छ वटै महानगरपालिकामा एमाले नेतृत्वविहीन हुनसक्ने संकेत

Advertisement

काठमाडौं । संसद र स्थानीय तहमा सबैभन्दा ठूलो दलको रुपमा रहेको नेकपा एमाले अहिलेको स्थानीय निर्वाचनबाट छ वटै महानगरपालिकामा नेतृत्वविहीन हुनसक्ने प्रारम्भिक संकेत देखिएको छ । 

वटै महानगरपालिकामा मतगणना प्रारम्भिक चरणमा रहेकाले परिणाम यस्तै हुन्छ भन्नसक्ने अवस्था नरहे पनि पूर्वसंकेत भने एमालेलाई राम्रो देखिन्न । यसअघि राजधानी काठमाडौंको महानगरपालिकासहित दुई वटा महानगरपालिकामा जित हासिल गरेको एमालेलाई अहिले भने पार्टी विभाजनको चोट सहनुपर्ने देखिएको छ । 

Advertisement

उसले अहिलेसम्म कुनै पनि महानगरपालिकामा अग्रता लिन सकेको छैन् । सबैको चासो रहेको काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवार बालेन शाह ठूला दलहरूलाई उछिन्दै अगाडि बढिरहेका छन् भने एमालेका केशव स्थापित र कांग्रेसकी सिर्जना सिंहको दोस्रो र तेस्रो स्थानमा छन् । काठमाडौं उसको लागि प्रतिष्ठाको विषय पनि बन्दै आएको छ । उपमेयरमा एमालेकी सुनिता डंगोलले जित्ने लक्षण देखिए पनि मेयरमा भने अवस्था कठिन बन्दै जाने देखिएको छ । 

यस्तै एमालेले यसअघि जितेको पोखरा महानगरपालिकामा उसले प्रारम्भिक मतगणनामा अग्रता लिन सकेको छैन् । एमालेलाई सत्ताधारी दलहरुको पाँच दलीय गठबन्धनसँग प्रतिस्पर्धा गर्न मुस्किल भएको छ । तर पोखरामा गठवन्धनबाट एकीकृत समाजवादीले मेयरमा उम्मेदवारी दिएकाले यहाँको परिणाम एमालेको पक्षमा नजाला भन्न सकिन्न । 

पोखरामा तीन हजार मत गणना हुँदा एकीकृत समाजवादीका मेयरका उम्मेदवारले एक हजार १२१ र एमालेका उम्मेदवारले एक हजार ४० मत ल्याएका छन् ।

सबैको चासोको केन्द्र बनेको भरतपुरमा पनि एमाले र सत्ता गठवन्धनबाट उम्मेदवारी दिएकी माओवादी केन्द्रकी मेयरका उम्मेदपारबीच कडा प्रतिस्पर्धा चलिरहेको छ । अहिलेसम्म हेर्दा माओवादी केन्द्रकी रेणु दाहालको झिनो अग्रता देखिन्छ । तर पनि यो महानगरपालिकामा रेणुलाई जिताउन सत्ता गठवन्धन निकै जोडबल गर्दै आएकाले कुनै पनि उपाय अपनाएर एमालेका उम्मेदवारलाई पराजित गरेरै छाड्ने धेरैको अनुमान छ । उक्त महानगरपालिकामा यसअघि पनि एमाले र माओवादीबीच कडा प्रतिस्पर्धा भइरहँदा अन्तिममा माओवादी केन्द्रका कार्यकर्ताले मतपत्र चपाएर निकालेका थिए । त्यसपछि पुनः मतदान हुँदा माओवादी केन्द्रकी उम्मेदवारले जितेको घोषणा गरिएको थियो । 

नेपाली कांग्रेसको गढको रुपमा चिनिएको विराटनगर महानगरपालिकामा पनि गठबन्धन उम्मेदवारले लिड गरिरहेका छन् । यस महानगरमा सत्ता गठबन्धनका उम्मेदवारको रुपमा रहेका कांग्रेसका नागेश कोइरालाले  मतान्तर बढाउँदै लगेका छन् । यसअघि पनि विराटनगरमा कांग्रेसले जित हासिल गरेको थियो ।

वीरगञ्ज महानगरपालिकामा भने एमालेको रणनीति फेल खाने देखिएको छ । यसअघि मेयर रहेका विजय  सरावगीलाई पार्टीमा भित्राएर पुनः उम्मेदवारी दिएको एमालेले अपेक्षा गरेजस्तो नजिता नपाउने देखिएको छ । 

सत्ता गठवनधनबाट उठेका जनता समाजवादी पार्टीका राजेशमान सिंह सरावगीलाई निकै पछाडि धकेलेका छन् । सरावगी यसअघि जनता समाजवादीबाटै मेयर भए पनि पछि एमाले छिरेका थिए । 

अर्को, ललितपुर महानगरपालिकामा कांग्रेस उम्मेदवार चिरिबाबु महर्जन एमालेका हरिकृष्ण व्यञ्जनकारभन्दा दोब्बर मतले अगाडि छन् । यसअघि पनि मेयर जितेका चिरिबाबुको ललितपुरमा पकड राम्रो रहेकाले हरिकृष्णलाई चुनाव जित्न चुनौति हुने देखिएको छ । यद्यपि हरिकृष्णले अझै पनि आफू जित्ने कुरामा विश्वस्त देखिन्छन् । 

मेयरमा एमालेलार्इृ कठिन देखिए पनि उपमेयरमा भने अधिकांशमा एमालेकै उम्मेदवारहरुको अग्रता देखिन्छ । यसबाट एमालेले मेयरका उम्मेदवारहरु छनौट गर्न अध्ययन नगरेको विश्लेषण गर्न सकिन्छ । हालसम्म एमालेका उपमेयर तीन वटा महानगरपालिकामा अगाडि छन् ।चितवन र वीरगञ्ज भने उसले अन्य पार्टीलाई छाडेको थियो । 

प्रारम्भिक नजिता हेर्दा काठमाडौं, ललितपुर र विराटनगरमा एमालेले उपमेयर जित्नसक्ने अडकल गर्न सकिँन्छ । 

Advertisement

Advertisement