‘स्थानीय निर्वाचनमा कांग्रेस–माओवादीले सेटिङ गरेर लाभ लिए, गठवन्धन असफल भयो’

Advertisement

काठमाडौँ । जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईले सत्तारुढ नेपाली कांग्रेस र माओवादी केन्द्रले स्थानीय निर्वाचनमा सेटिङ गरेर लाभ लिएको बताएका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकपछि बोल्दै उनले आफू विगतदेखि नै गठबन्धनको विपक्षमा रहेको बताए । भट्टराईले स्थानीय निर्वाचनमा गरिएको गठबन्धन सफल नभएको बताए ।

गठबन्धनभित्र जुन सिद्धान्त अपनाइएको थियो, त्यसको पालना कसैले नगरेको उनको भनाइ थियो । भट्टराईले भने, ‘गठबन्धनको विषयमा त मेरो पहिलेदेखि नै फरक धारणा थियो, यो स्थानीय मुद्दाहरु, स्थानीय जनतालाई पार्टी नेताहरुलाई थाहा हुन्छ । केन्द्रबाट नै गरेर टुंगो लाग्ने विषय यो होइन  । त्यसैले हामीले जुन अलिकति अभ्यास गर्न खोजियो त्यो सफल भएन । केही दलहरुलाई खासगरी कांग्रेस र माओवादीलाई उहाँहरुले अलिकति सेटिङ गर्नुभयो केही लाभ भयो । तर त्यो पनि उहाँहरु आपसमा तल मिलेजस्तो देखिएन । जे सिद्धान्त अपनाइएको थियो, त्यो कसैले पनि पालना गरेन । त्यस अर्थमा पनि स्थानीय चुनावमा गठबन्धन गर्नु उपयुक्त छैन भन्ने मेरो राय हो त्यसमा म अहिले पनि दृढ छु ।’

Advertisement

जनता समाजवादी पार्टी अहिलेसम्मको नतिजाअनुसार ३ ठाउँमा विजयी भएको छ भने ३१ पालिकामा अगाडि रहेको छ । जसपाले अहिलेसम्म ओखलढुंगाको खिजिदेम्बा, धनुषाको जनकनन्दिनी र बाराको करैयामाईमा प्रमुख पद जितेको छ । भट्टराईको गृहनगर पालुङटारमा जसपाले एमालेसँग तालमेल गरेको थियो । जसपाले मेयर पद लिएर एमालेले उपमेयर लिने सहमति भएको थियो । अहिलेसम्मको नतिजाअनुसार पालुङटारमा नेकपा माओवादीका विवश चिन्तन र वन्दना पाण्डे मेयर उपमेयरमा अगाडि रहेका छन् ।

Advertisement

Advertisement