प्रश्नोपनिषद्ः प्रजापतिले सृष्टि गर्ने इच्छा गरी सर्वप्रथम रयि र प्राणलाई रचे

Advertisement

शिरिषबल्लभ प्रधान
अथर्ववेद अन्तर्गत पर्ने प्रश्नोपनिषद् मुण्डकोपनिषद्कै विस्तारित स्वरुप मानिन्छ । यस उपनिषद्अनुसार छ जना ब्रह्मजिज्ञासु ऋषिहरु सुकेशा, सत्यकाम, सौर्यायिणि गाग्र्य, कौसल्य, भार्गव र कबन्धी हातमा समीधा लिएर महर्षि पिप्प्लादकहाँ जान्छन् र ब्रह्मज्ञानको उपदेश दिन आग्रह गर्छन् । महर्षि पिप्पलादले उनीह्रुको जिज्ञासा शान्त गर्नुको सट्टा तिमीहरु एकवर्ष ब्रह्मचर्य धर्म पालन गरी श्रध्दाले युक्त भई तपस्या गरेर फेरि प्रश्न गर्न आउनु भनी फर्काउँछन् । यहाँ वेद जो पायो त्यसले अध्ययन गर्नु हुँदैन, त्यसको अध्ययन निश्चित योग्यता भएका अधिकारीले मात्र सक्छन् भनी दर्शाइएको छ ।

निश्चित योग्यता पुगेका, चित्त शुध्द भएका, इन्द्रियलाई संयमित राख्न सक्ने श्रध्दाले युक्त तप आदि मार्गको अनुशरण गर्ने मुमुक्षु मात्र ब्रह्मज्ञानका अधिकारी हुन्छन् । ती ऋषिहरु त्यहाँबाट फर्केर जंगल गई तपस्या गर्नुका साथै ब्रह्मचर्य बसी श्रध्दा आदिले युक्त भई चित्त शुध्द बनाई पुनः गुरुको आश्रममा फर्कन्छन् । तिनीहरुमध्ये कबन्धिले पहिलो प्रश्न गर्छः
हे भगवन, यी सारा प्रजाहरु कसबाट उत्पन्न हुन्छन् ?

Advertisement

महर्षि पिप्पलाद भन्छन्, प्रजापतिले प्रजा उत्पन्न गर्ने इच्छाले तप गर्छन् र तप गरेर रयि र प्राणको एक, एक जोडी उत्पन्न गर्छन् । उनले विचार गर्छ, यी दुबैले मेरानिम्ति अनेक प्रकारका प्रजाहरु उत्पन्न गर्ने छन् । यहां प्रजापति भन्नाले प्रजा वा प्राणि र वनस्पतिलाई सृजना गर्ने देवता बुझिन्छ ।

त्यस्तै रयी र प्राण भन्नाले भोग्य र भोक्ता अथवा अन्न र प्राण बुझ्न सकिन्छ भने ती दुबैको आश्रय प्रजापति हुन् । यी दुई तत्वमध्ये प्राण भन्नाले जीवन शक्ति र रयि भन्नाले पदार्थ पनि बुझ्न सकिन्छ । यी दुई ऋणात्मक र धनात्मक, स्त्री र पुरुष वा प्रकृति र पुरुषव्दारा नै समस्त सृष्टि रचिएको हामी देख्छौं । त्यसैगरी उपनिषद्ले भन्छ, आदित्य नै प्राण हो रयि नै चन्द्रमा हो । त्यसैगरी उप्निषद्ले भन्छ, तेजोमयी, ज्ञानसम्पन्न, ज्योतिर्मय अव्दितीय सूर्यलाई आत्माकोरुपमा जानिन्छ । यहां एक वर्षको समय अर्थात्  संवत्सरलाई प्रजापतिसंग तुलना गरिएको छ । त्यस सम्वत्सरका दक्षिण र उत्तर दुई अयन छन् । त्यस्तै संवत्सर अन्तर्गत प्रत्येक महिनाको शुक्ल पक्ष प्राण तत्वसंग सम्बध्द छ भने कृष्णपक्ष रयि तत्वसंग । त्यसैगरी दिन र रातमध्ये दिन प्राणतत्व हो भने रात रयि तत्व हो । यसबारे थप वर्णन गर्दै उपनिषद्ले भन्छ, रयीका उपासक कर्ममार्गलाई अवलम्वन गर्नेहरु, सन्तानका इच्छुकहरु चन्द्रलोकलाई जित्छन् र आवागमनलाई प्राप्त गर्छन् अर्थात् जन्म, मरणको भूंवरिमा फस्छन् ।

त्यस विपरित सूर्यको मार्गमा हिंड्ने प्राणका उपासकहरु विद्याध्ययन गरी श्रध्दापूर्वक आत्माको खोजी गर्छन्  र उत्तर मार्गव्दारा सूर्यलोक हासिल गर्छन् । यही प्राणको आश्रय हो, यही अभय र अमृत स्वरुप हो, परा गति हो । यहांबाट जानेहरु पुनरागमनलाई प्राप्त गर्दैनन् अर्थात् मुक्त हुन्छन् ।

यी प्रजालाई कतिवटा देवताहरु धारण गर्छन्? त्यसमध्ये कस, कसले यसलाई प्रकाशित गर्छन् र कुन देवता सर्वश्रेष्ठ मानिन्छ ? भन्ने भार्गवको दोश्रो प्रश्नको उत्तरमा पिप्पलादले भन्छः

त्यो देवता आकाश हो, वायु, अग्नि, पृथ्वी, वाक्सहित सम्पूर्ण कर्मेन्द्रिय, मनसहित अन्तःकरण र चक्षु सहित ज्ञानेन्द्रिय समूह यी सबै देव नै हुन्, जसले जीवनलाई धारण गरेको हुन्छ । जीवनलाई धारण गर्ने विभिन्न तत्वहरुमध्ये प्राण सबैभन्दा श्रेष्ठ मानिन्छ ।

उपनिषद् अनुसार एकपल्ट प्राण र इन्द्रियहरुवीच को श्रेष्ठ भनी विवाद चलेछ । तीमध्ये प्राणले अन्य इन्द्रियहरुलाई भनेछ, तिमीहरु अभिमान नगर मैले नै आफूलाई पांच भागमा विभक्त गरी यो शरीरलाई आश्रय दिइरहेको छु । त्यसपछि प्राण शरीरबाट माथि उठ्न लाग्दा उसंगसंगै अन्य सारा इन्द्रियहरु पनि उठछन् । त्यसैगरी प्राण शरीरमा स्थित भएपछि अरु सारा इन्द्रियहरु पनि स्थित भएछ ।

उपनिषद्ले भन्छ, जसरी रानी माहुरी घारबाट बाहिर गएपछि अरु सबै माहुरीहरु बाहिर जान्छन् र त्यो बसेपछि अरु प्नि त्यहां बस्छन्, त्यसैगरी प्राण उठेपछि वाक्, मन, चक्षु, श्रोत्र आदि सबै प्राणका साथसाथै उठ्छन् र पुनः प्रतिष्ठित हुन्छन् । त्यो देखेर उनीहरुले प्राणको स्तुती गाउन लागे ।

उपनिषद्ले अगाड भन्छ, त्यो प्राण नै अग्नि भएर तपाउंछ, यही सूर्य हो, यही मेघ हो, यही इन्द्र र वायु हो । यही पृथ्वी हो र यही जे जति सत्, असत् र अमृत छन् ती सब हो ।

अब कौसल्य अश्वलायनले तेश्रो प्रश्नमा सोध्छ, यो प्राण कहांबाट उत्पन्न हुन्छ, कसरी यो शरीरमा आउंछ र यसले कसरी कार्य गर्छ, अनि त्यसले कसरी उत्क्रमण गर्छ ?

यसको उत्तरमा पिप्पलादले भन्छ, यो प्राण आत्माबाट उत्पन्न हुन्छ । जसरी मानिसको शरीरबाट छाया उत्पन्न हुन्छ त्यसैगरी यो प्राण पनि उत्पन्न हुन्छ । जसरी सम्राटले राज्यमा विभिन्न पदमा मानिसहरु नियुक्त गर्छ त्यसैगरी प्राणले नै अन्य प्राण तथा इन्द्रियहरुलाई विभिन्न कार्यहरुमा नियुक्त गर्छ । शरीरमा विभिन्न कार्य सम्पन्न गर्न मुख्य प्राणले प्राण, अपान, उदान, समान र व्यान वायुहरु नियुक्त गर्छ । मलमूत्र उत्सर्ग गर्ने कार्यमा अपानलाई नियुक्त गरिएको छ भने मुख, नाक, नेत्र र श्रोत्रमा प्राण वायु आफै स्थित हुन्छ । त्यस्तै खाएका अन्नलाई पचाएर शरीरमा सवत्र समानरुपमा वितरण गर्ने कार्य समानवायुको हो । त्यही प्राणाग्निबाट नै सात ज्वालाहरु (दुई नेत्र, दुई कान, दुई नाकका प्वाल तथा एक जीव्रो ) उत्पन्न हुन्छन् ।

यसरी पिप्पलादले मानव शरीरमा प्राणले कसरी कार्य गर्छ भन्नेबारे सविस्तार व्याख्या गर्छ  । उपनिषदले आत्मा हृदयमा निवास गर्दछ भन्दै त्यस हृदयदेशमा एक सय एक नाडीहरु छन् र तिनीहरुको. शाखाहरु गरी ७२ हजार नाडीहरु छन्, जसमा व्यान संचार गर्दछ भनी थप व्याख्या गर्दछ । उपनिषद् अनुसार ती सबै नाडीहरुमध्ये उध्र्वदिशामा गमन गर्ने सुषुम्ना नामक एक नाडीले जीवलाई पूण्य कार्य गरे पूण्यलोक र पापकार्य गरे पापमयलोकमा लग्छ ।

सौर्यायणी गाग्र्यले चौथो प्रश्न यसरी सोध्छ, यस पुरुषमा को जाग्छ, को सुत्छ र कसले स्वप्न देख्छ? कसलाई यो सुखको अनुभूति हुन्छ र यी सबै केमा प्रतिष्ठित छ ?

त्यसको त्यसको उत्तरमा पिप्पलादले भन्छ, जसरी सूर्य अस्त हुंदा त्यसका सारा किरणहरु त्यस तेजोमण्डल सूर्य मै एकत्रित हुन्छन् र उदाउंदा पुनः फैलिन्छन्, त्यसैगरी सबै इन्द्रियहरु परमदेव मनमा नै लीन हुन्छन् । त्यसवखत त्यो पुरुषले न सुन्छ, न देख्छ, न सुंघ्छ, न स्वाद लिन्छ, न स्पर्श गर्छ, न बोल्छ, न ग्रहण गर्छ न मल उत्सर्ग नै गर्छ । त्यसवखत उसलाई सुतेको रहेछ अर्थात स्वपिति भनेर जानिन्छ । त्यसरी मानिस सुतेको बेलामा प्राणाग्नि नै जाग्दछ।

जुनवखत त्यो मन सौर तेजव्दारा अभिभूत हुन्छ, त्यसबखत स्वप्नावस्थाबाट निवृत्त भै सुषुम्नामा प्रवेश गरी आत्मामा लीन हुन्छ । भनिन्छ, इन्द्रियहरु मनमा लीन हुन्छन् र मन लीन नहुनाका कारण आत्मा मनस्वरुप भएर स्वप्न देख्छन् ।

ओमकारोपासनाबाट मानिसले कुन लोक जित्छ भन्ने सत्यकामको पांचौं प्रश्नको उत्तरमा ओम्कारलाई पर र अपर ब्रह्मका प्रतीकका रुपमा वर्णन गर्दै त्यसलाई अपरब्रह्मरुपले उपासना गर्नेलाई क्रम मुक्तिव्दारा र परब्रह्मरुपले उपासना गर्नेलाई सीधै परब्रह्म प्राप्त हुन्छ भनिएको छ ।
ओम्कार का तीन मात्राहरु पृथक्, पृथक रहनाले मृत्युले युक्त हुन्छ भने बाह्य(जाग्रत), आभ्यन्त (सुषुप्ति) र मध्यम (स्वप्नस्थानीय) क्रियाहरुमा सम्यक् प्रयोग गरिएमा ज्ञाता विचलित हुंदैन, पिप्पलायनले भन्छ ।

सोह कला भएका पुरुषकहाँ निवास गर्छ भन्ने सुकेशाको छैठौं प्रश्नको उत्तरमा उपनिषद्मा प्राण आदि १६ कलाको आरोपपूर्वक प्रत्यगात्मरुपले निरुपण गरिएको छ । पिप्पलादले भन्छ, जसमा यी सोह्र कलाहरुको प्रादुर्भाव हुन्छ, त्यो पुरुष यस शरीरभित्रै निवास गर्छ । जसरी चन्द्रमा कलाविहीन भएर पनि हामीलाई त्यसमा औंशी, पूर्णि लगायत १६ कलाहरु को भान पर्न जान्छ, त्यसैगरी मानिसमा पनि अविद्याका कारण अवयवहरु समान १६ कलाहरु विद्यमान् भएको मानिन्छ । हामी भित्रै विद्यमान् ती षोडशकला हुन्ः प्राण, अपान, समान, व्यान र उदा गरी पांच प्राण, चक्षु, श्रोत्र, जिव्हा, घ्राण र त्वचा गरी पांच ज्ञानेन्द्रिय, हात, खुट्टा, मुख, लिंग र गुदा गरी पांच कर्मेन्द्रिय तथा मन ।

Advertisement

Advertisement