जनार्दन शर्मा प्रकरण चर्किएको बेला नाटकीय ढंगले विप्लवविरुद्ध पक्राउ पुर्जी

Advertisement

काठमाडौं । ललितपुर जिल्ला अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द विप्लवविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । विवादमा परेको जनार्दन शर्मालाई पुनः अर्थमन्त्री बनाउने सत्ता गठवन्धनको निर्णयको चर्को आलोचना भइरहेको बेला सोमबार विप्लवविरुद्ध पक्राउ पुर्जी जारी गरिएको हो । 

अदालतले साउन ६ गतेको आदेशअनुसार मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ५८ (१३) बमोजिम भन्दै विप्लवसहितका नेताहरुलाई ३५ दिने पक्राउ पुर्जी जारी गरेको हो । 

Advertisement

उनीहरुले हातहतियार तथा खरखजाना‚ विस्फोटक पदार्थ विस्फोटन गराई कर्तव्य ज्यान र राज्यविरुद्धको अपराध‚ आपराधिक लाभ र संगठित अपराधको कसुर गरेको आज प्रकाशित सुचनामा उल्लेख छ । तोकिएको मितिभित्र अदालतमा उपस्थित नभए मुलुकी फौजदारी कार्यविधि संहिता‚ २०७४ को दफा ३५ बमोजिम कारबाही हुने उक्त पुर्जीमा बताइएको छ ।

पक्राउ पुर्जी जारी भएकाहरूमा महासचिव विप्लव‚ खड्कबहादुर विश्वकर्मा, उनकी श्रीमती नन्दा विश्वकर्मा, उदयबहादुर चलाउने, धर्मेन्द्र बास्तोला, पदमबहादुर राई, सन्तोष बुढामगर, मोहनबहादुर कार्की, टेकबहादुर केसी, भरतबहादुर बम, नवीन विश्वकर्मा, उमा भुजेल, शंखर दमाई, दमयन्तीकुमारी श्रेष्ठ चिमोरिया, बाबुलाल पुनमगर, सुदीप कुँवरलगायत छन् ।

बजेट निर्माणको अघिल्लो दिन राति अनधिकृत मानिसलाई अर्थ मन्त्रालय छिराई करका दरहरु हेरफेर गरेको र उक्त दिनको सीसीटीभी फुटेज मेटाएको आरोप लागेपछि संसदले उक्त घटनाको छानविन गर्न संसदीय विशेष समिति बनाएको थियो । तर विशेष समितिका सत्ता गठवन्धन पक्षधर सदस्यले बहुमतका आधारमा क्लिन चिट दिएसँगै आइतबार उनलाई अर्थमन्त्री बनाइएको थियो । उक्त प्रकरणलाई ओझेलमा पार्न अदालतमार्फत विप्लवविरुद्ध पक्राउ पुर्जी जारी गरिएको संकेत देखिन्छ ।  

Advertisement

Advertisement