकिने, एकरुप, प्रपन्चहरुभन्दा भिन्न, शान्त, शिव र अव्दैत हो, र त्यही जान्न योग्य बस्तु हो ।

यहाँ अन्तःप्रज्ञ हैन भनेर स्वप्न अवस्थाको निषेध गरिएको छ, बहिष्प्रज्ञ हैन भनेर जागृत अवस्थाको निषेध गरिएको छ । त्यस्तै प्रज्ञानघन हैन भनी सुषुप्तिको निषेध गर्न खोजिएको छ । सुषुप्ति चेतनाको बीजभाव हो र अविवेकस्वरुपा हो । प्रज्ञ हैन भनी एकसाथ सबै विषयहरुको ज्ञातृत्वलाई निषेध गर्न खोजिएको छ र अप्रज्ञ हैन भनी अचेतन अवस्थाको निषेध गर्न खोजिएको छ । यसरी यस श्लोकले चेतनाका ६ वटै अवस्थाहरुलाई निषेध गरेको देखिन्छः स्वप्न, जागृत, ती दुईको वीच, सुषुप्ति, तीनै अवस्थाको संयुक्त रुप र अचेतन अवस्था । उपनिषद्ले यसरी आत्मालाई स्वप्न, जागृत र सुषुप्ति तीनै अवस्थामा अवच्छिन्नरुपमा उपस्थित हुने शुध्द चेतना, जुन तीनै अवस्थाको साक्षी हो, त्यसरुपमा चित्रण गर्न खोजेको छ ।

उपनिषद्को अन्तिम श्लोकमा आत्माको अवस्थालाई अरु स्पष्टपार्दै भनिएको छः

अमात्रश्चतुर्थोऽव्यवहार्यः प्रपन्चोपशमः शिवोऽव्दैत एवमोंकार आत्मैव संविशत्यात्मनात्मानं य एवं वेद ।।१२।।

मात्रा विहीन शिव र अव्दैत छ। यसरी उपषिद्ले भन्छ, ओंकार नै आत्मा हो । जसले यसरी जान्यो त्यो स्वतः आफ्नो आत्मामा नै प्रवेश गर्दछ।

यसबारे गौडपादाचार्य कारिका मा लेख्छन्ः
प्रणव (ओम्कार) नै सबैको हृदयमा स्थित ईश्वर हो । यसरी सर्वव्यापी ईश्वरलाई जानेर बुध्दिमान् मानिस शोक गर्दैन । 

(कारिका १.२८) किनकि श्रुतिले भनेको पनि छ, आत्मालाई जान्ने विव्दान्ले शोकलाई पार गर्दछ ।

त्यसैगरी अर्को श्लोकमा भनिएको छ, जसले मात्राहीन, अनन्त मात्रा भएका, व्दैतभन्दा पर रहेको र मंगलमय ओम्कारलाई जान्दछ, त्यही मुनि हो, अरु हैन् । यसरी ओम्कारको अ, उ र म पछिको जुन निशब्द, मौन, मात्रा रहित अवस्था छ, त्यसमा रमाउने व्यक्ति नै वास्तवमा ईश्व साक्षात्कार गर्न सक्षम हुन्छ भन्ने यसको आसय हो । यहाँ अमात्र, निःशब्द र मौनले निराकार ईश्वरलाई नै जनाउँछ र वास्तवमा परमात्माको उपासना वा ध्यान भनेको निराकार, निर्गुण, उपाधिरहित ब्रह्म कै ध्यान वा उपासना हो भन्ने यसबाट बुझिन्छ ।

Advertisement

Advertisement