देउता फकाउने तरिकाः बर्खामा पानी नपरेपछि विपरित लिङ्गीको पोषाक लगाउने चलन

Advertisement

काठमाडौं । पश्चिम तराईका थारु समुदायले देवतालाई मनाउन पुरानै संस्कार अपनाउँदै आएका छन् । बर्खामा पानी नपरेपछि थारु समुदायका मानिसहरुले पुरुषहरुले महिलाको पोषाक लगाउने र महिलाहरुले पुरुषको पोषाक लगाएर गाईया बेहेर्न अर्थात गाई छेक्ने चलन छ । 

देवताहरुलाई मनाउन आफ्नो परम्परा अनुसार हरेक जातिहरुको संस्कार र पूजा गर्ने शैली फरक–फरक छन् । त्यस्तै पश्चिम तराईका थारु समुदायका मानिसहरुले पनि बर्खा लगाउनका लागि पानी नपरेपछि अनेक खालका पूजा गर्ने गरेका छन् । यो वर्ष असार महिनाभर पानी नपरेपछि थारु समुदायका मानिसहरुले पुर्खौंबाट चल्दै आएको गाईया बेहेर्ने अर्थात गाई छेक्ने चलन अपनाएका हुन् । 

Advertisement

महिलाहरुले पुरुषहरुको पोषाक लगाउने र पुरुषहरुले महिलाको पोषाक लगाएर आफ्नो छिमेकी गाँउमा गइ गोरु, भैँसी बन्दक बनाएर ल्याउने र त्यस गाँउका मानिसहरुले आफ्नो बन्दक बनेका गोरु,भैँसी छुटाउन आएपछि आफ्नो मौलिक भाषामा गीत गाएर छुटाउने परम्परा रहेको बैजनाथ गाँउपालिका ६ पेडारीका सुनिता थारुले बताइन् । 

उनले पानी नपरेका कारण यस्तो पूरानो संस्कृति र प्रचलन अपनाइएको बताइन् । पहिलाको समयमा धानको बीउ छर्ने बित्तिकै गाईया बेहेर्ने अर्थात गाई छेक्ने परम्परा शुरु हुन्थ्यो । तर अहिलेको समयमा अन्तिम विकल्प नभएपछि यो परम्परागत प्रचलनमा इन्द्र देवतालाई पूजा गर्ने गरेको राप्ती सोनारी गाँउपालिका ४ फत्तेुिरका फट्टु थारुले बताइन् । 

उनले आफ्नो थारु संस्कृति अनुसार गीति गाएर पूजा गर्ने प्रचलनका बारेमा गीतमा नै जानकारी दिइन् । महिलाले पुरुको पोषाक र पुरुषले महिलाको पोषाक लगाउँदा इन्द्रदेव प्रशन्न भएको बैजनाथ गाँउपालिका ६ पेडारीका मइती थारुले पनि आफ्ना गीतमा नै समेटिन् ।

यो परम्परा थारु समुदायमा पुस्तौंदेखि चल्दै आएको छ । यसलाई अहिले अन्धविश्वास भन्ने गरिएपनि थारु समुदाय भने पूजा गरेपछि मात्र पानी पर्ने गरेको र उत्पादन पनि राम्रो हुने गरेको विश्वास राख्छन् । 
 

Advertisement

Advertisement