स्वतन्त्र मेयर बालेन शाह ठूला दल र नेताहरुको घेराबन्दीमा, असफल बनाउने प्रयास सुरु

Advertisement

काठमाडौं । मुलुकको राजधानीमा रहेको काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्ररुपमा विजयी भएका लोकप्रिय बालेन्द्र शाह (बालेन)लाई असफल बनाउने  प्रयासको थालनी भएको छ । 

उनीमाथि पछिल्लो दिनमा एकपछि अर्को प्रहार सुरु भएको छ । विशेषगरी ठूला दलहरुको सिण्डिकेट तोड्दै भारी मतान्तरसहित ती दलका उम्मेदवारहरुलाई हराउन सफल भएका बालेन शाहविरुद्ध संसदको सबैभन्दा ठूलो दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले गएको मंगलबार गरेको टिप्पणी, नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री पत्नी आरजु राणासहित ठूला दलनिकट बफादार कार्यकर्ताहरुले गर्ने गरेको टिप्पणीबाट बालेन चौतर्फी घेराबन्दीमा रहेको पष्ट देखिन्छ । 

Advertisement

ओलीले एक सार्वजनिक कार्यक्रममा स्वतन्त्र उम्मेदवारहरुले आफू ठूलो बन्न र फुर्ती देखाउन खोजेको भन्दै दलहरुको विकल्प नरहेको बताएका थिए । त्यस्तै, आरजु राणाले केही स्वतन्त्र उम्मेदवारले जिते पनि देश चलाउन ठूला दलका नेताहरुले नै भएको भन्दै सामाजिक सञ्जाल प्रयोग गरेर बालेनले चुनाव जितेको दावी गरेकी थिइन् । 

केही मिडियाहरुले लामो समयदेखि बालेनविरुद्ध चलाएको अभियान, दलहरुमा स्वतन्त्र उम्मेदवारहरुप्रति जनताको बढ्दो आकर्षणका कारण ठूला दलका नेता र कार्यकर्ताहरुमा देखिएको छटपटी, प्रायोजित ढंगले बालेनविरुद्ध भइरहेका टिकाटिप्पणीले गर्दा उनका लागि आगामी दिन कठिन हुने देखिएको छ । 

काठमाडौंको विकास र कला संस्कृतिको संरक्षणमा नविन सोच प्रस्तुत गर्दै चुनाव जितेका सिभिल इन्जिनियर बालेनले मेयर भएर आउनासाथै सार्वजनिक शौचालय प्रयोगदेखि फोहोर व्यवस्थापन, सडक सरसफाई र मर्मत, गुनासो सुनुवाईमा फरक ढंगले काम गर्दै आएका छन् । 
    
स्वर्गीय र्यापर यम बुद्धको शालिक बनाउन बजेट छुट्टाएको विषयमा आलोचना भएपछि तत्कालै बालेनले सो कुराको सुनुवाई गर्दै महानगरको बजेटले शालिक नबनाउने, आफ्नै खर्चमा शालिक बनाउने निर्णय गरेका थिए । आफै पनि एक र्यापर रहेका उनलाई र्याप गीत मन पराउने नयाँ पुस्ताको ठूलो समर्थनका कारण मेयरमा सहजरुपमा चुनाव जित्न सफल भएका हुन् । 

बालेनले ई–स्पोर्टसका लागि छुट्याइएको बजेट कुनै अमुक संस्था वा खेलका लागि नभएको भन्दै यो  पैसा पारदर्शी किसिमले खर्च गर्ने बताएका छन् । उक्त पैसा कुनै अमूक संस्थालाइ दिन छुट्टाइएको भन्दै प्रचार गरिएकोमा बालेनले  त्यसको बिहीबार खण्डन गरेका छन् । 

उनले भनेका छन्, ‘आधुनिक विश्वमा ई–स्पोर्टस खर्बौंको आर्थिक योगदान गर्ने बिधा हो । नेपालमा पनि यसको व्यावसायिक पाटो बढ्दैछ भने यही बर्ष हुने एसियाली खेलमा ईस्पोर्टस पनि समावेश हुनेछ र योग्य रहेमा नेपाली ईस्पोर्टसका खेलाडीहरुले पनि सहभागी भएर राष्ट्रको गरिमा बढाउन सक्नेछन् । यसलाई व्यवस्थित र सिर्जनशील बनाउनका लागि महानगरले बजेट छुट्याएको हो । फलानो संस्था वा फलानो खेलका लागि सुनिश्चित गर्ने जस्ता गैरकानुनी र अनैतिक कार्यमा महानगर सामेल हुँदैन् ।’ 

स्वतन्त्र उम्मेदवारले राम्रो काम गर्दा देशभर त्यसको प्रभाव पर्ने र आसन्न चुनावमा दलका उम्मेदवारहरु कोही पनि नजित्ने स्थिति देखिए पनि ठूला दलका नेता कार्यकर्तामा विचलन देखिएको हो । मुलुकलाई आर्थिक विकास र संवृद्धितर्फ लैजान असफल भएका ठूला दल र नेताहरुप्रति शहरी शिक्षित जनतामा बढ्दै गएको आक्रोस ग्रामीण क्षेत्रमा पनि  विस्तार हुन थालेको छ । यसले मुलुकमा ठूलो राजनीति चेतना र राजनीतिक परिवर्तनको संकेत पनि गरेको छ । 

Advertisement

Advertisement