कांग्रेस मात्रै विदेशीमामु लम्पसार पर्ने माधव नेपालको तर्क, ‘कम्युनिष्टहरु कहिल्यै झुक्दैनन्’

Advertisement

काठमाडौं । नेकपा एकीकृत समाजवादी (एस)का अध्यक्ष माधव नेपालले कम्युनिष्ट पार्टीहरु कहिल्यै विदेशीसामु लम्पसार नपर्ने जिकिर गरेका छन् । नेपाली कांग्रेस मात्रै त्यसरी लम्पसार पर्ने गरेको उनको आशय छ । 

शुक्रवार पार्टी केन्द्रिय कार्यालयमा बसेको पोलिटब्यूरो बैठकमा माधव नेपालले कुनै पनि कम्युनिष्ट पार्टी विदेशीसामु झुक्न नसक्ने बताएका हुन् । उनले कम्युनिष्ट पार्टी कहिल्यै विदेशीको ईसारामा चल्न नसक्ने पनि तर्क गरे । 

Advertisement

माधव नेपालले कम्युनिष्ट पार्टी र कम्युनिष्ट आन्दोलनले देशभक्तिलाई महत्व दिने उल्लेख गर्दै राष्ट्र, राष्ट्रियताको रक्षा, राष्ट्रको मर्यादामा रहने कुरालाई केन्द्रबिन्दुमा राखेर अघि बढ्ने गरेको बताए । उनले भने, ‘हाम्रो दिमागमा तीन वटा कुरा सदैव रहनुपर्छ । आफ्नो देश, राष्ट्र, राष्ट्रप्रतिको समर्पण भाव, देशभक्तिको भावना यसबाट हामी विचलित हुन सक्दैनौँ । कम्युनिष्ट पार्टी र कम्युनिष्ट आन्दोलनले देशभक्तिलाई महत्व दिन्छ । विदेशीहरुको सामु लम्पसार पर्दैन । विदेशीहरुका सामु घुँडा टेक्दैन । विदेशीका ईसारामा नाच्दैन । विदेशीहरुको स्वादमा चल्दैन । आफ्नो देश, आफ्नो राष्ट्र, राष्ट्रियताको रक्षा, राष्ट्रको मर्यादामा रहने कुरालाई केन्द्रबिन्दुमा राख्छ । फलस्वरुप जनताको विश्वास हामी जित्न सक्छौँ ।’

एमाले अध्यक्ष केपी ओलीलाई गाली नगरी कम्युनिष्ट पार्टीको गुनगान गाउने माधव नेपालको आजको प्रस्तुती अर्थपूर्ण देखिन्थ्यो । देशमा चाँडै नै नयाँ राजनीतिक घटना विकास हुने अडकल भइरहेको बेला उनले कांग्रेसलाई लक्षित गरेर प्रहार गरेका हुन् । प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एसले सिफारिस गरेअनुसार सो पार्टीका मन्त्रीहरु हटाएर नयाँलाई राख्न आनाकानी गर्दै आएका छन् । 

माधव नेपालले बैठकमा राजनीतिक र सांगठनिक प्रतिवेदन पेस हुने पनि बताए । उनले कृषिको सम्बन्धमा बनेको नीति र तरिका अवलम्वन गरी त्यसको समीक्षा गर्न आवश्यक रहेको बताए । 

अध्यक्ष नेपालले परिस्थितिको विश्लेषण गर्नु अहिलेको आवश्यकता रहेको भन्दै परिस्थितिको ठोस विश्लेषण गर्नसके मात्र सही नीति तर्जुमा गर्न सकिने र पार्टी बलियो बन्ने बताए । 

Advertisement

Advertisement