तिब्बती मुद्दाका लागि अमेरिकी विदेश संयोजक नेपालमा, प्रधानमन्त्रीसँग भेट हुन्छः परराष्ट्र

Advertisement

काठमाडौं । अमेरिकी नागरिक सुरक्षा, प्रजातन्त्र र मानव अधिकार उपमन्त्री तथा तिब्बती मुद्दाका लागि अमेरिकी विदेश संयोजक उज्रा जिया नेपाल भ्रमणमा आएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । 

शुक्रवार मन्त्रालयले पत्रकार सम्मेलन गर्दै अमेरिकी विदेश उपमन्त्रीको यो भ्रमण अमेरिकी अधिकारीहरुको एक दशकपछिकै उच्चस्तरीय भ्रमण भएको बताएको छ । 

Advertisement

विदेश उपमन्त्री जिया भारतको नयाँ दिल्ली हुँदै शुक्रबार अपरान्ह नेपाल आएको मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले बताइन् । उनले तीन दिने नेपाल भ्रमणमा अमेरिकी विदेश उपमन्त्री जियाले प्रधानमन्त्री, परराष्ट्रमन्त्री लगायतका उच्च पदस्थ व्यक्तित्वहरुसँग भेट गर्ने कार्यतालिका रहेको बताइन्  । 

भेटमा दिव्पक्षीय सम्बन्धका विभिन्न आयाममा कुराकानी हुने प्रवक्ता लम्सालले बताइन् । उनले भनिन्, ‘आज मात्रै अमेरिकी विदेश विभागका नागरिक सुरक्षा, लोकतन्त्र र मानव अधिकार विषय हेर्ने उपमन्त्री उज्रा जिया आज अपरान्ह नेपाल भ्रमणमा आउनुभएको छ । उहाँ तीन दिने भ्रमणका क्रममा नेपाल आउनुभएको हो । प्रधानमन्त्री, परराष्ट्रमन्त्री लगायतका उच्च पदस्थ व्यक्तित्वहरुसँग भेट गर्नुहुनेछ । उहाँले दिव्पक्षीय सम्बन्धका विभिन्न आयाममा कुराकानी हुनेछ ।’

प्रवक्ता लम्सालले जेठ २ गते नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच दिव्पक्षीय वार्ता सम्पन्न भएको बताइन् । उनले वार्तामा नेपाल–भारत सांस्कृतिक सम्बन्ध, शैक्षिक तथा प्राज्ञिक सम्बन्ध, नेपालको विकास निर्माणमा भारतको सहयोग, हवाई सेवा, व्यापार तथा वाणिज्य सम्बन्धका साथै उर्जा क्षेत्रमा विकास र लगानीका महत्वपूर्ण छलफल भएको पनि जानकारी दिइन् । 

लम्सालले भारत नेपालबीच सो अवसरमा ६ वटा समझदारी पत्रमा हस्ताक्षर भएको बताइन् । लुम्बिनी भ्रमणका क्रममा पवित्र मायादेवी मन्दिरमा पूजा, अर्चना गर्नुका साथै लुम्बिनी गुम्बा परिषद्मा इण्डियन इन्टरनेशनल सेक्टर फर बुद्धिष्ट कल्चर एण्ड हेरिटेजको निर्माणका लागि संयुक्त रुपमा शिलान्यास र लुम्बिनी विकास कोषद्वारा आयोजित २५६६ औँ बुद्ध जयन्ती तथा लुम्बिनी दिवस समारोहलाई दुवै प्रधानमन्त्रीले सम्बोधन गरेका थिए । 

लम्सालले थपिन, ‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हालसालै सम्पन्न उच्चस्तरीय भिजिट सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाजीको निमन्त्रणामा भयो । उक्त भ्रमणका अवसरमा दुवै देशका प्रधानमन्त्रीबीच दिव्पक्षीय वार्ता सम्पन्न भयो । उक्त वार्तामा नेपाल–भारत सांस्कृतिक सम्बन्ध, शैक्षिक तथा प्राज्ञिक सम्बन्ध, नेपालको विकास निर्माणमा भारतको सहयोग, हवाई सेवा, व्यापार तथा वाणिज्य सम्बन्धका साथै उर्जा क्षेत्रमा विकास र लगानीका महत्वपूर्ण छलफल भए । सो अवसरमा ६ वटा समझदारी पत्रमा हस्ताक्षर भएको छ ।’ 

उनले पछिल्लो समय पासपोर्टका कामहरु नियमित रुपमा अघि बढिरहेको बताइन् । लम्सालले अझै पनि पासपोर्टको व्यवस्थापन गर्ने कार्य जारी रहेकोले आगामी दिनमा थप सुदृढीकरण गर्नेमा जोड दिने स्पष्ट पारिन । उनले अहिलेसम्म ६९ वटा जिल्ला प्रशासन कार्यालय, १५ वटा इलाका प्रशासन कार्यालय र २६ वटा कुटनीतिक नियोगहरुबाट विद्युतीय राहदानी जारी कार्य शुरु भइसकेको पनि बताइन् । उनले अब चाँडै नै सबै जिल्लामा विद्युतीय राहदानी सेवा पुर्याउने कुरामा मन्त्रालयले जोड दिएको बताइन् । 

प्रवक्ता लम्सालले आउँदो जेठ १० गते परराष्ट्र मन्त्रालयले परराष्ट्र सेवा दिवस मनाउने बताइन् । मन्त्रालयले २०१८ साल जेठ १० गते विधिवत रुपमा परराष्ट्र सेवा गठन भएको उपलक्ष्यमा पहिलोपटक यो दिवस मनाउने भएको हो । 

Advertisement

Advertisement