गठबन्धनको सरकार बन्दा कुर्सीको समस्या हुनु स्वाभाविक हो, सामान्यरुपमा लिनुपर्छः देउवा

Advertisement

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनको सरकार बनेपछि कुर्सीको समस्यालाई सामान्यरुपमा लिनुपर्ने तर्क गरेका छन् । मंगलवार राजधानीमा नेपाल ट्रेड युनियन काँग्रेसले आयोजना गरेको कार्यक्रममा उनले गठबन्धनमा भएका राजनीतिक समस्यालाई सामान्यरुपमा लिनुपर्ने बताएका हुन् । 

देउवाले एउटै पार्टीमा पनि समस्या हुने गरेको भन्दै गठबन्धनमा आएका कुर्सीका समस्याहरुलाई सामान्य रुपमा लिन आवश्यक रहेको बताए । उनले मोरङको विराटनगरमा रहेको भवनलाई  नेता गिरिजाप्रसाद कोईरालाको नाममा संग्रहालय बनाउने कुरा स्वागतयोग्य रहेको बताए । 

Advertisement

देउवाले संग्रहालय बनाउने कुरामा सरकारले सहयोग गर्ने पनि बताए । उनले भने, ‘मोरङ, विराटनगरमा एउटा उहाँको भवन छ । त्यसलाई उहाँकै नाममा बनाउने कुरा छ । यो राम्रो हो, खुशीको कुरा हो । नेपालमा उहाँले आन्दोलन गरेको ठाउँमा भवन छ भने बनाउनु के आपत्तिको कुरा भयो र ? हामी यसमा सहयोग र पहल गर्ने नै छौँ । धनराजजीहरुले पनि भन्नुभयो, गठबन्धनमा समस्या आयो । एउटै पार्टीमा त समस्या हुन्छ भने कुर्सीमा त समस्या हुन्छ नै यसलाई समान्य रुपमा लिनुपर्छ । तपाईंहरु प्रधानमन्त्री भएपछि थाहा पाउनुहुन्छ ।’ 

देउवाले गिरिजाप्रसादलाई सधैँ जनताको लागि लडिरहने नेताको रुपमा चित्रण गरे । तर कांग्रेसकै धेरै नेता कार्यकर्ता भने गिरिजाप्रसाद पार्टीलाई मात्रै नभएर देशलाई संकटमा धकेल्ने स्वार्थी, घमण्डी नेताको रुपमा घृणा गर्ने गरेको देखिन्छ । देउवाले कोइरालाको सालिक अनावरण गर्न पाउँदा खुशी लागेको बताए । 

उनले गिरिजाप्रसादले दलहरुबीच सहकार्य र सहमति गरेर अघि बढ्नुपर्ने कुरा बारम्बार भनिरहने उल्लेख गर्दै आज पनि सहमति र सहकार्यको कुरा सान्दर्भिक रहेको बताए । देउवाले नेपाल ट्रेड युनियन काँग्रेसको कार्यालयमा उक्त संगठनका संस्थापक गिरिजाप्रसाद कोइरालाको अर्धकदको शालिक अनावरण गरे । 

Advertisement

Advertisement