सत्ता गठवन्धनको बहुमत रहेको विराटनगरको कार्यपालिका निर्वाचनमा एमाले विजयी

Advertisement

मोरङ । विराटनगर महानगरपालिकाको नगर कार्यपालिकाको निर्वाचनमा नेकपा एमालेले विजयी भएको छ । शनिबार भएको निर्वाचनमा एमालेको पक्षमा बहुमत मिलेको हो । जबकी उक्त महानगरपालिकाको हालै सम्पन्न स्थानीय निर्वाचनमा सत्ता गठवन्धन पक्षधरहरु बढी विजयी भएका थिए । 

एमालेले स्वतन्त्रहरुसँग गठवन्धन गरेर महानगर कार्यपालिका सदस्य चयनको निर्वाचनमा सहभागी भएको थियो । जसअनुसार एमालेका पाँच महिला सदस्य र एक दलित तथा अल्पसंख्यक प्रतिनिधि निर्वाचित भएका छन् भने एमालेसँगै गठवनधन गरेका स्वतन्त्र समूहबाट दुई जना सदस्य निर्वाचित भएका छन् । 

Advertisement

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार सत्ता गठवनधनबाट जनता समाजवादी पार्टीका दुई र कांग्रेसका एक जना मात्रै सदस्य निर्वाचित भएका छन् । कुल ९६ मत रहेको विराटनगरमा जम्मा ४६ मत रहेको एमाले र स्वतन्त्रको गठवनधनले ५० मत रहेको सत्ता गठवन्धनलाई अल्पमतमा पारेको हो ।   

कार्यपालिका सदस्यको निर्वाचनमा अल्पसंख्यकतर्फ एमालेका दीपककुमार कर्ण, स्वतन्त्र ओमप्रकाश साह र सञ्जीव साह विजयी भए भने महिला सदस्यमा सुन्तलीदेवी विश्वास, कमला श्रेष्ठ, ताराकुमारी राय, सरिता घिमिरे नेपाल र खुश्बु विश्वकर्मा विजयी भए । उनीहरु सबै एमालेका हुन् । 

कुल २९ सदस्यीय कार्यपालिकामा उपमेयर र नौ वडा अध्यक्षसहित एमालेको सदस्य १५ पुगेका छन् । 

मेयर, उपमेयर, १९ वडाका वडाध्यक्ष र ८ सदस्यसहितको महानगर कार्यपालिकामा कांग्रेसका मेयरसहित ६ वडाध्यक्ष, स्वतन्त्रको १ वडाध्ययक्षसहित तीन, जसपाको २ वडाध्यक्ष र राप्रपाको १ वडाध्यक्ष सदस्य छन् । यसअघि बुढिगंगा गाउँपालिकामा एकल बहुमतमा रहेको कांग्रेसका उम्मेद्वार कार्यपालिका निर्वाचतमा पराजित भएका थिए ।

Advertisement

Advertisement