प्रचण्डले कांग्रेससँग निउ खोज्न थाले, ठूलो पार्टी भएकोमा दम्भ देखाए ठेगान लगाउने चेतावनी

Advertisement

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ घटक नेपाली कांग्रेससँग निउ खोज्न थालेका छन् । उनले कांग्रेसलाई ठूलो पार्टी भएकोमा दम्भ नदेखाउन चेतावनी दिएका छन्  । 

स्थानीय निर्वाचनमा विजयी आफ्ना पार्टीका कार्यकर्तालाई अभिमुखीकरण तालिम प्रदान गर्न बुधबार आयोजित कार्यक्रममा प्रचण्डले नेपाली कांग्रेसलाई निर्वाचनमा ठूलो दल भएकोमा दम्भ र अहंकार नदेखाउन चेतावनी दिएका हु्न । उनले विगतमा एमालेलाई अहंकार आएको उल्लेख गर्दै कांग्रेसमा पनि एमालेको जस्तै अहंकार आउने हो कि भन्ने डर पैदा भएको बताए । 

Advertisement

प्रचण्डले कांग्रेसमा दम्भ र अहंकार चुलिएर माओवादीलाई केही पनि होइन भनेमा एमालेलाई जस्तै ठेगान लगाउने चुनौती दिए । उनले माओवादी केन्द्र गठबन्धनलाई कायम राखेरै अघि बढ्न चाहेको बताए । प्रचण्डले भने, ‘हामीलाई मानिसहरुले कहिलेकाहीँ व्यङ्ग्य पनि गर्छन् । माओवादी आफै त केही गर्दैन कहिले एमालेलाई ठूलो बनाउँछ । कहिले कांग्रेसलाई ठूलो बनाउँछ । कहिले एमालेको दम्भ बढाइदिन्छ । अहंकार बढेर चरम चुलीमा पुग्छ र कसैलाई मान्छे नगन्ने बनाइदिन्छ । कहिले कांग्रेसलाई भन्ने आरोप पनि छ हामी माओवादीलाई । अब यो हाम्रो बाध्यता पनि छ । आवश्यकता पनि छ । हाम्रा कतिपय कमीहरु पनि होलान् । हिजो एमालेलाई हामीले गठबन्धन र पार्टी एउटै बनाउँदा त हाम्रो उद्देश्य त राम्रो उद्देश्यका साथ हामीले गरेको हो नि । तर यति धेरै अहंकार आयो त्यसको लिडरशिपमा सबै हामी नै हो भनेजस्तो ग¥यो । हामी त्यसको विरुद्ध विद्रोह गर्नुपर्ने ठाउँमा पुगियो ।’

उनले थपे, ‘अहिले कांग्रेसको फेरि त्यस्तै होला कि भन्ने डर पैदा भएको छ । हामीले प्रधानमन्त्री बनायौँ । मेहनत गरेरै बनाएको प्रधानमन्त्री हो । हाम्रो अहिले पनि उहाँ भइराख्नुस् भन्ने छ । हाम्रो अर्को केही छैन । हामी गठबन्धन लाने । तर हामी चिन्तित छौँ यतिबेला । फेरी कांग्रेस पनि एमालेजस्तै अहंकार र दम्भ चुलिएर माओवादी केही नि होइन अब स्थानीयमा पनि धेरैजसो ठाउँमा ठेगान लगाइयो अब प्रदेश र संघमा पनि ठेगान लाउने भन्यो भने हामीले फेरी एमालेलाई ठेगान लगाएजस्तै फेरी कांग्रेसलाई लगाउने दिन नआओस् भन्ने छ हामीलाई । त्यसकारण म कांग्रेसका नेता साथीहरुलाई र कांग्रेस पार्टीलाई पनि भन्न चाहान्छु अहंकार र दम्भले कसैको पनि हित गर्दैन । जनता र राष्ट्रको त गर्दै गर्दैन । हामी गठबन्धन कायमै राखेर जान चाहान्छौँ । यो दुविधामा कोही पनि नपर्नुहोला है । मेरो भनाईबाट अर्को अर्थ नलगाउनु होला ।’

प्रचण्डले काठमाडौं र धरानमा स्वतन्त्र उम्मेदवारलाई जिताएर जनताले माओवादी केन्द्रलाई सबक सिकाएको बताए । निर्वाचन जित्ने स्वतन्त्र उम्मेदवारहरुले माओवादीको जस्तो कुरा गरेका कारण जनताले मत दिएका उनले जिकिर गरे । प्रचण्डले देशमा अझै कयौँ दशकसम्म पार्टीहरुले नै राज्य गर्ने उल्लेख गर्दै पार्टी प्रणालीलाई कमजोर बनाएर स्वतन्त्रको राज्य नचल्ने बताए । 

उनले गठबन्धन कायम रहने स्पष्ट पार्दै माओवादी केन्द्रलाई हल्का रुपमा नलिन पनि चेतावनी दिए । प्रचण्डले माओवादी केन्द्रले जितेका स्थानीय तहहरुमा पार्टीको आधार इलाका हुनेगरी काम गर्न निर्देशन समेत दिए ।

Advertisement

Advertisement