मोदीले भेट्न खोजेपछि शाहलाई पूर्वराष्ट्राध्यक्ष स्वीकार, छैटौं मर्यादाक्रममा राखिँदै

Advertisement

काठमाडौं । गद्दीविहीन अवस्थामा रहेका राजा ज्ञानेन्द्र शाहको लोकप्रियता बढ्दै गएको बेला सरकारले उनलाई पूर्वराष्ट्राध्यक्ष स्वीकार गर्दै छैटौं मर्यादाक्रममा राख्ने तयारी गरेको छ । 

पूर्वमन्त्री दीपक ज्ञवालीका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भेट्न चाहेपछि र चीनले पनि राजा ज्ञानेन्द्रको मर्यादाक्रमबारे चासो राखेपछि सरकार बाध्य भएर छैटौं मर्यादाक्रममा राख्न बाध्य भएको हो । यद्यपि उनले अहिलेका दलका नेताहरुभन्दा राजाको मर्यादा उच्च रहेको बताए । ज्ञवाली राजसंस्था पक्षधर व्यक्ति हुन् । 

Advertisement

सरकारले तयार गरेको नयाँ मर्यादाक्रम सूचीमा पूर्वराजालाई पूर्वराष्ट्रपतिसँगै राख्ने अन्तिम तयारी भएको छ । गृहमन्त्रीमा बालकृष्ण खाँड आएपछि गत पुस २० गते मर्यादाक्रम तोक्न सहसचिव शिवराम पोखरेलको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेका थिए । समितिले गते चैत ७ गते मर्यादाक्रम तयार गर्दै प्रतिवेदन बुझाएको थियो । 

नयाँ मर्यादाक्रमको पहिलो सूचीमा राष्ट्रपति, दोस्रोमा उपराष्ट्रपति, तेस्रोमा प्रधानमन्त्री, चौथोमा प्रधानन्यायाधीश र पाँचौँमा प्रतिनिधिसभाका सभामुख तथा राष्ट्रियसभाका अध्यक्ष, छैटौँमा पूर्वराजा, पूर्वराष्ट्रपति, उपप्रधानमन्त्री, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रहने व्यवस्था गर्न लागिएको हो । 

ज्ञवालीले राजा ज्ञानेन्द्र शाह राष्ट्रप्रमुख रहेको कुरा सत्ता सञ्चालन गर्दै आएका दल र नेताहरुले बिर्सिंदै आएकोमा बल्ल उनीहरुलाई याद आएको बताए । उनले भने, ‘यिनीहरुलाइ अहिले आएर किन मर्यादामा राख्नुपरेको हो राजालाई ? जनतामाझ यिनीहरुको भन्दा राजा लोकप्रियता छ । यिनीहरुलाई प्रश्न गर्नुपर्ने भयो कसरी याद आयो राजाको मर्यादाक्रम । राजाले राखिदिनु पर्यो भनेर निवेदन दिएर त होइन् ।’ 

ज्ञवालीले थपे, ‘मलाई लाग्छ हाम्रो दुई छिमेकीको चासोका कारण यो निर्णय गर्न दल र नेताहरु आफूलाई अप्रिय लाग्ने निर्णय गर्न बाध्य भएका हुन् । विदेशीहरु राजालाई पहिलेदेखि भेट्न खोज्दै आएका हुन् । अहिले पनि प्रयास गरिरहेका छन् । नरेन्द्र मोदीले पनि भेट्न खोज्या हो । रञ्जित रेले रोक्या हो । मर्यादाक्रममा नभएकाले भेट्न कठिनाई भयो । त्यही भएर यिनीहरुले बाध्य भएर राखेको हुनसक्छ ।’

सरकारले पूर्वराष्ट्रपतिहरुलाई दर्जनौ सुविधाहरु दिए पनि राजा ज्ञानेन्द्र शाहलाई कुनै पनि सुविधा दिएको छैन् । उनको सुरक्षामा सुरुमा सैनिक अधिकृतहरु राखिए पनि पछि हटाएर सशस्त्र प्रहरी राखिएको थियो । सशस्त्र प्रहरीको संख्या पनि पछि कटौती गरेर १५ जनामा सीमित गरिएको पूर्वराष्ट्रप्रमुखको मर्यादाक्रममा राख्ने प्रक्रिया सुरु भएसँगै गृहमन्त्री खाँडले अहिले केही सुरक्षाकर्मी थप गरेका छन् । 

Advertisement

Advertisement