पशुपतिनाथ क्षेत्र अतिक्रमण गरी निर्माण गरिएका संरचनाहरु भत्काउने संस्कृति मन्त्रीको प्रतिवद्धता

Advertisement

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पशुपति क्षेत्रको पूर्वाधार विकास तथा भौतिक संरचना निर्माणको लागि बनाइने गुरुयोजनामा सरोकारवाला सबैको अपनत्व हुनुपर्ने बताएका छन् । 

पशुपति क्षेत्रको निरीक्षण तथा अनुगमनका साथै पशुपति क्षेत्र विकास कोषको ब्रिफिङ लिन बिहीबार पशुपति क्षेत्र पुगेका उनले पशुपति क्षेत्र विकास कोषको गुरुयोजना निर्माण अन्तिम चरणमा रहेकोले सम्वद्ध सरोकारवालाको भावना समेटिने बताए । 

Advertisement

श्रेष्ठले नेपालको सभ्यता र पहिचान बोकेको संस्कृति तथा मूर्त अमूर्त सम्पदा संरक्षणका लागि गुरुयोजना आवश्यक रहेको भन्दै धार्मिक र आध्यात्मिक तीर्थस्थलको रुपमा रहेको पशुपति क्षेत्र विकास कोषमा अनियमितताको सन्देश जानु दुःखद रहेको बताए । 

कोषका कर्मचारीहरुलाई सेवा भावले काम गर्न र मन्दिर क्षेत्रको फोहोर व्यवस्थापनमा पनि ध्यान दिन कोषका पदाधिकारीहरुलाई उनले निर्देशन दिए । कोषको सञ्चालक परिषद्का अध्यक्ष समेत रहेका मन्त्री श्रेष्ठले पशुपतिनाथ मन्दिर क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका संरचनाहरु हटाउनुपर्ने बताए । 

कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले पशुपतिनाथ मन्दिर क्षेत्रमा पुनर्निर्माणको अवस्था तथा राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत संचालित कार्यक्रमबारे जानकारी दिए । 

Advertisement

Advertisement