साँसदको चुनाव जित्न हरिबंश आचार्यले घिसिङलाई दिए शुभकामना

Advertisement

काठमाडौं । वरिष्ठ कलाकार हरिबंश आचार्यले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई साँसदको चुनावमा जित्न शुभकामना दिएका छन् । 

प्राधिकरणले शुक्रबार बेलुकी आयोजना गरेको कार्यक्रममा आचार्यले नेकपा (माओवादी केन्द्र)ले काठमाडौंबाट आगामी मंसिर ४ गते हुने निर्वाचनमा उम्मेदवार बनाउन लागेको चर्चा कोट्याउँदै ‘राम्रो मान्छेलाई लैजाने भन्ने हल्ला सुनेको छु, उहाँलाई शुभकामना’ भने । 

Advertisement

उनले भने, ‘कुलमान सरलाई विद्युत प्राधिकरणमा पुनः नियुक्ति गर्नुपर्छ भनेर फेसबुकमा नै स्टाटस लेखेर राखेका थियौँ । त्यसमा यति धेरै फिडब्याक आयो, उहाँ जस्तो मानिस चाहिन्छ भनेर । राम्रो मान्छेलाई जसले पनि लैजान्छन् । लैजाने रे भन्ने हल्ला पनि सुनेका छौँ हामीले । उहाँलाई शुभकामना ।’

वरिष्ठ कलाकार आचार्यले दशौं लाख युवाहरुलाई हामीले विदेशमा निर्यात गरेर आएको रेमिटेन्सबाट देशको अर्थतन्त्र अघि बढाउने परिपाटीको अन्त्य हुन आवश्यक रहेको बताए । 

उनले सरकारले अब विद्युतीय सवारीसाधन बाहेकका सवारीसाधन आयात नै गर्न नपाउने नियम अवलम्वन गर्नुपर्ने बताए । आचार्यले विद्युतीय सवारीको भन्सार घट्यो भने कर्मचारीहरुलाई तलव दिने पैसा हुँदैन भन्ने सोचेर सरकारले विद्यतीय सवारीको कर बढाइरहेको बताए । 

आचार्यले विद्युतीय सवारीसाधनको कर बढाउँदा आफूले विद्युतीय सवारी चढ्न नपाएको गुनासो गरे । उनले सरकारले विद्युतीय सवारीको कर बढाएकै कारण आफ्नो विद्युतीय सवारी किनेर चढ्ने सपना पूरा हुन नसकेको र घरमा पनि श्रीमतीले हरेक दिन सरकारले भन्सार घटाएन भन्ने प्रश्न गरिरहेको भन्दै व्यंग्य गरे । 

आचार्यले सरकारले विद्युतीय गाडीको भन्सार घटाइ डिजेल र पेट्रोलको खपतलाई कम गर्न आवश्यक रहेको बताए । उनले देश विकासका लागि सरकारले दीर्घकालीन योजना बनाउन आवश्यक रहेको पनि बताए । आचार्यले सार्वजनिक यातायात पूर्णतया विद्युतीयकरण हुनसके मात्रै खर्बौं रकम विदेश जानबाट रोकिने दाबी गरे ।

आचार्यले भने, ‘बिजुली गाडीको कुरा आयो, बिजुली गाडीको कुरा आउँदा मलाई पनि बिवाईडी गाडीले ब्राण्ड एम्बास्डर बनाएको छ । मैले एउटा बिजुली गाडी चढ्ने सपना बनाएको थिएँ । त्यो सपनाको लागि केही रकम मैले बुझाइ पनि सकेको छु र केही रकम सहुलियत पनि दिने वाचा गर्नुभएको छ । तर बजेट भाषणले गर्दा मैले जुन चढ्न पाउने सपना थियो बिजुलीको गाडी त्यो गाडी अहिले आइरहेको छैन । श्रीमतीले मलाई जहिले पनि प्रश्न गर्दछिन् । हजुहरुको गाडी के भयो नआउने भयो ? भन्छिन् । अर्थ मन्त्रालयले त्यसलाई संशोधन गर्छ रे । त्यसपछि आउँछ होला भनेको । घरमा गइसकेपछि श्रीमतीले त्यो अर्थमन्त्रीले आज पनि केही कुरा गरेन गाडीको विषयमा ? भनेर सधैँ जसो त्यस्तो प्रश्न गर्दैछिन् ।’ 

उनले थपे, ‘अब हाम्रो देशको आर्थिक अवस्थाले गर्दा गाडीमा यति धेरै ट्याक्स छ । अरु केही बेच्नसक्ने होइन, ट्याक्सबाट मात्रै देश चलेको हुन्छ । बिजुलीको गाडीको ट्याक्स घट्यो भने सायद कर्मचारीलाई तलव दिने पैसा हुँदैन भनेर अर्थमन्त्रीज्यू उहाँको व्यक्ति होइन सरकारले सोचेको होला । त्यसमा ट्याक्स आयो भनेपनि कमसेकम पेट्रोल, डिजेलमा बगेको पैसाको खोलो कम हुन्थ्यो । हामी क्षणिक रुपमा नसोचौँ, दीर्घकालीन रुपमा सोच्ने हो भने अब बिजुलीका गाडी बाहेक अरु गाडी आयात नै गर्न नपाउने नियम अवलम्वन गर्नुपर्दछ । पब्लिक ट्रान्सपोटेशनहरु पूर्ण विद्युतीयकरण हुनुपर्दछ ।’

कलाकार आचार्यले नेपालले युवाको उर्जा बेचेर नभइ विद्युतीय उर्जा व्यापार गरेर देशलाई समृद्धिको दिशामा अघि बढाउने कुरामा जोड दिनुपर्ने बताए । उनले नेपालको निर्यात र आयातको स्थिति राजमार्ग हेरेर थाहा हुने व्यंग्य गर्दै देब्रे तिरको बाटोभन्दा दायाँ तिरको बाटोमा खाल्डो पर्ने गरेर निर्यात गर्न जरुरी रहेको बताए । 

उनले पछिल्लो समय विद्युतको माध्यमबाट नेपालमा शुभ संकेत देखिन थालेको भन्दै बिजुलीको विकाससँगै नेपालको औद्योगिक विकास पनि शुरु हुने विश्वास पलाएको बताए । आचार्यले देशको विकासका लागि विद्युतको व्यपार बाहेकको विकल्प नरहेको भन्दै ठूला जलविद्युत बनाउनु हुँदैन भन्ने कुराको भ्रममा नपर्न आग्रह गरे । उनले आफ्नै देशमा भएको विद्युत खपत बढाएर देशलाई संसारको सबैभन्दा विकसित देशको दाँजोमा उभ्याउन सक्नुपर्ने बताए । 

Advertisement

Advertisement