‘नेपालमा ६–७ देशका शरणार्थीले प्रदर्शन गरेको देख्दैछु, कहाँबाट आए यी ? किन फिर्ता पठाइएन ?’

Advertisement

काठमाडौं । नेता डा. भीम रावलले नेपालको राष्ट्रिय सुरक्षामा बाह्य हस्तक्षेप बढेको औंल्याएका छन् । बिहीबार रिपोर्टर्स क्लबमा उनले बाहिरी हस्तक्षेप नरोके देशले कष्टकर दिन भोग्नुपर्ने बताए । 

रावलले भने, ‘देशको विद्यमान सम्पूर्ण राजनीतिक परिवेशलाई हेर्दा खासगरी अर्थतन्त्र, कृषि, विदेश सम्बन्ध हेर्दा नेपालको राष्ट्रिय सुरक्षामा बाह्य हस्तक्षेप बढेको छ । यो हस्तक्षेपबाट नेपाललाई मुक्त नगर्ने हो भने नेपालका आउने दिनहरु झनै कष्टकर र पीडादायी हुनेछन् ।’

Advertisement

उनले नेपालले स्वतन्त्र र असंलग्न परराष्ट्र नीतिलाई बढावा दिनुपर्ने बताए । रावलले नेपालमा ६–७ वटा देशका शरणार्थीहरुले प्रदर्शन गरेको आफूले देखेको बताउँदै यसबारेमा सरकार किन मौन रहेको ? भनी प्रश्न गरे । उनले शरणार्थीहरु विमानमार्फत आएको हो भने अध्यागमनले किन फिर्ता नपठाएको भनेर प्रश्न पनि गरे । 

नेता रावलले भने, ‘विमानबाट आएका होईनन भने ती भारत हुँदै नेपालका आएको हुनुपर्छ, यसरी अर्काको देशमा पठाउन पाईँदैन् ।’ उनले एसपीपीमा नेपाल संलग्न नहुने भनेर सरकारले भनेपछि त्यस सम्बन्धमा लेखिएको पत्र सार्वजनिक गर्न माग गरे । 

रावलले भने, ‘सरकारले एसपीपीमा संलग्न नहुने भनेर लेखेको पत्र बाहिर ल्याउनुपर्छ । नेपाल सदस्य हुँदैन भनेर निशंकोच बाहिर ल्याउनुपर्छ । सरकार पारदर्शी होस । आशंका पुष्टि हुनेगरि काम नगरोस ।’

उनले नेपालको कुटनीति र परराष्ट्र नीतिमा गम्भीर विचलन देखिएको टिप्पणी गर्दै थपे, ‘हाम्रो देश राष्ट्रिय सुरक्षा, कुटनीतिक सञ्चालनको दृष्टिकोण, अर्थतन्त्र अघि बढाउने दृष्टिकोण, राष्ट्रको मौलिक संस्कृतिको कसरी रक्षा गर्ने ? भन्ने दृष्टिकोणबाट हेर्दा, इतिहासमा अत्यन्तै कठिन चरणबाट गुज्रिरहेको देखिन्छ । सबैभन्दा पहिले हाम्रो देशको परराष्ट्र नीति र कुटनीतिमा गम्भीर विचलन देखापरेको छ ।’

रावलले संसद् र संसद्को अन्तर्राष्ट्रिय समितिले एसपीपीबारेका दस्तावेज माग गर्दा पनि सरकारले उपलब्ध नगराएको भन्दै आपत्ति जनाए । उनले भने, ‘केही समय पहिले अमेरिकाको राज्य साझेदारी कार्यक्रम अर्थात स्टेट पार्टनरसिप प्रोगामको सम्बन्धमा १० बुँदे मस्यौदासमेत सार्वजनिक भयो । यो विषयमा व्यापक बहस भयो । संसद्मा पनि बहस भयो । संसद् बाहिर पनि भयो । पत्रकार जगतमा पनि झनै व्यापक बहस भयो । अन्ततः नेपाल सरकारले बाध्य भएर एसपिपी अघि नबढाउने कुरा सुन्यौं । अहिलेसम्म सरकारको तर्फबाट  अमेरिकालाई पत्र पठाईएको छैन् । अन्तर्राष्ट्रिय समिति र राज्यको निर्देशक सिद्धान्त समितिले दस्तावेज माग गरेको छ । ती समितिलाई अहिलेसम्म दस्तावेज उपलब्ध गराईएको छैन् । यसबाट के देखिन्छ भने–नेपालको कुटनीतिलाई कसरी यो नेपालको संविधानको प्रावधानविपरित खतरानाक दिशातर्फ घचेटिँदैछ भन्ने देखिन्छ । यस प्रसँगमा नेपालको संविधानको धारा ५१ को ‘ड’ लाई कसरी उल्लंघन गरिँदैछ भन्ने देखाउँछु ।’
संविधानको धारा ५१ को ‘ड’ मा अन्तर्राष्ट्रिय सम्बन्ध सम्बन्धी नीतिबारे व्यवस्था गरिएको छ । जहाँ भनिएको छ–

(१) नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय हितको रक्षा गर्न क्रियाशील रहँदै संयुक्त राष्ट्रसंघको बडापत्र, असंलग्नता, पञ्चशीलको सिद्धान्त, अन्तर्राष्ट्रिय कानून र विश्वशान्तिको मान्यताका आधारमा राष्ट्रको सर्वोपरि हितलाई ध्यानमा राखी स्वतन्त्र परराष्ट्र नीति सञ्चालन गर्ने,
(२) विगतमा भएका सन्धिहरूको पुनरावलोकन गर्दै समानता र पारस्परिक हितको आधारमा सन्धि सम्झौताहरू गर्ने ।
यो नेपालको हितमा छ । 
कुटनीतिक रुपमा पत्राचार गर्न नपर्नेले पत्राचार गर्ने काम भयो । प्रमहरुमा चरित्र देखा परेको छ, आजको कुटनीतिमा विचलन भयो । नेपालको स्वाधिनताको लागि खतरानाक छ । 
सो क्रममा उनले नेपालको संविधानको धारा २७९ को पनि उल्लेख गरे । 
धारा २७९. सन्धि वा सम्झौताको अनुमोदन, सम्मिलन, स्वीकृति वा समर्थन ः  (१) नेपाल राज्य वा नेपाल सरकार पक्ष हुने सन्धि वा सम्झौताको अनुमोदन, सम्मिलन, स्वीकृति वा समर्थन संघीय कानून बमोजिम हुनेछ ।
(२) उपधारा (१) बमोजिम कानून बनाउँदा देहायका विषयका सन्धि वा सम्झौताको अनुमोदन, सम्मिलन, स्वीकृति वा समर्थन संघीय संसदका दुवै सदनमा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको दुई तिहाइ बहुमतले गर्नुपर्ने शर्त राखिनेछ ः–
(क) शान्ति र मैत्री,
(ख) सुरक्षा एवं सामरिक सम्बन्ध,
(ग) नेपाल राज्यको सीमाना, र
(घ) प्राकृतिक स्रोत तथा त्यसको उपयोगको बाँडफाँड ।

अहिले सरकारबाट संविधानका उक्त प्रावधान छल्ने काम भएको नेता रावलको टिप्पणी छ । उनले अहिले धमाधम नेपाली नदी र नाला विदेशीलाई जिम्मा लगाईएको पनि आरोप लगाए । रावलले भने, ‘संघीय कानून ल्याईएको छैन् । पश्चिम सेती र सेती ६, केही समय अघि प्रधानमन्त्री शेरबहादुर देउवाले भारतको सरकारी कम्पनीलाई दिएको घोषणा गर्नुभएको छ । अन्तर्राष्ट्रिय बोलपत्र पनि गर्नुभएको छैन् । अहिले नेपालको परराष्ट्र नीतिमा विचलन देखापरेको छ ।’

रावलले बारम्बार नेपाल सरकारले एसपीपीमा सहभागी नहुने भनेर खारेज गरेकोबारे पत्र किन सार्वजनिक नगरेको भनेर प्रश्न उठाए । उनले भने, ‘अहिलेसम्म नेपालबाट पत्र किन नगएको ? म गठबन्धनका नेताहरुलाई यो कुरा सोध्न चाहन्छु । किन पत्र पठाउन ढिलाई भयो ?’

उनले नेपाललाई सैनिक अड्डामा परिणत गर्ने काम कसैबाट पनि हुन नहुने बताए । रावलले भने, ‘आज रसिया र युक्रेनबीच युद्ध भइरहेको छ । यस्तो संवेदनशील स्थितिमा नेपालको संविधानले उल्लेख गरेको प्रावधानविपरित अमेरिकाको राज्य साझेदारी कार्यक्रम अघि बढाउन खोजेको हो भने, यो देशको लागि गम्भीर आपत्तिको विषय हो ।’ 

उनले संसद र संसदीय समितिमा प्रधानमन्त्री देउवा अनुपस्थित् भएको विषयमा पनि आलोचना गरे । रावलले भने, ‘कतै भित्रभित्रै यो सरकारले देशलाई सैनिक गठबन्धनमा धकेल्ने षड्यन्त्र त गरेको छैन् ? सम्पूर्ण कागजपत्र नेपाली जनतालाई जानकारी दिनुपर्छ । प्रधानमन्त्री देउवाको अमेरिकाको भ्रमण तुरुन्तै स्थगित् गर्नुपर्छ । देशमा अब आम निर्वाचन हुँदैछ । यस्तो बेलामा उहाँको अमेरिका भ्रमणको उद्देश्य के हो ? जवाफ माग्दा किन आउनुभएन । यो देशभक्त नेपालीहरुको लागि चिन्ताको विषय हो ।’

उनले संसद्मा बोल्दै सरकारको तर्फबाट अर्थमन्त्री जनार्दन शर्माले नेपाललाई शान्ति क्षेत्र बनाउने भनेर गरेको घोषणालाई कार्यान्वयनमा लैजान आग्रह गरे । रावलले भने, ‘स्वतन्त्र परराष्ट्र नीति अंगिकार गरेर शान्ति चाहनुहुन्छ कि हुन्नँ ?  नेपाललाई अविलम्ब शान्ति क्षेत्र बनाउनुपर्छ । अर्थमन्त्रीले संसद्मा बोलेको कुरा लागु गर्नुहोस । अमेरिकालाई लेखेको पत्र सार्वजनिक गर्नुहोस ।’

यसअघि पनि सरकारले जबरजस्ती संसद्बाट एमसीसी पारित गरेकोमा उनको विरोध थियो । रावलले भने, ‘एमसीसी जबरजस्ती पारित गरियो । १२ बुँदे व्याख्यात्मक घोषणा गरिएको भनियो । केही दिनअघि अमेरिकी सहायक विदेशमन्त्रीले यो विषयमा बोल्दै केही फेरबदल नहुने भनेको सुनिएको छ ।’

उनले सबै असमान सन्धि र सम्झौताबाट देशलाई मुक्त गर्नुपर्ने बताए । रावलले भने, ‘परराष्ट्र नीतिको सम्बन्धमा, कुटनीतिको सम्बन्धमा विश्वका कुनै पनि शक्ति राष्ट्रसँग कुनै पनि राजनीतिक र सामरिक गठबन्धन नगरी नेपालको संविधानको धारा ५१ को ड, र धारा २७९ लाई आत्मसात गरेर अघि जानु सरकार र पार्टीको कर्तव्य हो । दलहरु निर्वाचनमा जाँदा नेपालको संविधानको धारा २६९ बमोजिम नै जानुपर्छ । बरु, भोलि सरकार चलाउँदा संयुक्त रुपमा चलाउन सक्छन् । दलले आ–आफ्नो घोषणापत्र अनुसार मत माग्नुपर्छ । विकृत राजनीतिबाट देशलाई मुक्त गर्नुपर्छ । 

यस्तै, रावलले आगामी आम निर्वाचनमा आफ्नो दल (नेकपा एमाले) एक्लै निर्वाचनमा जाने स्पष्ट पारे । उनले गठबन्धनका दलहरुले आगामी निर्वाचनमा पनि चुनावी तालमेल गर्ने भनेकोमा आपत्ति जनाए । 

रावलले भने, ‘गठबन्धनबीच तालमेल गर्ने अरे, यो नेपालको संविधानको धारा २६९ को विरोधमा छ । तालमेल गर्ने हो भने नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र जनमोर्चाले भोलि उहाँहरुले के नारा लिएर मत माग्नुहुन्छ । संविधान मिच्ने काम नगरौं ।’

उनले आम निर्वाचनमा आफ्नो पार्टी एमालेले विपरित सिद्धान्त बोकेकाहरुसँग सहकार्य नगर्ने स्पष्ट पारे । रावलले भने,  ‘हामीले त सिद्धान्त र आदर्शको लागि जेलनेल भोगेका हौं ।’
 

Advertisement

Advertisement