२०४६ पछि कांग्रेसले २७ बर्ष शासन गर्यो भन्ने ओलीको दावी गलत छ, २१ बर्ष मात्रै होः महत

Advertisement

काठमाडौं । नेपाली कांग्रेसले चितवनको चुनावी सभामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मतदातालाई नधम्क्याएको बरु नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफूहरुलाई निम्नस्तरको गालीगलौज गरेको तर्क गरेको छ । 

सोमबार आयोजित पत्रकार सम्मेलनमा कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले प्रचण्डको प्रतिरक्षा र ओलीको आलोचना गरेका हुन् । कांग्रेसले 
आफ्नो घोषणापत्रबारे नेकपा एमालेले गरेको अपिलको प्रतिवाद गर्दै ओलीले आइतबार प्रस्तुत गरेको विषय  मिथ्या भएको बताएको छ । 

Advertisement

एमालेले अपिल जारी गर्दै कांग्रेसको घोषणापत्रको खण्डन गरेका थियो । त्यस क्रममा ओलीले कांग्रेसको चर्को आलोचना पनि गरेका थिए । पत्रकार सम्मेलनमा महतले भने, ‘स्थानीय जनताका आवश्कता र इच्छालाई पूरा गर्ने यो संकल्पमा निहित नीति र कार्यक्रम आउनासाथ प्रतिस्पर्धी राजनीतिक दल नेकपा एमालेका अध्यक्ष केपी ओली निकै उत्तेजित र आक्रोशित भएर हामीप्रति निकै निम्नस्तरको गाली गलौजमा उत्रिनुभयो ।’ 

कांग्रेसले २०७४ को स्थानीय चुनावबाट निर्वाचित आफ्ना पार्टीका जनप्रतिनिधिले उत्कृष्ट काम गरेको जिकिर गर्दै उनले थपे, ‘उत्कृष्ट १० मध्ये ६ वटा नेपाली कांग्रेसका प्रतिनिधिहरुले नेतृत्व गरेका पालिका परेको देखिएको छ । कमजोर १० मा आधा नेकपा एमालेबाट निर्वाचित प्रतिनिधिले नेतृत्व गरेका पालिकाहरु परेका छन् ।’ 

गरिबीको दर पनि कांग्रेस सरकारको नेतृत्वमा हुँदा उल्लेखनीय घटेको आंकडा प्रस्तुत गर्दै महतले २०४८ सालमा सत्ताको बागडोर सम्हाल्दा नेपालमा गरिबी झण्डै ४९ प्रतिशत रहेकोमा त्यसलाई १७.५ प्रतिशत पुर्याएको दावी गरे । 

उनले भने, ‘१७.५ प्रतिशतमा झरेको गरिबीलाई २२ प्रतिशतमा कसले पुर्‍यायो ?’ कोभिड संक्रमणको बेला तत्कालिन ओली सरकारले जनताको समस्या बेवास्ता गर्दा गरिबी बढेको हो ।’

प्रजातन्त्र स्थापना पछिका ३२ बर्षमा नेपाली कांग्रेसले २७ बर्ष शासन गरेको ओलीको खण्डन गर्दै महतले भने, ‘आफ्नै नेतृत्व (नेपाली कांग्रेसले १६ बर्ष ६ महिना) र विभिन्न गठबन्धनमा रहेर कूल २१ बर्ष सत्ता सम्हालेको छ । नेकपा एमाले १४ पटक सरकारमा पुगेको छ ।’ एमालेले एकल अल्पमतको सरकारसहित ५ पटक सरकारको नेतृत्व सम्हादै आफ्नै नेतृत्वमा ७ बर्ष र संयुक्त सरकार समेत गरी १६ वर्ष राज्य सञ्चालन गरेको छ ।’

आफूहरुले बहुदल आएदेखि हालसम्म सुधारका काम मात्रै गरेको जिकिर गर्दै उनले सडकको ‘व्यापक विस्तार’ कांग्रेसकै कारणले सफल भएको, २०४८ सालमा देशमा यातायात चल्ने सडक जम्मा सात हजार ३३० किमी र यसमा कालोपत्रे दुई हजार ९५८ किमी र ग्राभेल एक हजार ६६५ किमी तथा कच्ची सडक २,७१४ किमी मात्रै रहेको बताए । 

महतले थपे, ‘२०७६–७७ मा आइपुग्दा कालोपत्रे सडक १५ हजार ४१४ किमी, ग्राभेल आठ हजार ६२२ किमी, कच्ची सडक नौ हजार १९८ किमी निर्माण भएको थियो । यो सबै नेपाली कांग्रेसले सडक पूर्वाधारमा बढाएको ब्यापक लगानीको परिणाम हो ।’

पूर्ववर्ती एमाले सरकारले मूलुकलाई आर्थिक ऋणमा डुबाउने प्रयत्न गरेको आरोप गलाउँदै उनले मूलुक श्रीलंकाको बाटोमा जाने जोखिमबाट जोगाउने कार्य कांग्रेसबाट सम्भव भएको दाबी गरे । 

ओली सरकारको समयमा छिमेकी मित्रराष्ट्रसँगको सम्बन्ध असन्तुलित बनेको, तर अहिले नेपालले अन्तर्राष्ट्रिय क्षेत्रमा गुमाउदै गएको साखः पुनस्थापित गरेको बताउँदै नेता महतले तर संसदलाई बन्धक बनाउने कार्य एमालेबाट भएको बताए । 

उनले दोष आफूहरुलाई नथोपर्न चेतावनी दिँदै कांग्रेसले संसद कहिले पनि बन्धक नबनाएको बताए । विगतमा पनि ५८ दिन संसद अवरोध एमालेले गरेको उनले स्मरण गराए । 
ओली सरकार संघीयता विरोधी रहेको महतको आरोप छ ।

Advertisement

Advertisement