देउवाले अनपेक्षित कदम चाल्नसक्ने देखिएपछि प्रचण्डलाई प्रधानमन्त्री बनाउने तयारीमा ढिलाई

Advertisement

काठमाडौं । नेकपा एमालेको समर्थनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउने तयारीमा ढिलाई भएको छ । शेरबहादुर देउवाले संसद विघटनसहितका अनपेक्षित कदम चाल्नसक्ने भयका कारण प्रचण्डलाई प्रधानमन्त्री बनाउने तयारीमा ढिलाई भएको हो । 

अमेरिकी उपविदेशमन्त्री उज्रा जियाको नेपाल भ्रमण र उनले तिब्बती शरणार्थीहरुसँगको भेटघाटलाई चीनले गम्भीररुपमा लिएसँगै नेपालको राजनीति पनि तरंगित भएको हो । त्यसको प्रमाण एमालेका अध्यक्ष केपी ओलीले केही दिनअघि संसदमा जियाको भ्रमणलाई लिएर गरेको टिप्पणी र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्नै पार्टीको कार्यक्रममा केही दिनअघि  कांग्रेसलाई ठेगान लगाउने धम्की पनि हो । प्रचण्डलाई प्रधानमन्त्री बनाउने प्रस्ताव लिएर एमालेका नेताद्धय ईश्वर पोखरेल र बिष्णु पौडेल खुमलटार पुगेका थिए ।

Advertisement

चीन वर्तमान सरकारप्रति रुष्ट भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले बाध्य भएर तिब्बती धर्म गुरु दलाई लामाको नेपाल कार्यालय आफूले बन्द गरेको उदाहरण पेश गरेका थिए । यद्यपि अर्को छिमेकी भारतसमेत देउवा सरकारप्रति सकारात्मक नभएकाले असारभित्र प्रचण्ड प्रधानमन्त्री हुनसक्ने प्रवल संभावना रहेको स्रोतले बतायो । 

भारतको मोदी सरकार पनि अमेरिका नेतृत्वको पश्चिमा लबीभन्दा रुस–चीन लबीसँग नजिक देखिन्छ । नेपालमा पश्चिमा शक्तिको समर्थनमा बनेको अहिलेको सरकारको पक्षमा चीन र भारत नहुँदा देउवालाई कठिनाई भएको हो ।  

अहिलेको सरकार संविधानको धारा ७६ (५)मा टेकेर बनेको आफूविरुद्ध अविश्वासको प्रस्ताव आएमा देउवाले संसद विघटन गरी निर्वाचनको मिति घोषणा गर्नेछन् । त्यसविरुद्ध अदालतमा मुद्दा पर्ने र त्यो प्रक्रिया लामो हुनसक्ने भएकाले राष्ट्रपति विद्या भण्डारीबाटै कठोर निर्णय गरेर प्रचण्डलाई प्रधानमन्त्री बनाउने र देउवालाई हटाउने भित्री गृहकार्य भइरहेको स्रोतको दावी छ । 

एमाले र माओवादीका शीर्ष नेताहरु देउवाको अमेरिका भ्रमणअघि नै उनलाई पदबाट हटाउने प्रयासमा देखिन्छ । तर त्यसका लागि राष्ट्रपतिले चाल्ने कदमलाई कांग्रेसले असंवैधानिक भन्दै सडक प्रदर्शन गर्नसक्ने कुरादेखि पनि एमाले र माओवादी केन्द्र सशंकित देखिएका छन् । नयाँ सरकार बन्दा महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी पनि सहभागी हुनसक्ने भएकाले देउवाले उनलाई बालुवाटार बोलाएर सरकारमा आउन र मन्त्रीहरुको नाम दिन आग्रह गरिसकेका छन् । 

सोमबार हुने भनिएको नेकपा एसका मन्त्रीहरुको हेरफेर पनि सोही कारण प्रभावित भएको हुनसक्ने स्रोतको तर्क छ । एमाले अध्यक्ष ओली प्रचण्डलाई प्रधानमन्त्री बनाउन लचक देखिए पनि माधव नेपाल नेतृत्वको पार्टीसँग भने सहकार्य गर्न सकारात्मक छैनन् । 

Advertisement

Advertisement