बृहदारण्यकोपनिषद्ः सबैलाई प्यारो लाग्ने आफू अर्थात् आत्मा नै हो, त्यही जान्न योग्य छ

Advertisement

शिरीषवल्लभ प्रधान
धन र विद्या सामान्यतया एक अर्काका विरुध्द मानिन्छन् किनभने धन कर्मसँग सम्बध्द छ भने विद्या ज्ञानसँग । कर्मका उपासक र ज्ञानका उपासक भिन्ना भिन्नै हुन्छन् र तिनको फल पनि भिन्नै हुन्छ भन्ने कुरा शास्त्रमा बताइएको पनि छ । धन र विद्याबीच चयन गर्नुपर्दा मानिसले के चयन गर्ला भन्ने प्रश्नको समाधानका निम्ति याज्ञवल्क्य र मैत्रेयीबीचको सम्वाद अध्ययन गर्नु महत्वपूर्ण हुन्छ । याज्ञवल्क्यका दुई पत्नीहरुमध्ये कात्यायनी घरगृहस्थी गर्ने स्वभावका हुन्छन् भने मैत्रेयी ज्ञानी र जिज्ञासु ।

हिन्दूधर्मअनुसार मानिसका चार आश्रम हुन्छनः ब्रह्मचर्याश्रम, गृहस्थाश्रम, वानप्रस्थाश्रम र सन्यासाश्रम । सामान्यतया बालक वयस्क हुने क्रममा खासगरी १२ वर्ष उमेर पुगेपछि उपनयन गरी गुरुकहाँ गई वेद, वेदांग आदि अध्ययन गर्ने गरिन्छ । त्यसपछि २४ वर्षको उमेर पुगेपछि गुरुलाई गच्छेअनुसारले दक्षिणा दिई गुरुको आज्ञा लिई योग्य कन्यासँग विवाहगरी गृहस्थाश्रम सुरु गरिन्छ । गृहस्थाश्रममा उसले सन्तान उत्पादन गर्ने, कमाइ गर्ने र घरगृहस्थका जिम्मेवारी निभाउने कार्य गर्छ । तर गृहस्थाश्रममा पनि उसले अध्ययन, अध्यापन गर्न र ईश्वर उपासना कार्य आदि छोड्न भने हुंदैन । 

Advertisement

त्यसपछि वानप्रस्थाश्रमको समय आउँछ करीव ४५–४८ वर्षको उमेरमा । वान प्रस्थाश्रमको समयमा उसले सन्यासको तयारी स्वरुप एकान्तमा बस्ने, जंगलमा बसी अध्ययन, मनन, चिन्तन, तप, ध्यान आदि साधनाका कार्यहरु नियमितरुपमा गर्न सुरु गर्छ । त्यसपछि ६५ – ७० को उमेरमा औपचारिकरुपले सन्यास ग्रहण गरेपछि उसले भिक्षाव्दारा प्राप्त अन्न मात्र ग्रहण गर्छ, तप, ध्यान, अध्ययन, मनन, चिन्तन आदि साधनालाई अझ घनीभूत बनाएर अन्त्यमा मोक्षको निम्ति तयार हुन्छ ।

यसरी याज्ञवल्क्य पनि जब सन्यास ग्रहण गर्नको निम्ति तयार रहन्छ तब उसले पत्नी मैत्रेयीलाई आफूले सन्यास लिनको निम्ति अनुमति माग्छ । याज्ञवल्क्यले आफ्ना सबै सम्पत्ति ती दुई पत्नीका बीच बराबर बाँडिदिने विचार गर्छ । उनको विचार सुनेर मैत्रेयीले भन्छ, के त्यो सम्पत्ति पाएर म अमर हुन्छु ? अर्थात् के मैले त्यो सम्पत्ति सदाको निम्ति उपभोग गर्न पाउँछु ? यदि यी सारा धनसम्पत्तिले युक्त सिंगो पृथ्वी नै पाएँ भने पनि के म अमर हुन्छु ? उसले याज्ञवल्क्यसँग प्रश्न गर्छ । तिमीले ती सारा सम्पत्ति र सुख जीवनभरि भोग गर्न सक्नेछौ तर धनव्दारा अमर हुन आशा भने नगर, याज्ञवल्क्यले भन्छ । त्यसपछि मैत्रेयीले भन्छ, जसव्दारा म अमर हुन सक्दिन त्यो क्षणिक सुख भोग गरेर के गर्ने ? मलाई अमर हुने विद्या अर्थात् ब्रह्मज्ञान दिनुस् ।ं

त्यसपछि, खुसी हुँदै याज्ञवल्क्यले भन्छ, तिम्रो यो ज्ञानको भोक देखेर म अत्यन्त प्रशन्न भएँ, तिमी त्यसै पनि मेरी प्यारी अब यो कुरा सुनेर तिमी मेरो निम्ति पहिलेभन्दा पनि प्रिय भयौ । यति भनेर याज्ञवल्क्य उसलाई आत्मज्ञान दिनथाल्छ । याज्ञवक्यले भन्दै जान्छ, म तिमीलाई त्यस ब्रह्मज्ञानबारे व्याख्या गर्छु, तिमी ध्यान दिएर सुन र त्यसमा ंिचन्तन गर । वास्तवमा मानिसले आफूलाई भौतिक शरीरसँग जोडेमा ऊ जीवन, मृत्युको चक्करमा घुमिरहन्छ । तर जब उसले आफूलाई भौतिक शरीर नभई आत्मासँग जोडेर हेर्छ तब, उ मृत्युलाई पार गर्छ, अर्थात् अमर हुन्छ । याज्ञवल्क्यले मैत्रेयीलाई आत्मज्ञान दिँदै भन्छ,

हेर मैत्रेयी, पत्नीलाई पति प्रिय हुँदा त्यो पतिको प्रयोजनको निम्ति प्रिय हुने हैन्, आफ्नै प्रयोजनको निम्ति प्रिय हुने हो । त्यसैगरी, पत्नीको प्रयोजनको निम्ति पतिलाई पत्नी प्रिय हुने हैन्, आफ्नै प्रयोजनको लागि प्रिय हुने हो । त्यस्तै पुत्रको प्रयोजनको निम्ति पुत्र प्रिय हुँदैनन्, आफ्नै प्रयोजनका निम्ति प्रिय हुन्छन् । अनि धनको प्रयोजनको निम्ति धन प्रिय हुने हैन्, आफ्नै प्रयोजनको निम्ति धन प्रिय हुन्छ । सबै कुरा सबै कुराको प्रयोजनको निम्ति नभई आफ्नै प्रयोजनको निम्ति सबै कुरा प्रिय हुन्छ । त्यसैले त्यो आफू नै जान्न योग्य, बुझ्न योग्य छ । त्यो आफ्नो आत्मा नै दर्शनीय, श्रवणीय, मननीय र ध्यान गर्न योग्य छ । त्यसैले हे मैत्रेय, तिमी त्यसै आत्मालाई नै जान्न खोज, पहिचान गर्न खोज ।

यसरी याज्ञवल्क्यले मैत्रेयीलाई आत्मज्ञानको महत्व बताउँछ । यसरी याज्ञवल्क्यले यहाँ मैत्रेयीलाई आत्मज्ञानको महत्व बुझाउन कोशिस गर्छ । वास्तवमा आत्मज्ञान भन्दा ठूलो अरु कुनै ज्ञान छैन । शास्त्रमा भनिएको पनि छ, आत्मज्ञान भएपछि यस धर्तीमा जान्नु पर्ने कुनै कुरा बाँकी हुँदैन । यसको अर्थ प्राविधिक वा व्यवहारिक ज्ञान भनिएको हैन्, यसबाट तत्व ज्ञान भन्ने बुझ्न पर्छ ।

जसले स्व अर्थात् आत्माको अर्थ बुझ्छ त्यसलाई वेदान्तको परिभाषामा स्व अर्थी अर्थात् स्वार्थी पनि भन्न सकिन्छ । तर लौकिक भाषामा त्यसको विपरित अर्थ लाग्छ । वास्तवमा, लौकिक अर्थमा स्व ले शरीर जनाउने हुँदा स्वार्थीले आफ्नो भौतिक शरीरको आवश्यकता मात्र पूर्ति गर्ने अर्थ बुझाउँछ भने वेदान्तको परिभाषामा स्व ले शरीर हैन, आत्मा वा चेतना जनाउने हुँदा आफ्नो असली रुप बुझेको वा आत्मज्ञानी भन्ने अर्थ लाग्छ ।

Advertisement

Advertisement