राजाले नेपाललाई गरिव बनाएर राखेको ओलीको तर्क, ‘कांग्रेसका कारण दश बर्षे सशस्त्र द्धन्द्ध’

Advertisement

काठमाडौँ — नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेपालीलाई राणा र राजाहरुले गरिव बनाएर राखेको आरोप लगाएका छन् । आइतबार आयोजित एमालेको पत्रकार सम्मेलनमा उनले माओवादीका नाममा भएको दश बर्षे सशस्त्र द्धन्द्धको कारण नेपाली कांग्रेस भएको दावी गरे । 

ओलीले भने, ‘राणा, राजा र कांग्रेसको सरकारले देशको विकास र जनताको सुख सुविधाका लागि कुनै योजना बनाएन । सरकार कहिल्यै आधुनिकता र उत्कृष्टतातर्फ केन्द्रीत रहेन् ।’ कांग्रेसले राणा र राजासँग सहकार्य गरेको तर आफूहरुसँग सहकार्य गर्न नचाहेको भन्दै कांग्रेसकै नीतिका कारण सशस्त्र द्धन्द्धका लागि मार्ग प्रशस्त भएको जिकिर गरे । पछिल्लो समय राजसंस्थाको पक्षमा जनमत बढ्दै गएको बेला ओलीले उक्त संस्थामाथि आरोपित गरेका हुन् । 

Advertisement

कांग्रेसले संसदीय मूल्य र मान्यतालाई कुल्चिएको आरोप लगाउँदै ओलीले कांग्रेसले संसद्लाई बन्धक बनाउँदै स्वतन्त्र न्यायपालिकामाथि आघात पुर्याएको र उसको षड्यन्त्रले चरम उत्कर्षको रूप लिएको बताए । 

नेपालको सार्वभौमसत्ता र अखण्डतालाई अक्षुण राख्नका लागि एमाले स्थापनाकालदेखि नै प्रतिबद्ध रहेको उनको जिकिर छ । ओलीले भने, ‘कांग्रेसले सुशासन र विकासको मार्गमा तीव्र रूपले अघि बढिरहेको देशलाई व्यवधान खडा गरेर यथास्थितिमा राख्न, पछाडि फर्काउनका लागि राष्ट्रियता, लोकतन्त्र र जनताप्रतिको कर्तव्यवोधमा कमजोर रहेका तत्वहरूलाई खोज्ने र त्यस्ताको साथ सहयोग लिएर देशहितका सन्दर्भमा उल्टो बाटो समात्ने काम गर्‍यो ।’

कांग्रेसले संसदीय मूल्य र मान्यतालाई नै कुल्चिएको उनको भनाई छ । कांग्रेसले राजनीतिक दलको आधारभूत मर्ममाथि प्रहार गरेको बताउँदै ओलीले कांग्रेसले संसद्लाई बन्धक बनाएको र स्वतन्त्र न्यायपालिकामाथि आघात पुर्याएको बताए । 

संसद् विघटनको विकल्प आफूहरूसँग नरहेको उल्लेख गर्दै उनले भने, ‘संविधानको रक्षा गर्न जनाधिकारको संरक्षण गर्न र देशलाई थप षड्यन्त्रको चक्रव्यूहबाट जोगाउन लोकतन्त्रप्रति प्रतिबद्ध रहेको नेकपा एमाले सरकारका सामु अन्य विकल्प थिएन । फलस्वरुप जनादेशका लागि जनतामा जाने निष्कर्षमा हामी पुग्यौँ । तर अदालतको परमादेशले सरकार बदलियो । सार्वभौम नेपाली जनताको आफ्नो सरकार निर्माण गर्ने संवैधानिक अधिकारमाथि कुठाराघात भयो ।’

ओलीले सत्तारुढ पाँच दलीय गठबन्धनलाई आगामी ३० वैशाखमा ठूलो खड्को रहेको र अर्को खड्को असार १७ गते रहेको ज्योतिषिहरुले बताएको बताए । आफूलाई राजनीतिक र ग्रहदशा हेर्ने दुवै थरी ज्योतिषीले भनेको भन्दै उनले गठबन्धनभित्र ठूलो संकट आउन लागेको दाबी गरे । 

ओलीले भने, ‘ज्योतिषीहरूको भनाइमा गठबन्धनका लागि सबभन्दा ठूलो खड्गो त यही वैशाख ३० नै हो । यसैमा गठबन्धनलाई साह्रै ठूलो मर्का पर्नेवाला छ । कस्तो दिन छानेर उहाँहरूले राख्नु भएछ ? यो वैशाख ३० मा त उहाँहरूलाई हुनसम्म हुन्छ क्या ! ढाडै भाँचिने गरी ।’

उनले आफूले भनेको कुरामा विश्वास नभएर प्रधानमन्त्री शेरबहादुर देउवाका ज्योतिषीलाई बोलाएर सोध्न चुनौती दिए । ओलीले थपे, ‘मैले ज्योतिषीहरूको कुरा भनेको । एउटा ग्रहदशा हेर्ने र अर्को राजनीति हेर्ने ज्योतिषी हुन्छन् । अहिलेचाहिं दुवै प्रकारका ज्योतिषीहरू गठबन्धनका अगाडि महासंकट उत्पन्न हुँदैछ भन्छन् । होइन भने प्रधानमन्त्रीज्यूले ठयाक्कै(ठयाक्कै मिलाउने उहाँको आफ्नै ज्योतिषीलाई बोलाएर सोध्नु भए हुन्छ । मैले त्यही भनेको छु ।’

Advertisement

Advertisement