मेरो चुनावी प्रतिस्पर्धा बादलसँग हुने हो ? भनेर तुलना नहुने प्रश्न नगर्नुस्ः प्रचण्ड

Advertisement

काठमाडौं । नेकपा माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिट बाँडफाँटको विषयलाई लिएर पाँच दलीय गठबन्धनभित्र कुनै असहमति नरहेको दाबी गरेका छन् ।  

शुक्रवार आफ्नो पार्टीको कार्यक्रमका लागि सुर्खेत पुगेका उनले गठबन्धनमा सिट संख्याको बारेमा लगभग टुंगिसकेको र एकै पटक प्रदेश र क्षेत्र पनि टुंग्याउने गरी काम शुरु भएकोले समय लागेको जिकिर गरे । 

Advertisement

प्रचण्डले शनिवार बस्ने गबन्धनको बैठकबाट प्रदेश र संघको निर्वाचनमा क्षेत्र पनि तोक्ने बताए । उनले गठबन्धनलाई अझ प्रभावकारी कसरी बनाउने ? भन्नेतिर छलफल केन्द्रित रहेको बताए । 

प्रचण्डले भने, ‘गठबन्धनमा हामी सिट संख्या करिव सहमतिको नजिक पु¥याएर एकै पटक प्रदेश र क्षेत्र पनि टुंग्याउने गरी काम गरिँदैछ । आज दिनभरको काम सकिएपछि भोलि बैठक बसेर हामीले क्षेत्र, प्रदेशसमेत सबै कुरालाई समग्रमा टुंग्याउने भनेर हामी हिजो उठेका छौँ । चुनावका लागि हामी भेला, सामान्य बैठक गरेर अघि बढेका छौँ । हिजो हामी सहमतिको निकट पुगेका छौँ । गठबन्धन भित्र असहमतिको कुनै स्थिति छैन । त्यसलाई अझ प्रभावकारी कसरी बनाउने भन्नेतिर मात्रै छलफल केन्द्रित छ ।’ 

उनले थपे, ‘हामीले अहिले एउटा के मान्यता बनाउन प्रयास गरिरहेका छौँ भने संघको एउटाले लियो भने अर्कोलाई प्रदेशको गरेर भोट ट्रान्सफर हुने वातावरण बनाउने भन्ने छ । त्यसो गर्दा १६५ वटा नै निर्वाचन क्षेत्र अन्तर्गतका प्रदेश जुन छन्, तिनको मिलाउँदा सन्तुलन मिलाएर जाने भन्ने हो । हामीले उस्तै परे हाम्रो प्रभाव भएका सबै हामीले एक्लै जित्ने ठाउँमा पनि अन्य पार्टीलाई प्रदेशमा समायोजन गरेर लैजाने तिर नै हाम्रो जोड छ ।’

प्रचण्डले चितवन क्षेत्र नम्बर ३ बाट आफ्नो उम्मेदवारी रहने स्पष्ट पारे । नेकपा एमालको उपाध्यक्ष रामबहादुर थापा बादलसँग प्रतिस्पर्धा हुने हो भन्ने पत्रकारको प्रश्नमा उनले तुलना नहुने कुरा नसोध्न आग्रह गरे । 

प्रचण्डले भने, ‘चुनाव म चितवनको क्षेत्र नम्बर ३ बाट लड्दैछु । तुलना नहुने कुरा पत्रकार साथीहरुले नसोध्दा राम्रो ।’ उनले कर्णाली प्रदेशमा नेकपा (माओवादी केन्द्र) को राम्रो प्रभाव रहेको भन्दै सन्तुलित ढंगको तालमेल गर्ने बताए । प्रचण्डले माओवादीले आगामी दिनमा कर्णालीमा सरकार बनाउने स्थिति र गठबन्धनलाई जारी राख्ने स्थिति कायम गर्ने बताए । 

प्रचण्डले विगतमा गरेका कामको आत्मसमीक्षा नगरेसम्म नेकपा एमालेसँग सहकार्य नहुने बताए । 

Advertisement

Advertisement